arrow

उपराष्ट्रपति पदका लागि काँग्रेस र स्वतन्त्रबाट उम्मेद्वारी दर्ता

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1103337614.jpeg
काठमाडौँ । उपराष्ट्रपति पदका लागि काँग्रेसका तर्फबाट अमियकुमार यादव र स्वतन्त्र सभासद अतहर कमाल मुसलमानले उम्मेद्वारी दिएका छन् । व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वर पुगेर उनले शुक्रबार विहान ११ः१५ मा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका हुन् । कपिलवस्तु जिल्लाको क्षेत्र नं २ बाट स्वतन्त्र रुपमा सांसद निर्वाचित भएका मुसलमान विगतमा नेपाली काँग्रेसको राजनीतिमा क्रियाशील थिए । मुसलमानको प्रस्तावकमा अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का र समर्थकमा जनजागरण पार्टी नेपालका सांसद लोकमणि ढकाल रहेका छन् ।

उम्मेदवारी दर्ता गराएपछि उम्मेदवार मुसलमानले आफू विजयी भए राष्ट्रिय स्वाभिमानलाई सगरमाथा जस्तै अटल तुल्याउने प्रतिवद्धता व्यक्त गरे । राष्ट्र र राष्ट्रियता खतरामा परेको समयमा तराई—मधेसको एउटा प्रदेशमा पछाडि परेको जाती तथा समुदायबाट राज्यको महत्वपूर्ण निकायमा प्रतिनिधित्व हुने र तराईमा जारी आन्दोलनको पनि समाधान खोज्न सकिने विश्वास व्यक्त गरे । 

प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले राष्ट्रपति र प्रधानमन्त्री पाएको, एकीकृत नेकपा (माओवादी) ले सभामुख समेत पाएको अवस्थामा आफू उपराष्ट्रपति पदमा विजयी भए संविधान कार्यान्वयन गर्न सहज हुने धारणा राखे । सङ्घीय गणतन्त्र नेपालको शिशु संविधानको सहज कार्यान्वयन गर्न तथा राष्ट्र र राष्ट्रियताको रक्षाका लागि समेत सबै वर्ग तथा समुदायलाई राज्यको मुलप्रवाहमा ल्याउनुपर्ने उम्मेदवार मुसलमानको कथन थियो । 

व्यवस्थापिका–संसद् सचिवालय निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले शुक्रबार बिहान १०ः२५ मा उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा सचेतक ईश्वरी न्यौपाने रहेका छन् । सचिवालयले शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउने निर्वाचन तालिका तोकिएको छ । सिराहा जिल्लावासी यादव काँग्रेसका पुराना नेता हुन् । 

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार यादवले हिमाल, पहाड तराईका जनताको बीचमा एकता र भातृत्वको भावनालाई आत्मसात् गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।  उनले मुलुकमा देखिएको विद्यमान समस्यालाई समाधान गर्न विशेष पहल गर्ने र सबैलाई मिलाएर लैजाने धारणा राखे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ