arrow

निर्मला हत्या प्रकरणको सुरुदेखि अनुसन्धान थालिने

कर्फ्यूले महेन्द्रनगर बजार क्षेत्र भने सुनसानै, भासी क्षेत्रमा प्रदर्शन जारी

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ भदौ ९ शनिबार
kanchanpur-meeting.jpg

कञ्चनपुर ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्त हत्याकाण्ड पछि उत्पन्न परिस्थिति साम्य पार्न लगाईएको कर्फ्यूले महेन्द्रनगर बजार सुनसान भएको छ ।

स्थानीय प्रशासनले परिस्थिति साम्य पार्नेका लागि शुक्रबार बेलुका ८ बजेदेखि  कर्फ्यू आदेश जारी गरेपछि महेन्द्रनगर सुनसान बनेको हो । बिहीबार र शुक्रबार घटेको घटनालाई लिएर स्थिति साम्य पार्नका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सुचना अनुसार पुर्व भीमदत्त नगरपालिका १८ भाँसी चोक हुँदै कारागार, मदन भण्डारी स्मृति प्राविको नहर पछाडी, पश्चिम भीमदत्त नगरपालिका ६ ऐठपुर त्रिपुरा युवा क्लब बनगाउँ कार्यालयदेखि भीनपा ४ निङ्गलाशैनी माविको पछाडीको नहरसम्म, उत्तर भीमदत्त नगरपालिका २ भाँसीदेखि उत्तर भीनपा ६ खैरेनी हुँदै त्रिपुरा क्बलसम्म र दक्षिण भीमदत्त नगरपालिका १८ मदन स्मृती प्राविको दक्षिण नहर हुँदै सिपविकास तालिम केन्द्र निङ्गलाशैनी माविको पछाडीको नहरसम्मको एसियामा कफ्यु जारी गरिएको छ ।

कर्फ्यूका कारण महेन्द्रनगरको जनजिवन समेत प्रभावित भएको छ । मानिस घरभित्रै बसेका छन् । बजार सुनसान छ । कर्फ्यू क्षेत्रमा सुरक्षाकर्मी मात्रै देखिएका छन् । सुरक्षाकर्मीले बजार बन्द गराउनेका साथै मानिस भेला भएका ठाँउमा निगरानी बढाएका छन् । यद्यपी भासी क्षेत्रमा सामान्य प्रदर्शन जारी रहेको वडा प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार प्रहरीले चलाएको गोली लागेर एक १४ बर्षिया बालक सनी खुनाको मृत्यु भएको थियो ।   खुनाको छाती, पेट, खुट्टामा गोली लागेको छ ।  महाकाली अञ्चल अस्पताल नपुर्‍याउँदै उनको मृत्यु भएपछि आक्रोसित भिडले स्टेचरमा शव राखेर प्रशासन तर्फ लगेका थिए । प्रहरीले प्रर्दशनकारीलाई भगाएर शव नियन्त्रमा लिएको थियो । सनी मजदुरी गर्दै आएका थिए ।

 ठेकेदारसँग पैसा माग्न गएका बेला आन्दोलनको चपेटामा परि छोराको मृत्यु भएपछि खुना परिवार शोकमा डुवेको छ । भीमदत्त नगरपालिकाले मृतक खुनाको परिवारलाई राहत स्वरुव ३ लाख र क्षतिपूर्तिका साथै शहिद घोषणाका लागि पहल गर्ने जनाएको छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले राहत स्वरुप नगरका तर्फबाट ३ लाख दिने घोषणा गरेका हुन् भने प्रदेश, संघीय सरकारसंग पनि थप राहत एव क्षतिपूर्तिका लागि पहल गर्ने बताए ।  

 निर्मला पन्तको हत्यापछि उत्पन्न परिस्थिति साम्य पार्नका लागि शनिबार बिहान उच्च स्तरिय छानबिन समिति र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्वदलिय सर्वपक्षिय बैठक बोलाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा घटना उत्पन्न परिस्थिति साम्य पार्न र घटनालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि छलफल भएको छ ।

शुक्रबारदेखि महेन्द्रनगरमा कर्फ्यू आदेश जारी भएपछि सर्वदलिय र सर्वपक्षिय चार बुँदे सहमती भएको छ । शुक्रबार प्रहरीको गोली लागेर मरेका भीमदत्त नगरपालिका–१८ सालघारीका १४ बर्षिय बालक सन्नी खुनालाई शहिद घोषणा गर्न कञ्चनपुरको सर्वदलिय सर्वपक्षले माग अघि सारेको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा भएको सर्वदलिय सर्वपक्षीय बैठकबाट खुनालाई शहिद घोषणा गर्न संघीय सरकारसंग माग गर्ने निर्णय गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले मृतक परिवारको राहत, क्षतिपूर्तिका लागि तीनै तहका सरकारसंग माग गर्ने निर्णय गरिएको बताए ।

आन्दोलनमा घाईते भएकाको निःशुल्क उपचार गर्ने, घाईते मध्ये अशक्तको जिवन निर्वाहका लागि यथोचित व्यवस्था गर्न सरकारसंग अनुरोध गर्ने निर्णय  गरिएको छ ।
 
आन्दोलनका क्रम्मा सरकारी निजी सम्पत्तीको तोडफोड आगजनी र भिड नियन्त्रणको सिलसिलामा भएको दमन गोली चलाएको विषयमा छानबिन र कार्बाहीका लागि गृह मन्त्रालयमा छानबिन समिति गठन गर्ने माग गर्ने र भविष्यमा कुनैपनि अप्रिय घटना दोहोरिन नदिन र सदभाव कायम गर्नका लागि राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी र व्यवसायी , दवाव समुह एकमत भएका छन् ।

निर्मला पन्तको विषयमा बिरोधका कार्यक्रम पनि आजका मितिदेखि बन्द गर्ने सहमती भएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले कर्फ्यू हटाउने नहटाउने विषयमा सुरक्षा निकायसंग छलफल र स्थिति हेरेर हटाउन सकिने बताए । उच्च स्तरिय समितिका संयोजक सह–सचिव हरि प्रशामद मैनाल नेतृत्वको छानबिन समितिले सरकारले दिएको कार्यादेश अनुसार घटनाको छानबिन शुरु गरिएको जनाएको छ  ।

 बैठकमा सहभागि कञ्चनपुरका राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी, दवाव समुह सबै सम्बद्ध सरोकारवाला निकायले घटना साम्य पार्नका लागि आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
 
खुनाका बाबु वीर बहादुर खुनाले शहिद घोषणा, क्षतिपूर्ति, दोषिलाई कार्बाही नगरुन्जेलसम्म शव नबुझ्ने बताए ।  ‘मजदुरी गरेको ज्याला माग्न गएका छोरालाई प्रहरीले मारिदियो, ‘उनले भने, ‘सरकारले छोरालाई शहिद घोषणा गर्नुपर्छ ।’ खुनाका छिमेकी संगिता दमाईले शान्तिपुर्ण आन्दोलनमा प्रहरीले ताकेरै गोली प्रहार गरेको बताए । खुनाको शव महाकाली अञ्चल अस्पतालमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धान ‘जिरो’ अर्थात शुरुदेखि गर्न लागेको छ । कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले निर्मला हत्याकाण्ड शुरुवातदेखि नै अनुसन्धान गर्ने बताए ।

 ‘बम दिदि बहिनी रोशनी बम र अनिता बमलाई आदालतबाट पक्राउ गर्ने अनुमति लिएर हिरासनमा लिएका छौँ, ‘कञ्चनपुर प्रहरी प्रमुख कडायतले भने, ‘अब घटनाको ‘रिभिजिट’ गछौँ ।’ घटना स्थल, बम परिवारबाट प्राविधिक ढङगबाट अनुसन्धान अघि बढाउँने उनले बताए ।

यस्तै गम्भिर घाईते भएका भीमदत्त नगरपालिका–१ भाँसीका १६ बर्षिय उमेर देउवाको शुक्रबार कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौँ  रेफर रिएको छ ।
 
 घाईते देउवाका काका बिरेन्द्र देउवाले उमेको खुट्टामा गोली लागेको बताए । दोहोरो झडपमा परी महाकाली अञ्चल अस्पताल स्रोतका अनुसार प्रहरी सहित ३५ भन्दा बढि प्रर्दशनकारी घाईते भएका थिए ।

 महेन्द्रनगरमा म १ प ४४६ नम्बरको एम्बुलेन्स तोडफोड गरिएको थियो । झलारीदेखि बिरामी बोकेर महेन्द्रनगर तर्फ आईरहेको सुनबरा कृषि सहकारी संस्थाको एम्बुलेन्स कसले तोडफोड गरेको भन्ने विषयमा अहिलेसम्म केही खुलेको छैन् । प्रहरीले प्रर्दशनकारी र प्रर्दशनकारीले प्रहरीलाई एम्बुलेन्स तोडफोड गरेको आरोप लगाईरहेका छन् ।

 महाकाली अञ्चल अस्पताल स्रोतका अनुसार,  सुरेन्द्र चटौत, चेतन भट्ट, उमेश देउवा, दामोदर खाती, कविन्द्र सिहको उप उपचारका लागि रेफर गरेको थियो । बाँकीको महाकाली अञ्चल अस्पतालमै उपचार भईरहेको छ ।  कञ्चनपुर प्रहरीका अनुसार प्रहरी र सशस्त्र प्रंहरी तर्फ पनि घाईते भएको जनाएको छ । तर घाईतेको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । शुक्रबार पनि प्रहरीले दर्जनौँ हवाई फायर र सयौँ आँश्रुग्यासँ प्रहार गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ