arrow

अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा निकालियो रणउजीश्वरी रथयात्रा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ भदौ १८ सोमबार
palpa-jatra.jpg

पाल्पा। युद्धमा विजय हासिल भएपछि त्यसैको सम्झना स्वरुप जिल्ला सदरमुकाम तानसेनमा सोमबार रणउजीश्वरी भगवती माईको रथयात्रा निकालि विजयोत्सव मनाईएको छ। नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट सिन्दुर जात्रा गरी विजयोत्सव मनाईदै आएको पाईन्छ।

 यो जात्रालाई काठमाडौँ पछिको दोस्रो ठूलो जात्राको रुपमा लिने गरिन्छ । गोरखदलले भगवतीको रथलाई दिउँसो एक बजे सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालीएको थियो । रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यलयले बली चढाएपछि तानसेनको परिक्रममा गराइएको थियो। रथलाई कुमाल समुदायका युवाहरुले काँधमा बोकी नगर परिक्रमा गराएका थिए। जात्राको अघिल्लो दिन अर्थात् कृष्णजन्माष्टमीका दिनदेखि नै एसियाको ठूलो ढोका मानिने मुल गेट खुला गरिएको थियो।

पञ्चेबाजा, लाखेनाच, भजनकिर्तन सहितको सांस्कृतिक झाँकीले  रथ यात्रालाई नगर परिक्रमा गराइएको थियो। जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पुर्‍याई बिसर्जन गरिएको थियो। रथलाई मध्यरातमा पञ्चवलीसहित सलामी अर्पण गरी विधिवत् रुपमा  पूजा आरधाना गरिएको थियो । रथ यात्रामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, निजामती कर्मचारी, विद्यार्थी  विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत सर्वसाधारणहरुको बाक्लो उपस्थित रहेको थियो।

जात्रा अवलोकनका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही लगायतका जिल्लाहरुबाट श्रद्धालु जिल्ला आएका थिए । रथयात्रा नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रदेश पाँचका उद्योग, पर्यटन,वन तथा वातवरण मन्त्री लीला गिरी,प्रदेश पाचँका सभामुख पूर्णबहादुर घर्ती  जिल्लाबाट निर्वाचित प्रदेश सांसद ,लगायतका विशिष्ट व्यक्तित्वहरुको समेत जात्रामा सहभागिता रहेको थियो ।

यस वर्ष दुई सयौं संस्करणको रुपमा भगवती जात्रा मनाईएको हो। जात्रामा करिब ५ हजार भक्तजनहरुले प्रत्यक्ष अवलोकन गरेका छन्।  ऐतिहासिक महत्व बोकेको जात्रालाई राष्ट्रिय पर्वको रुपमा लिनु पर्ने भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ। सरकारले सहयोग गरे धार्मिक,पर्यटन प्रर्वद्धन गर्न जात्राको महत्वपूर्ण भूमिका रहने समितिले विश्वास लिएको छ।

नेपालको राष्ट्रियता , स्वाभिमान र राष्ट्रिय गौरवलाई बचाउने पूर्खाको विषयमा खोजी गर्नुपर्ने र भगवती जात्रा विचको राष्ट्रियता खोज्नुपर्ने इतिहासकार निर्मल श्रेष्ठको  भनाई रहेको छ । सरकारले पनि यसको हेक्का राखि भगवती जात्रालाई आञ्चालिक नभई राष्ट्रिय पर्वको रुपमा सम्बोधन गर्नु आवश्क रहेको इतिहासकार श्रेष्ठले बताए ।

अंग्रेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजयी गरेको इतिहास रहेको छ । आफ्नो साम्राज्यमा कही कतै सूर्य नअस्ताउने भूभाग कोमेको अनि आफुलाई अब्बल दर्जाको रुपमा ठान्ने अंग्रेज साम्राज्यलाई पटकपटक पाल्पा क्षेत्रको बुटवल जितगढीबाट खेदेर परास्त गरेको सम्झनामा भगवती जात्रा मनाईने गरेको पाईन्छ ।

 कृष्णजन्माष्टमीको अघिल्लो रात स्थानीय सेना प्रमुखले कर्णेल उजीरसिंह थापाको तरबार हातमा लिई रथ परिक्रममा राखिने भगवतीको मूर्तिलाई खटमा राखि भोलिपल्ट शुभ साइतमा सेनाको गोरखदलले बढाँइका साथ सलामी अर्पण गर्दै श्री ७ रणउजीरेश्वरी भगवती माईको रथयात्रा सुरु गर्ने गरिन्छ । यसै क्रममा काजी वीर भञ्जन पाण्डेको सुझबुझ, कर्णेल उजीरसिंह थापाको दलमुखी आँट एवं रणकौशल र भगीरथ जैसीको सहकार्य हरेक नेपालीको मनको अन्तरकुन्तरमा उर्लेर आएको राष्ट्रिय भावना जयजयकारको स्वरले गुञ्जायमान हुने गर्दछ ।

कर्णेल उजीरसिंह थापाको नेतृत्वमा नेपालले १८७१ पुष देखि १८७२ जेठसम्म भएको अंग्रेजसँगको युद्धमा विजय हासिल गरेको थियो । यहि सम्झनामा १८७६  देखि निरन्तर रुपमा प्रत्येक वर्ष जिल्लामा विजयोत्सव मनाउने प्रचलन रहँदै आएको छ । कर्णेल उजीरसिंह थापाले युद्धमा विजयी भएमा प्रस्तरको सोह्र बाहु भएको महिषाशुर मर्दिनी भगवती सामु सिन्दुर जात्रा गर्ने भाकल गरेका थिए ।

दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल उजीरसिंह थापाले मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको इतिहास रहेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ