arrow

सिरियामा भएको द्वन्द्वबारे टर्की र रूसको मतान्तर

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
iran-turkey-russia.jpg

तेहरान। सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूसले फरक फरक मत व्यक्त गरेका छन्। टर्कीले तत्काल युद्वविराम गर्न आह्वान गरिरहेका बेला रूसले भने आतङ्ककारीहरूलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गरेको छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इडलिबमा रूसी हवाई हमला भएपछि शुक्रबार युद्व विराम गर्न आह्वान गर्नु भएको हो। “यदि हामीले यहाँ युद्वविराम सुनिश्चित गर्न सक्यौँ भने शिखर सम्मेलनका लागि यो एउटा महत्वपूर्ण कदम हुनेछ, यसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ,” इर्डोगानले भने।

इरानको राजधानी तेहरानमा शुक्रबारबाट सुरु भएको शिखर बैठकको सुरुमा उनले यस्तो बताएका हुन्। इरान र रूसलाई दमास्कसका विषयमा मुख्य पक्ष मानिन्छ।

सिरियाको इडलिबमा जारी द्वन्द्वको अन्त्य गरी त्यहाँ रहेका नागरिकको भविष्य सुरक्षित गर्ने उद्देश्यले तेहरानमा इरान, रसिया र टर्कीका राष्ट्रपतिहरूबीच बैठक सुरु भएको हो।

यस शिखर बैठकले सिरियाको इडलिब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका विद्रोही र उनीहरूको कब्जामा रहेका सिरियाका अरू सर्वसाधारणका बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने अपेक्षा गरिएको छ।

तेहरानबाट शुक्रबार प्राप्त समाचारमा उक्त प्रान्तमा रहेका लडाकू र उनीहरूको नियन्त्रणमा रहेका नागरिकको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने बताइएको छ।

बैठकमा सहभागी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफ्नो क्षेत्रलाई नियन्त्रणमा लिनु इरानको अधिकार भएको तर्क गर्दै आक्रमण जायज र आवश्यक रहेको सङ्केत गरे।

रूसको सहयोगमा सिरियाली सेनाले इडलिबमा आक्रमण गर्ने बताउँदै आएको छ। उक्त आक्रमणको तयारी भइरहेको पनि बुझिएको छ। यसै समयमा यो शिखर बैठक बसेको हो।

सिरियामा गएको करीब सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ। ती विद्रोहीले पनि इडलिबलाई मुख्य अखडा बनाएका छन्। सन् २०१५ देखि त उनीहरूले उक्त शहर कब्जा नै गरेका थिए।

इडलिबमा अहिलेकै अवस्थामा आक्रमण हुँदा ठूलो मानवीय क्षति हुने चेतावनी दिइएको छ। संयुक्त राष्ट्रसङ्घ लगायतका सङ्घसंस्थाहरूले पनि यहाँ हवाई आक्रमण नगर्न भनेका छन्।

यहाँका विद्रोहीलाई टर्कीको समर्थन रहिआएको छ। त्यस्तै सरकारी सेनालाई छिमेकी रूस र इरानको समर्थन छ। त्यसैले पनि अहिलेकै अवस्थामा आक्रमण गरी उक्त शहरमा कब्जा गर्ने प्रयत्न सरकारी सेनाले गर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्ने अनुमान सर्वत्र गरिएको छ।

सन् २०१५ मा कब्जा गरिएको इडलिब र त्यस वरपरका इलाकामा मात्र करीब ३० लाख मानिस बस्छन्। तीमध्ये आधा जति नागरिक सिरियाका अन्य क्षेत्रबाट विस्थापित भएर आएका हुन्।

विगतमा टर्की सरकारले सहायता दिएकाले यहाँ विद्रोहीको सङ्ख्या बढेको बताइएको छ। इडलिबको सीमा टर्कीसँग जोडिएको छ। त्यसैले पनि यहाँ टर्कीले सैनिक जाँच चौकीसमेत स्थापना गरेको छ।

सिरियामा गृहयुद्ध जारी छ। सात वर्षसम्म यहाँ चलेको यस युद्धका कारण हालसम्म तीन लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ। यस युद्धका कारण एक करोड १० लाख मानिस विस्थापित छन्। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ