arrow

परमाणु हतियारको कस्तो मोडलमा काम गर्दैछ उत्तर कोरिया ?

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
north_korea.jpg

काठमाडौं । करिब सात वर्षसम्म उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई लिएर आक्रामक किसिमको नीति अपनाउँदै आएको छ । कहिले जमिनमुनि नै विष्फोट भएको त कहिले आकाशमा मिसाइल प्रहार गरिएको समाचारहरु यो अवधिमा सुनिँदै आएको छ । यसको एउटै सन्देश थियो कि उत्तर कोरिया परमाणु हतियार विस्तार गरिरहेको छ भन्ने । 

उत्तर कोरियाको कुनै समाचार आउँदा विश्वव्यापीरुपमा खलखली मच्चिने गर्थ्यो । यद्यपि अमेरिकी अधिकारीहरुले भने उत्तर कोरियाले अब आफ्नो नीति बदलिसकेको बताएका छन् । तीन महिना पहिला सिँगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियन नेता किम जोन उनको बीचमा वार्ता भएसँगै यस किसिमको परिवर्तन आएको उनीहरुको विश्वास छ । 

महत्वपूर्ण कुरा के छ भने अहिले पनि उत्तर कोरिया न्युक्लियर ऊर्जा विस्तार गरिरहेको र आफ्नो हतियारको काम पनि विस्तार गरिरहेको विभिन्न विवरणहरुले देखाउँदै आएका छन् । उत्तर कोरियाको अहिलेको अवस्था हेर्ने हो भने उसले इजरायल, पाकिस्तान र भारतजस्ता मुलुकहरुबाट धेरै कुरा सिकिसकेको छ । 

यसको स्पष्ट संकेत के हो भने अहिले उत्तर कोरिया न्युक्लियर हतियारको विषयलाई लिएर शान्त देखिएको छ । पछिल्लो समय उत्तर कोरियाले परमाणु हतियारको विषयमा कुनै चेतावनी तथा संकट खडा गर्ने कोसिस गरेको छैन । यस्तोमा अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरिया निशस्त्रीकरणको प्रयासमा रहेकोमा विश्वस्त देखिएका छन् । 

ट्रम्प पनि नरम 

उत्तर कोरियाको यस किसिमको नीतिको कारण ट्रम्पले पनि उत्तर कोरियाको विषयमा राम्रो शब्दहरुको प्रयोग गर्न सुरु गरेका छन् । एक साता पहिला ट्रम्पले किमको प्रशंसा गर्दै उनीप्रति विशेष लगाव रहेको बताएका थिए ।

दक्षिण कोरियन राष्ट्रपतिसँग तेस्रो भेट

मंगलबार दक्षिण कोरियन राष्ट्रपति मून जाइ इन र किम जोन उनको बीचमा तेस्रोपटक भेटको कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने यो बैठकमा शान्तिको घोषणाको विषयमा चर्चा हुनेछ । उत्तर कोरियाको गतिविधिलाई लिएर अमेरिकाले धेरैपटक उसलाई धम्की पनि दिँदै आएको छ । एक वर्ष पहिले ट्रम्पले उत्तर कोरियालाई हतियार नष्ट गर्ने वा परिणाम भोग्न तयार रहन चेतावनी दिएका थिए । 

ट्रम्पलाई मनाउन सक्ला उत्तर कोरियाले ? 

अधिकारीहरुका अनुसार अहिलेको अवस्थामा आगामी दिनमा दुई मुलुकबीचको सम्बन्ध कुन अवस्थामा पुग्छ भन्ने कुराको आँकलन गर्न गाह्रो छ । उत्तर कोरिया अमेरिकाको मोडलमा चलिरहेको छ वा छैन भन्ने कुराको पनि अहिले अनुमान लगाउन नसकिने उनीहरुको भनाइ छ । उत्तर कोरिया यदि अमेरिकासँगको सम्बन्ध बलियो भएको खण्डमा निशस्त्रीकरणको मागलाई रोक्न सकिन्छ कि भन्ने दिशामा अघि बढिरहेका छन् । यदि उत्तर कोरियाले मिसाइद परीक्षण गर्दैन भने अमेरिकाले परमाणु कार्यक्रम रोकेको प्रमाण माग्ने सम्भावना पनि कम हुन्छ । 

अमेरिका के भन्छ ? 

ह्वाइट हाउसले भने दुई मुलुकहरुको सम्बन्धमा व्यापक सुधार आएको बताएको छ । ट्रम्पका प्रेस सल्लाहकार सारा सेन्डर्सले अहिलेको अवस्थाले किम दुई मुलुकबीचको सम्झौतालाई लिएर प्रतिबद्ध रहेको देखिएको बताएका छन् । उनले १० महिनापहिला उत्तर कोरियाले आफ्नो अन्तिम मिसाइल परीक्षण गरेको स्मरण गराए । यद्यपि स्याटेलाइटबाट पाइएका तस्बीहरुले भने उत्तर कोरियाको परमाणु उत्पादन लगातार जारी रहेको देखाएको छ । यसैबीच किमले आफ्नो परमाणु परीक्षण स्थलको मूल ढोका विष्फोट गरेर भत्काएसँगै उनले आफ्नो हतियारको नष्ट गर्न सुरु गरेको विश्वास दिलाएका थिए । 

 किमको वास्तविक रणनीति 

पछिल्लो अवस्थालाई हेर्ने हो भने उत्तर कोरिया अब कुनै पनि तडकभडक विना नै आफ्नो काम पूरा गर्ने दिशामा अघि बढेको देखिन्छ । यसअघि पाकिस्तानले अपनाएको नीतिको सिको गर्ने प्रयास उत्तर कोरियाको छ । सन् १९८८ मा पाकिस्तानले ठुलो परमाणु परीक्षण गरेको थियो तर त्यसयता अहिलेसम्म उसले कुनै पनि परमाणु परीक्षण गरेको छैन । 

जसको कारण यस विषयमा पछिल्लो समय चर्चा पनि निकै कम हुन थालेको छ । पाकिस्तान परमाणु कार्यक्रमको विषयलाई लिएर पनि निकै कम प्रतिबन्धित छ तर कहिलेकाँही पाकिस्तानमा परमाणु हतियार निर्माणको काम चलिरहेको आरोप लाग्ने गरेको छ । उत्तर कोरिया पनि सोही मार्गलाई पछ्याउँदै अघि बढ्ने दिशामा अग्रसर देखिन्छ । 

उत्तर कोरियाले अबको कदम

उत्तर कोरियाले आफ्नो चीन र रुससँगको कारोबार बढाउन सुरु गरेको छ । गत शुक्रबार राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले रुस उत्तर कोरियामाथिको प्रतिबन्धको यूएन ड्राफ्ट परिवर्तन गर्ने मनसायमा रहेको अरोप लगाएकी थिइन् । यस्तोमा उत्तर कोरिया अब कुन बाटोमा अघि बढ्ने तयारीमा रहेको स्पष्ट भएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ