arrow

निर्मला हत्या प्रकरण : महत्वपूर्ण प्रमाण हुन् निर्मलाको घर नजिकैको पोष्टका सई सा’व !

जो अहिले निलम्बनमा छन् 

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ असोज २ मंगलबार
nirmala1.JPG

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त हत्या पछि तातिएको राप अब विस्तारै सेलाउँदै गएको छ । निर्मलाका आमा बाबुआमाले प्रधानमन्त्रीलाई भेटेसँगै घटनाक्रमको राप सेलाएको पुष्टि भएको छ । बाबुआमा अलिकति आश्वासन र अलिकति शंका बाकेर फिर्ता भएका छन्, राजधानीबाट ।

प्रधानमन्त्रीलाई भेट्न निर्मलाका बाबुआमा मात्रै बालुवाटार गएका थिएनन् । प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने सांसद तथा अधिकारकर्मी पनि साथमा थिए । भेटमा प्रधानमन्त्री ओलीले घटनाको अनुसन्धानमा सरकार गम्भीर रहेकाले दोषी जो सुकै भएपनि न्याय पाउनेमा ढुक्क हुन आश्वासन दिए । त्यही एउटा आश्वासन पाए, बाबुआमाले । 

भेटमा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने भीम रावल, लेखराज भट्ट, दिलेन्द्र प्रसाद बडु, एनपी साउद, बिना मगर, निरु पाल लगायतका नेताहरु र अधिकारकर्मी सहभागि भए । यसअघि खासै सक्रियता नदेखाएका जनप्रतिनिधिहरु बालुवाटारमा साँढे बने । त्यही भनाभन् गरे । तेरो स्वर अग्लो कि मेरो स्वर अग्लो भनेको जस्तै कचिङ्गल गरे । 

निर्मलाका बाबुआमासँग गएकाहरु त्यहाँपनि सत्ताधारी र विपक्षी भएर प्रस्तुत भए । यसरी नै हो, कुनै पनि घटनाक्रमको संवेदनशीलता घट्ने । यो कुरा देखेर निर्मलाका बाबुआमा न्याय पाउनेमा आशा कम र शंका बढी बोकेर फर्किए । 

‘कहीँ नभएको जात्रा कञ्चनपुरमा’ 
नेपालीमा एउटा उखान छ, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ । तर, अहिले कहीँ नभएको जात्रा कञ्चनपुरमा जस्तै भएको छ । पूर्व प्रहरी पमुखहरु तथा सीआइबी प्रमुखहरु बारम्बार भनिरहेका छन्, अनुसन्धानमा सरकार, मन्त्री, सांसद वा गृह प्रशासनले इनिसियटिभ लिने होईन । इनिसियटिभ लिने स्थानीय प्रहरीले नै हो ।’

निर्मला हत्यापछिको अनुसन्धानका क्रममा जे जति गतिविधि भए ति सबै रीत विपरीत छन् भन्ने दावी हो पूर्व प्रहरी प्रमुखहरुको । ताैर तरिका विलकुल भएन । प्रहरी प्रमुख हुन नपाएका उच्च पदस्थ एक पूर्व प्रहरी अधिकारीले त प्रहरीमा चेनअफ कमाण्ड कमजोर रहेको भनि आलेख नै लेखेका छन् । कञ्चनपुर घटनामा सरकार अथवा गृहमन्त्रालयले नै चावी लिएका कारण अनुसन्धान जटिल बनेको र हालसम्मका घटनाक्रम घटेको अब अनुमान लगाइरहनु पर्दैन पुष्टि भईसक्यो । 

कसरी पुष्टि भयो ? अनुसन्धानको सबै जिम्मा कञ्चनपुर प्रहरीलाई नै दिने र केन्द्रले स्रोत साधन र सहयोगका लागि अनुभवि जनशक्ति खटाउन ढिलै भएपनि निर्णय भएको छ । त्यसको उदाहरण हो । प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वको टोली । त्यसरी नै केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएका ठाकुरप्रसाद ज्ञवालीको टोली पनि कञ्चनपुरमै छ । यो कुरा पहिले नै सोचेको भए यत्ति धेरै राजनीति हुँदैन थियो र क्राइम सिनमा देखिएका केही प्रमाणहरु फेला पार्न सकिन्थ्यो । अब त्यो सम्भव छैन ।

अनुसन्धान सफल हुन क्राइम सिन अर्थात् घटनास्थलको पृष्ठभूमि महत्वपूर्ण ठहरिन्छ । क्राइम सिनबाट लिनुपर्ने कुनै पनि प्रमाण (शव फालिएको प्रकृति, बुटको निशान, फिंगर प्रिन्ट, शरीरका कुनै भागमा लागेको रगत, विर्य, रौँ अथवा सावधानी अपनाउँदा अपनाउँदै छुटेको कुनै अरु प्रमाण) नलिएको भनेर प्रहरी आफै भनिरहेको छ । यसको अर्थ क्राइमसिनबाट पाउने ९० प्रतिशत प्रमाण प्रहरीले जानेर वा लापरवाहपूर्वक नष्ट गरिसक्यो । बाँकि रहयो अब शंकास्पदहरुसँगको केरकार र निर्मलाको डिएनएसँग शंकास्पदहरुको डिएनए म्याच ।

निलम्बनमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले कुनै सञ्चारमाध्यमलाई अन्तरवार्ता दिने क्रममा चिप्लिएर वा क्लू दिन एउटा कुरा बोलेका छन्, ‘प्रहरीले प्रमाण नष्ट गरेको छैन । डिएनए के हो त सबैभन्दा ठूलो प्रमाण’ । उनले आफ्नो बढुवा हुने समयमा आरिस गरेर फसाइएको समेत भनेका छन् । तर, उनले आफ्नो छोराको डिएनएका लागि आफैले प्रहरीकहाँ पठाएको समेत भनेका छन् । अब उनले के भुल्न हुँदैन भने, पहिले पनि महिला काण्डकै कारण उनको बढुवा रोकिएको थियो भन्ने कुरा । उनीप्रति पूर्वाग्रह राख्नु पर्ने कुनै कारण छैन ।

उनले दिएको उत्तर नै काफी छ । ‘डीएनए के हो प्रमाण ? त्यो सबैभन्दा ठूलो प्रमाण होइन ? भोलि खोज्दै जाँदा शंका लाग्ने व्यक्तिलाई टेस्ट गर्दा खुल्छ’ । यहाँनेर एउटा कुरा के प्रष्ट भएको छ, भने उनले निर्मला हत्याको अब जतिसुकै कोणबाट छानविन गरेपनि प्रमाण बचेको भनेकै डिएनए मात्रै हो । उनले हेर्दै जानुहोला भोलि हेडक्वार्टरले हामीलाई बढुवा गर्ने दिन पनि आउने छ, भनेका छन् । उनको भनाईबाट निकै धेरै गडबड भएको बुझिन्छ । 

उनको भनाई अनुसार अब शंका लाग्नेजति सबैको डिएनए टेस्ट गर्नु पर्ने भो । डिएनए रिपार्ट आउनै कम्तिमा २० लाग्ने बताइन्छ । शंका लागेकाजति सबैको डिएनए टेस्ट गर्दै जाने हो, भने कहिले टुंगिन्छ अनुसन्धान ? 

महत्वपूर्ण प्रमाण हुन् सई सा’व
गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिको प्रारम्भिक प्रतिवेदन हात पर्नेवित्तिकै दुई डिएसपीसहित थप पाँच प्रहरी निलम्बनमा परे । एसपी विष्ट त पहिल्यै निलम्बनमा परिसकेका थिए । निलम्बनमा परेका मध्ये अनुसन्धानको हिसाबले सबैभन्दा महत्वपूर्ण प्रमाण हुन्, निर्मलाको घर नजिकै रहेको अस्थायी प्रहरी पोष्टका सई रामसिंह धामी । 

निर्मलाको घर जनिकै छ, अस्थायी प्रहरी पोष्ट, सालघारी । मसिनोगरी अनुसन्धान गर्ने नै हो भने निर्मला हराएको साँझै खोजी गर्न नमान्ने अस्थायी प्रहरी पोष्ट अनुसन्धानका लागि प्रमाण हो कि होईन ? घटनाको रोष किन जिल्ला प्रहरीप्रमुख माथिनै खनियो ? के निर्मलाको शव भेटिएको ठाउँ सईसा’व नजिक जानु भएन ? कसले संकलन गरेको थियो प्रमाण ? एसपी विष्टले आफूलाई फसाएको भन्ने कुरामा कति दम छ ? त्यतिमात्रै होइन एसपी विष्टले अनुसन्धान गर्दा शंकाको सुई जिरोदेखि घुमाएपनि एकै ठाउँमा अड्किन्छ भनिरहेका छन् । त्यो कुरा उनले सजिलै भन्दैनन् । यदि अनुसन्धानमा नजिकको प्रहरी सामेल थिएन भने पनि कुनै नै कुनै सुराक वा खुराक मिल्छ, भन्छन्, पूर्व आइजीपी अच्यूतकृष्ण खरेल, ‘केन्द्रका जतिसुकै टोली खटाएपनि केही हुनेवाला छैन ।’ 

विष्टले अर्को क्लू दिन खाजे वा उनले आफूमाथि खनिएको भिडको ध्यान अन्तै मोड्न खोजे । उनले भनेका छन्, ‘अनुसन्धान अड्किएकोदेखि अगाडि जाने ठाउँ धेरै छन् । जस्तैः उखुबारी पछाडि लागूपदार्थ सेवन गर्नेहरुको अखडा छ । त्यहाँ को–को आउँथे त्यसको विस्तृत अनुसन्धान हुनै बाँकी छ । त्यहाँ दायाँमा भौतिक संरचना बन्दै गरेको ठाउँमा मिस्त्रीहरु छन् । पेन्टरहरु छन् । लेबरहरु छन् ।’

एउटा कुरा उनले पनि लुकाए । जहाँबाट निर्मला हराइन बम दिदीबहिनीको घर नजिक नेपाली सेनाको २५ नम्बर बाहिनी छ । छानविन समितिले सेनामाथि पनि छानविन गर्न भनेको छ । यो, कुरा विष्टले बोलेका छैनन् । 

कञ्चनपुरमा त्यत्रो प्रहरी संरचना हुँदा हुँदै किन केन्द्रको टोलीमा जोडबल ? 
कञ्चनपुरमा एउटा जिल्ला प्रहरी कार्यालय छ । ९ वटा ईलाका प्रहरी कार्यालय छन् । अझ भनौँ जुन नगरमा यो घटना भयो त्यो नगर हेर्न भनेर अहिले वडा प्रहरी कार्यालय समेत छ । १३ वटा चौकी छन् । १२ वटा अस्थायी प्रहरी पोष्ट छन् ।

ती १२ अस्थायी प्रहरी पोष्ट मध्ये अस्थायी प्रहरी पोष्ट, सालघारी निर्मलाको घर नजिकै छ । त्यही पोष्टका ईन्चार्ज एवं प्रहरी नायब निरीक्षक सई रामसिंह धामी निलम्बनमा परेका छन् । सबै भन्दा बढी थाहा उनैलाई छ भन्ने थाहा हुँदा हुँदै प्रहरी किन गृहमन्त्रालयको इसारामा नाचिरहेको छ ? उसकाे लिष्ट कार्यान्वयन गरिरहेकाे छ । अनि कसरी हुन्छ अनुसन्धान ? अपराधीबारे कुनै क्लू नदिने छानविन समिति र निलम्बनकाे नाटक गर्नु लाेकरिझ्याँईकाे मात्रै हाे । अर्काेतिर मिडिया, अधिकारकर्मी र  स्थानीयले स्वतन्त्र रुपमा अनुसन्धान गर्न दिएन भन्ने प्रधानमन्त्री, गृहमन्त्री वा प्रहरी अधिकारीकाे नालायकी पन शिवाय केही हाेइन । अनुसन्धान भइरहेकाे कुरा कसैले बाहिर भन्दैनन्, गरेर देखाउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ