arrow

छोरीलाई जबरजस्ती करणी गर्ने बाबुले भने– ‘मलाई फाँसी देउ’

logo
प्रकाशित २०७५ असोज ८ सोमबार

 ललितपुर । सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ ।

अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै गएको सोमबार यस्तो फैसाला सुनाएको हो ।

उनले आफ्नी छोरीलाई गएको चैत १५ गते बेलुकी साढे ९ बजेदेखि २०७५ साउन १० गतेसम्म पटकपटक गर्भ निरोधको कुनै साधन प्रयोग नगरी करणी गरेका थिए ।

बलात्कृत छोरीले आफूलाई डरत्रास देखाई ज्यानै मार्नेसम्मको धम्की दिई जबरजस्ती करणी गरेको अदालतमा बयान दिएको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकृत रमेश भट्टराईले बताए ।

आफूलाई जबरजस्ती करणी गरेको र केही दिनपछि पेट बढेको तथा महिनावारी नभएको कुरा बुबालाई सुनाएको बयानका क्रममा अदालतमा दिएको बयान सम्झँदै सूचना अधिकृत भट्टराईले भने । 

बुबाले गर्भवती छ–छैन भनी पिसाब जचाउन लगेको, पिसाब जाँचपछि आफ्नो छोरी आफैँबाट गर्भवती भएको उनले थाहा पाए । उनी गर्भवती रहेको कुरा थाहा पाएपछि बच्नका लागि अनौठो योजना उनले बनाए । ‘उनले तिम्रो पेटमा पानी भरिएकाले पेट ठूलो भएको रहेछ तिमीलाई अस्पताल लगी जँचाउनुपर्दछ’ भने ।

उनले छोरीको गर्भमा रहेको बच्चा फाल्न चावहिलको सम्राट पोलिक्लिनिक एन्ड मेडिकल सेण्टर प्रालिमा लगेको प्रहरीको अनुसन्धानपछि खुल्न आयो । घटनाको अनुसन्धानमा महानगरीय प्रहरी वृत्त चापागाउँ जुटेको थियो । 

त्यस मेडिकलमा लगी आफूलाई बायाँ पाखुरामा एउटा सुई दिएको थाहा पाएकी र त्यसपछि के भयो थाहा नभएको उनले बयान दिइन् । उनले प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतसम्म पनि एक शब्द पनि तलमाथि नगरी बयान दिइन् ।

उनले बयान दिँदै भनेकी थिइन्– ‘भोलिपल्ट म होसमा आउँदा मेरो योनीमा प्याड लगाएको र रगत बगिरहेको थियो, अहिलेसम्म मेरो पेट दुखिरहन्छ, राम्रोसँग हिँडडुल गर्नसमेत मिल्दैन ।’

उनकी आमा ३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् । आमा मलेसिया गएपछि उनी र बहिनी बुबासँगै डेरामा बस्न थाले । उनले आफ्ना बाबुले आफूमाथि यस्तो हर्कत गर्छन् भन्ने जीवनमा कहिल्यै पनि सोचेकी थिइनन् । 

जब छोरी आफैँबाट गर्भवती भएको थाहा पाए, त्यसपछि उनले विदेशमा रहेकी श्रीमतीसँग छोरीको अप्रेसन गर्नुपर्छ भन्दै ५० हजार पठाउन आग्रह गरे ।

विदेशबाट पठाएको त्यही पैसाले उनले छोरीको गर्भपतनसम्म गर्न सफल भए । आफ्नो छोरीको अप्रेसन गर्ने भन्ने कुरा सुनेर अत्तालिएकी आमा मलेसियाबाट श्रीमान्लाई थाहै नदिई नेपाल फर्किइन् । श्रीमतीलाई उनले छोरीलाई के रोग लागेको केही प्रस्ट पारेका थिएनन् । श्रीमती नेपाल फर्केको थाहा पाउनेबित्तिकै छोरीसहित बेपत्ता भए उनी ।

श्रीमती नेपाल फर्केपछि श्रीमान् र छोरी हराएको भन्दै प्रहरीमा जाहेरी दिँदै खोजिदिन आग्रह गरिन् । केही दिनमा प्रहरीले श्रीमान्सहित छोरी फेला पार्यो । आमाले छोरीलाई भएको बिरामको विषयमा सोधपुछ गर्दा बुबाले आफूलाई गरेको हर्कत जस्ताको त्यस्तै नढाँटी सुनाइन् । 

त्यसपछि यो घटना सतहमा आयो । बाबुले पनि छोरीलाई बलात्कार गरेको स्वीकारे । उनले बयान दिँदा भनेका थिए– ‘मैले गल्ती गरेँ, मलाई जस्तो सजाय दिँदा पनि कमी हुन्छ, बरु फाँसी दिनुस् ।’

आफ्नो संरक्षणमा रहेकी छोरीलाई जबरजस्ती करणी गरेकोले तत्काल प्रचलित मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३ (१), ३ (क), मुलुकी ऐन, हाडनातामा करणी गर्नेको महलको १ नम्बर, मुलुकी ऐन, अदलको महलको ५ नम्बर तत्काल प्रचलित मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको २८ क (१) अनुसार गर्भपतन गराएको सरकारी वकिलको कार्यालयले सोही बमोजिम सजाय मागेको थियो ।

कार्यालयले हालै पारित मुलुकी अपराध (संहिता) ऐन, २०४७ को दफा २१९ को उपदफा (३) (क) ले सजाय गरी दफा २२० को उपदफा (२) (क) र दफा २२२ को उपदफा (२) ले थप सजाय हुन मागेको थियो । (समाचारपत्रबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ