arrow

काँग्रेसलाई कसरि एक ढिक्का बनाउने ?

क्रियाशील सदस्यहरुबाट भोट हालेर केन्द्रिय सभापति चुन्ने

logo
डा. राजकुमार राई,
प्रकाशित २०७५ असोज २१ आइतबार
Raj_kumar_Rai.jpg

नेपाली काँग्रेसका प्राय सबै नेता कार्यकर्ताहरु भन्छन काँग्रेस एक ढिक्का हुनुपर्छ । सबैले महसुस गरेको यो बास्तबिकता हो कि काँग्रेस एक ढिक्का छैन । यदि अब पनि काँग्रेस एक ढिक्का नहुने हो भने यसको औचित्य बिस्तारै हराएर जानेछ भन्दै धेरैले चिन्ता ब्यक्त गरेको पाईन्छ । त्यसो भए के कारणले गर्दा पार्टी एक ढिक्का भईरहेको छैन त ? एक ढिक्का बनाउने सुत्रहरु के के हुन सक्छन ? यस बिषय मा पार्टी भित्र बृहत छलफल हुनु जरुरि छ । 

पार्टी विभिन्न किसिमका व्यक्तिहरु मिलेर बनेको हुन्छ । कोहि राजनीति मार्फत जनताको सेवा र देशको विकास गरौं भनेर लागेको पाईन्छ भने कोहि व्यक्तिगत फाइदाको लागि पेशाको रुपमा अथवा नाम पनि दाम पनि संगसंगै कमाउन सकिन्छ भनेर लागेको पाईन्छ । र कोहि दाम कमाइ सकेकाहरु पनि राजनीतिमा लागेकाछन् । २०५१ र ५२ साल पछि  राजनीति एउटा नाम र दाम संग संगै कमाउने माध्यम बनेकोले पनि राजनीति प्रति धेरैको आकर्षण बढ्यो । जसले गर्दा नेताहरु पनि सुकिला मुकिला र आफन्तजनहरुको घेराबन्दीमा पर्दै गए । परिणामतस् नेताहरुको सोंच र व्यवहारमा पनि ठुलो परिबर्तन आयो । राजनीति किन र के को लागि गर्ने भन्दा सत्ता र सम्पत्तिको लागि हो भन्ने संस्कारको विकास भयो । 

नेतृत्वको पक्षपातपूर्ण व्यवहार र पार्टी हित भन्दा पनि स्वार्थी गुटहरुको कारणले गर्दा पार्टी एक ढिक्का हुन नसकिरहेको अनुभब धेरैले गरेको पाइन्छ । संग संगै पार्टीले आफ्नो आदर्श, सिद्दान्त र विचारलाई त्याग्दै गर्दा पनि पार्टीमा विभिन्न गुट र उप गुटहरु मौलाउदै गईरहेको देखिन्छ । नेताहरुमा आत्मकेन्द्रित अहमताको भावना ज्यादा भयो भन्ने आरोप पनि लागिरहेको छ । पार्टीमा ज्यादै महत्वाकांक्षी मानिसहरुको हाबी भयो भने पनि पार्टी एक ढिक्का हुन दिंदैन । कमजोर मानसिकता भएका अधैर्य मानिसहरु गुटबन्दीलाई रुचाउँछन् । पार्टीको आदर्श, शिद्दांत, मूल्य र मान्यतालाई नबुझेको वा अबमुल्यन गर्ने मानिसहरु पनि गुटबन्दीमा रमाउँछन् । असल नियत भएको नेताहरुले कहिले पनि गुटबन्दी गर्दैन बरु पार्टीबाट सन्यास लिन्छन ।  एक पटक पार्टी सत्तामा पुगेपछि सधैं भरि पार्टीमा हाबी भैरहने प्रबृत्तिले पनि पार्टीलाई एक ढिक्का हुन नदिईरहेको देखिन्छ ।  कबि शिरोमणि लेखनाथ पौडेलले धेरै बर्ष पहिले आफ्नो कवितामा भनेका थिए, “मै खाउँ मै लाउँ अरु सबै  मरुन दुर्बलहरु“ । अहिले पनि पार्टी भित्रका अधिकांश कार्यकर्ताहरुले यहि भनाइलाई अनुभूति गरिरहेको पाइन्छ । 

पार्टीलाई एकढिक्का हुन नदिन कार्यकर्ताहरुको पनि भूमिका देखिन्छ । हरेक नेताहरुको निबासमा गएर अर्को साथीको बारेमा कुरा लगाउने र विभिन्न किसिमका कुरा सुनाएर नेताहरुलाई भ्रममा पार्ने काम कार्यकर्ताहरुबाट भईरहेको देखिन्छ । पार्टी संरचना भित्र तल देखि माथि सम्म एउटाले अर्कोको खुट्टा तान्ने प्रबृत्ति हाबी छ । आफ्नैले आफ्नैलाई तिकडमबाजी गरेर सिध्याइदिने खेल पनि पार्टी भित्र नभईरहेको होइन । बस्ताबमा पार्टी भित्र एकआपसमा प्रतिस्पर्धी  भए पनि एकआपसको सहयोगी पनि हो भन्ने बुझ्नु पर्ने हो । त्यस्तै त्यो ठाउंमा आफु भए ठिक अरु भए बेठीक भन्ने गलत धारणा पनि पार्टी भित्र ब्याप्त छ । यस्ता किसिमका विसंगतिहरुलाई चिर्दै पार्टी एकढिक्का हुनु सक्यो भने पार्टी शक्तिशाली बन्छ । पार्टीले जनताको विश्वास आर्जन गर्दछ । कार्यकर्ताहरुको मनोबल उच्च हुन्छ जसले गर्दा शत्रुपक्ष वा बिपक्षीसंग मुकाबिला गर्नु गार्हो हुँदैन । राजनीतिमा पार्टीहरुलाई बाध्यता अथवा आबस्यकताले पनि एकढिक्का बनाउँछ । अहिले नेपाली काँग्रेस कमजोर प्रतिपक्षको भूमिकामा छ । यस्तो बेलामा पनि पार्टी एकढिक्का बन्ने तर्फ नजानु एउटा बिडम्बना नै हो भन्न सकिन्छ ।

पार्टी भित्र एकढिक्का हुनको लागि सबैको भावना एउटै हुनुपर्दछ  । अथवा भवनात्मक एकता हुनुपर्दछ । त्यो एउटै किसिमको भावना पार्टीको आदर्श, सिद्दान्त र विचारले ल्याउँछ । पार्टीलाई कसरि एकढिक्का बनाउने भन्ने बिषयमा सबै भन्दा ठुलो भूमिका पार्टी नेतृत्वकै हुन्छ । नेतृत्व असल हुनु जरुरि छ । नेतृत्व संकीर्ण नभई त्यागि र उदार हुनु पर्दछ । पार्टी नेतृत्वमा सहनशीलता सद्भावना हुनु जरुरि छ । नेतृत्वमा सबैको कल्याण र भबिष्यको बारेमा चिन्ता गर्ने स्वभाव हुनु पर्ने हुन्छ । आफु मात्र कसरि बलियो हुने भन्दा पनि पार्टीलाई कसरि बलियो बनाउने भन्ने बारेमा चिन्ता हुनु पर्ने हुन्छ।  नेताहरु नैतिकवान, त्यागी र बिबेकवान भै एउटा रोल मोडेल हुनु पर्ने हुन्छ । पार्टी रह्यो भने हामी सबै रहन्छौं भन्ने भावनाले प्रेरित हुनु पर्ने हुन्छ । पार्टी कसैको लहडबाजीमा भन्दा पनि मुल्य मान्यताको निष्ठाबाट चल्नु पर्ने हुन्छ । नेतृत्वले जहिले पनि पार्टीको आदर्श, सिद्दान्त र विचारलाई आत्मसात गरि निर्णयहरु लिनु पर्ने हुन्छ । त्यस्तै बिधिबिधान अनुसार पार्टी चलेको हुनु पर्दछ । 

नेतृत्व भनेको एउटा कुसल ब्यबस्थापक पनि हो । उसले कुन नेता कार्यकर्तालाई कहाँ कसरि ब्यबस्थापन गर्ने हो त्यो बारेमा जानकारी हुनु पर्दछ । बिचोउलियाहरु, आफन्त र चाटुककारहरुलाई पनि ठिक ठाउँमा राख्नु पर्ने हुन्छ । लोकतान्त्रिक पार्टी भएकोले पार्टी भित्र नियमित छलफल, बहस र प्रशिक्षणहरु भईरहनु पर्दछ । लोकतान्त्रिक पद्दत्ति बाट पार्टी चल्नु पर्दछ । लोकतान्त्रिक अभ्यास नहुँदा पार्टी एक ढिक्का हुन सक्दैन । पार्टीले नेता तथा कार्यकर्ताहरुलाइ काम दिनु पर्ने हुन्छ  र त्यो कामको प्रतिबेदन पार्टीमा अभिलेख राखी  कार्यकर्ताहरुलाई अवसरको  ब्यबस्था हुनु पर्दछ । 

धेरै नेताहरुले यो  भनिरहेकाछन् कि वर्तमान नेतृत्वको कारणले गर्दा पार्टी एकढिक्का भईरहेको छैन । बस्ताबमा भन्ने हो भने नेतृत्वमा जो भए पनि बारम्बार दोहोरिरहने प्रबृत्ति नै मूल समस्या हो । र यो प्रबृत्ति भोलि अर्को नयाँ नेतृत्व आउँदा पनि देखा पर्ने निश्चित छ । वर्तमान पार्टी सभापतिले पनि आफु त्यो ठाउँमा नपुगुन्जेल सम्म पार्टी भित्र बिद्रोह गरेका थिए र म सभापति बनेपछि पार्टी भित्रका बेथितिहरुलाई एकएक गरेर सुद्दिकरण गर्छु भनेकै थिए । के अहिले उहाँले भनेका बाचाहरु पुरा भए त ? त्यस्तै राजनीतिको मुलधारमा कम भएका समुदायहरुद्वारा उहाँलाई समाबेशी मुद्दाको हिमायती भनिन्थ्यो, तर गत बर्षको निर्बाचनहरुमा भएको टिकट वितरण र केन्द्रिय कमिटिमा उहाँले मनोनित गर्नु भएको अनुहारहरु हेर्दा उहाँको अस्सली समाबेशी हृदय प्रस्ट संग देखियो । 

त्यसकारण यो गलत प्रबृत्तिलाई करेक्सन गरि सभापतिलाई बढी जिम्मेवार र लोकप्रिय बनाउने हो भने नेपाली काँग्रेसका केन्द्रिय सदस्य गगन थापाले सभापतिको बिषयमा दिएको सुझाब  अनुसार बिधानमा दुइटा बुंदाहरु राख्न जरुरि छ । पहिलो क्रियाशील सदस्यहरुबाट भोट हालेर केन्द्रिय सभापति चुन्ने र दोश्रो पार्टीले आम निर्बाचनमा हार्यो भने सभापतिले तुरुन्त राजिनामा दिने । पहिलो प्राबधानले गर्दा सिमित व्यक्तिहरुको घेराबाट सभापति बन्ने प्रचलनको अन्त्य हुनेछ र संग संगै साम, दाम, दण्ड, भेद भन्ने पुरानो सुत्रहरु पनि खिया लाग्नेछन । त्यस्तै दोश्रो प्राबधानले गर्दा सभापति आफै पार्टीलाई एकढिक्का बनाउन अघि सर्नेछन् । निर्बाचन ताका नेताप्रिय भन्दा जनप्रिय व्यक्तिहरुले अवसर पाउनेछन र कार्यकर्ताहरु पनि नेता रिझाउनु भन्दा जनता रिझाउन प्रतिस्पर्धा गर्नेछन । अनि पार्टी र जनता पनि जोडिनेछन्  ।

अन्त्यमा, नेपाली काँग्रेसलाई साँच्चै नै एकढिक्का बनाउने हो भने नेताहरुको मन, बचन र कर्म एकै किसिमको हुनु पर्दछ । सबैलाई समेट्न सक्ने फराकिलो हृदय भएको लोकप्रिय नेतृत्व छनौट गर्ने प्राबधान बिधानमा उल्लेख गरिनु पर्दछ ।  आफ्नो पार्टीले हारेको अबस्थामा सत्ताको गोलचक्करलाई मध्यनजर नगरीकन नैतिक जिम्मेवारी लिई आफ्नो पदिय दायित्व अर्कोलाई हस्तान्तरण गर्ने साहस भएको व्यक्ति नेतृत्वमा आउनु पर्दछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ