arrow

पर्वतको सात वटै स्थानीय तहमा नेकपाको संयन्त्र गठन

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
parbat_district_map.png

पर्वत ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले जिल्लाका सात वटै स्थानीय तहमा पार्टीका संयन्त्र गठन गरेको छ । नेकपाको बिहीबार बसेको जिल्ला संयन्त्र बैठकले सबै पालिकामा संयन्त्र गठन गरेको हो ।

नेकपा गण्डकी प्रदेशका सहइन्चार्ज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिव गोविन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्वसम्मत रुपमा संयन्त्र चयन गरेको नेकपाले जनाएको छ ।

संयन्त्रमा साविक एमाले र माओवादी केन्द्रका नगरपालिका र गाउँपालिका कमिटीका इन्चार्ज तथा पदाधिकारीलाई सदस्यका रुपमा राखिएको छ । संयोजक भने वरिष्ठ सदस्यमध्येबाट चयन गरिने वा आलोपालो समेत गर्न सकिने व्यवस्था गरिएको नेकपाका केन्द्रीय सदस्य गुप्तबहादुर हमालले जानकारी दिए ।

अर्को व्यवस्था नभएसम्म संयन्त्रका सदस्यले एकीकृत पार्टीको गतिविधि सञ्चालन गर्ने भएका छन् । नेकपाले तल्लो तहमा कमिटी एकीकरण गर्ने उद्देश्यसहित सबै नगर तथा गाउँपालिका संयन्त्रको बैठक बसी ६१ वटै वडामा संयन्त्र बनाउने निर्णय गरेको छ ।

 गाँउपालिकाका संयन्त्र बैठक आजदेखि शुरु भएर सोमबारसम्म सम्पन्न गरिसक्ने निर्णय भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य हमालले जानकारी दिए। वडा संयन्त्र गठन गर्दा वडा इन्चार्ज, अध्यक्षसहित पदाधिकारीलाई सहभागी बनाएर साविक एमाले तथा माओवादी केन्द्रबाट दुई दुई सदस्य रहने व्यवस्था गर्न निर्देशनसमेत दिएको छ ।

यसैगरी बिहीबार नै बसेको सचिवालय बैठकले साविक एमालेको जिल्ला कार्यालयलाई नै एकीकृत पार्टीको जिल्ला कार्यालयका रुपमा सञ्चालन गर्ने तथा पार्टी जिल्ला कार्यालयको सचिवको जिम्मा शिवलाल सार्कीलाई दिने निर्णयसमेत भएको छ ।

नेकपा पर्वतको जिल्ला संयन्त्रमा भने केन्द्रीय सदस्य हमाल र नेपाली तथा साविक एमालेबाट पदम गिरी, भक्त कुँवर, पदमपाणि शर्मा र गोविन्द पहाडी तथा साविक माओवादी केन्द्रबाट गगन थापा, केशव कुँवर, सुदीप कुँवर र सन्तबहादुर गुरुङ छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ