arrow

शितल निवास सशंकित हुँदा वामदेवको च्याप्टर क्लोज

logo
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
bamdev-gautam.JPG

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्तिक ४ गते बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै काठमाडौं ७ मा वामदेव गौतम उमेद्वार बन्ने बिषयमा भएको बहसको च्याप्टर क्लोज भएको छ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित नेकपाका सांसद मानन्धरले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा ल्याउन आवश्यकपरेमा आफू उनका लागि राजीनामा दिन तयार रहेको भन्दै त्यसका लागि अनुमति पाउन पार्टी नेतृत्वलाई पत्र दिएका थिए। मानन्धरले दिएको पत्रबारे सचिवालय बैठकले राजीनामा दिनु नपर्ने औपचारिक निर्णय गरेसँगै नेता गौतमलाई सांसद बनाउने पहल र चर्चाको च्याप्टर क्लोज भएको हो।

गत असोज २२ को सचिवालय बैठकमा मानन्धरको उक्त पत्रबारे अनौपचारिक छलफल भएको थियो। पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत पूर्वपरामर्श नगरी मानन्धरले एकाएक राजीनामा लागि अनुमति मागेपछि शीर्ष नेताबीच आपसी शङ्का पैदा भएपछि मध्यमार्गी नेताहरुले अनौपचारिक संवाद गरी वामदेव चुनाव नलड्ने औपचारिक निर्णय गरेको हो। 

मान्नधरको राजीनामाको चर्चाले सबैभन्दा बढी शशंकित भने शितल निवास रहेको थियो। स्रोतका अनुसार नेकपाकी पूर्व उपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले यहि बीचमा निकै सक्रियता देखाएकी थिइन। नेकपाकी विभिन्न तहका नेताहरुसँग मात्र नभइ समाजका विभिन्न पक्षसँग पनि राष्ट्रपतिले भेट गरि वामदेव गौतम सांसद बन्न चाहेको र मान्नधरले राजीनामा दिन खोजेको विषयमा शितल निवासमा छलफल गरेकी थिइन। 

राष्ट्रपतिले गरेको विभिन्न भेटहरुमा उनले गौतमले किन अस्थिरता निम्त्याउन खोजेको भन्दै प्रश्न समेत गरेकी थिइन। गौतमको अनावश्यक महत्वाकांक्षाले पार्टी र देशमा समेत स्थिरता निम्त्याउन सक्नेतर्फ संकेत राष्ट्रपतिको थियो। 

आफ्नो मात्र चाहनामा भन्दा पनि गौतम शक्ति केन्द्रहरुबाट प्रभावित भइ उपनिर्वाचनबाट संसद प्रवेश गर्न खोजेको निष्कर्ष निकालेको शितल निवासले उनलाई कुनै पनि हालतमा रोक्ने प्रयास अन्तर्गत विभिन्न भेटघाट गरेको थियो। ति भेटहरुमा राष्ट्रपतिको प्रष्ट संकेत उपनिर्वाचन हुनुहुँदैन भन्ने थियो वैठकमा सहभागी एकले हाम्राकुरालाई भने।

वीपी कोइरालाको दुई तिहाईको सरकारको पालादेखि नै नेपालमा कुनै पनि सरकारले आफ्नो कार्यकाल पुरा गर्न नपाएको र राजनीतिक अस्थिरताले विकास हुन नसकेको उल्लेख गरेकी राष्ट्रपतिले स्थिरताको लागि पनि गौतमले महत्वाकांक्षा राख्न नहुने बताएको स्रोतको दावी छ। पटकपटक पार्टीको अस्थिरताको कारक गौतम भएको प्रसङग समेत शितल निवासमा चर्चा भएको थियो।

दशै अगाडी शितल निवासमा भएका विभिन्न राजनीतिक भेटघाट र राष्ट्रपतिको स्पष्ट धारणा पछि नेकपाले दशै अघीदेखि शुरु गरेको वैठकको निष्कर्ष दशै लगत्तै कार्तिक ४ गतेको वैठकमार्फत प्रकट भयो। शितल निवास शशंकित भएको अवस्थामा वामदेवको सांसद बन्ने च्याप्टर उनकै सहभागितामा भएको वैठकले क्लोज गर्‍यो। 

यहि बीचमा मानन्धरले राजीनामा दिने विषयले पार्टीभित्र र बाहिर व्यापक टीकाटिप्पणी हुनाका साथै निर्वाचित भएको एक वर्षमै सांसदलाई राजीनामा गराई बाहिरको नेतालाई उपनिर्वाचनको उम्मेदवार बनाएमा पार्टी पराजित हुन सक्ने खतरा ‌‌औंल्याइएको थियो। यो वहसमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष की शर्मा ओली र उनको पक्षले समेत मलजल गरेको थियो। यहि पृष्ठभुमिमा वामदेवको पुन सांसद हुने चाहनामा पूर्ण विराम लागेको हो। 

सार्वजनिक रुपमा अनेक टीकाटिप्पणीका भएसँगै पार्टी नेतृत्वले पार्टीका उम्मेदवारले हार्ने गरी उपनिर्वाचन नगर्ने जनाए थियो। आफ्नो अनुकुल माहौल नभएपछि गौतमले समेत मानन्धरले आफूप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै आफू उपनिर्वाचन लड्न अनिच्छुक रहेको सार्वजनिक प्रतिक्रिया दिएका थिए।

सतहमा जे सुकै भएपनि पृष्ठभुमिका राजनीतिक गृहकार्यमा गौतम असफल देखिएका छन्। अर्थात उनलाई फेरि घाइते बनाइएको छ। राजनीतिक रुपमा उनलाई तौलिएर फालिएको छ।  तर उनले यव राजनीतिक असफलतालाई कुन हिसावले लिन्छन त्यो भने उनका गतिविधीले देखिने नै छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ