arrow

चीन र भारतले लिँदैछन् अमेरिकी प्रतिबन्धको परीक्षा 

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
iran.png

काठमाडौं । अबको केही दिनमा अमेरिकाको इरानमाथिको प्रतिबन्ध सुरु हुनेछ । गत मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । साथै उनले यो प्रतिबन्धमा साथ दिन विश्वका सबै मुलुकहरुलाई आग्रह गरेका थिए । इरानको तेल निर्यात शून्यमा झार्ने योजना अमेरिकाको छ ।

अब प्रतिबन्ध कार्यान्वयन हुन केही दिनमात्र बाँकी रहेको अवस्थामा इरानका ५ ठुला ग्राहकमध्ये ३ वटा उसको पक्षमा देखिएका छन् –चीन, भारत र टर्की । उनीहरुले इरानको तेल खरिद गर्न छाड्ने हो भने बाँकी तेल उत्पादकहरुले माग धान्न नसक्ने बताउँदै आएका छन् । इरानमाथिको प्रतिबन्ध अमेरिकाको प्रशासनमाथि केही दबाबको सिर्जना गर्नेछ । इरानको प्रतिबन्ध सफल पार्नका लागि अमेरिकाले केही कडा नियमहरु ल्याउनसक्ने बताइएको छ । 

विश्व बजारमा तेलको मूल्यमा वृद्धि हुनसक्ने भन्दै अमेरिकामा चिन्ता सुरु भएको छ । अमेरिकाले यसका लागि ओपेकका मुलुकहरुसँग उत्पादन बढाउनका लागि आग्रह गरेको थियो । ओपेकले अमेरिकाको आग्रह अस्वीकार गरेको थियो । यस महिनामा तेलको मूल्य प्रतिब्यारेल ८७ डलरमा पुगेको थियो । 

यद्यपि सोमबारको बजारमा यो नतिजा ७७ डलर प्रतिब्यारेलमा आइपुगेको हो । यस्तोमा अमेरिकाले इरानबाट तेल किन्ने मुलुकहरुमाथि सीमित प्रतिबन्ध मात्र लगाउनसक्ने अमेरिकी विभागसँग नजिक रहेको स्रोतले बताएको छ । आगामी वर्ष रुस र साउदीको तेलको उत्पादन बढेसँगै इरानको तेल निर्यातलाई शून्यमा झार्ने योजनामा अमेरिका रहेको देखिएको छ । 

यस विषयमा अमेरिकाको आधिकारिक विभागले कुनै जानकारी दिएको छैन । यद्यपि अमेरिका अहिले इरानका तेल खरिद गर्ने मुलुकहरुमाथि प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको अधिकारीहरुले बताएका छन् । पहिलो चरणमा अमेरिका इरानले निर्यात गर्ने तेल २० प्रतिशतसम्म घटाउने दिशामा अघि बढिहरहेको छ । अमेरिकाको वाणिज्य मन्त्रालयको टोलीले ट्रम्पको यस्तो भनाइ आएसँगै विश्वका विभिन्न मुलुकहरुको भ्रमण गरिसकेको छ । भ्रमणको क्रममा उनीहरुले इरानसँगको व्यापारले मुलुक तथा कम्पनीलाई गाह्रो हुनसक्ने चेतावनी दिँदै आएका छन्। 

अमेरिकी सहयोगी मुलुकहरु जापान र दक्षिण कोरियाले इरानबाट आउने तेलमा प्रतिबन्धको निर्णय गरिसकेका छन् । यद्यपि उनीहरुभन्दा पनि ठुला खरिदकर्ताहरुको विषयमा भने चासो दिनुपर्ने अवस्था देखिएको छ । केही समयअघि इरानका प्रतिनिधिले भारतको भ्रमण गरेका थिए । इरानको लागि भारत दोस्रो सबैभन्दा ठुलो तेल खरिदकर्ता मुलुक हो । पछिल्लो समय अमेरिकी मुद्रा बलियो रहेको र खर्चको हिसाबमा पनि इरानबाट आयात हुने तेल शून्यमा झार्नु असम्भव रहेको भन्दै भारतले कम्तीमा मार्चसम्म इरानको तेल खरिद गर्ने निर्णय गरेको छ । भारतले विकल्पहरु सस्तो नहुँदासम्म इरानका तेल खरिद जारी राख्ने बताएको छ । 

अमेरिकी कूटनीतिज्ञका अनुसार आगामी दिनमा भारत तथा अन्य मुलुकहरुमाथि पनि केहीमात्रामा  प्रतिबन्ध लाग्न सक्छ । अहिले भारतले प्रतिदिन पाँच लाख ब्यारेल प्रतिदिनको दरले तेल आयात गर्दै आएको छ । यस्तोमा टर्कीको वषयमा पनि अहिले चर्चा चलिरहेको छ । टर्की इरानको तेल खरिदमा चौथो ठुलो मुलुक हो । 

टर्कीले लगाताररुपमा अमेरिकाको यो प्रतिबन्धको विरोध गर्दै आएको छ । टर्कीले भने अहिले नै इरानसँगको तेल आयात आधा भएको अवस्थामा आगामी दिनमा शून्यमा झार्न सकिने बताएको छ तर त्यसका लागि सहज किसिमको विकल्प हुनुपर्ने पनि उसले बताएको छ । साथै टर्कीले अमेरिकाले लगाउने प्रतिबन्ध बढीमा तीन महिनासम्मको रहने बताएको छ । 

यो प्रतिबन्धको कुरा चीनमा गएर अड्किएको छ । चीन इरानको सबैभन्दा ठुलो तेल आयातकर्ता मुलुक हो । चीनले इरानबाट ५ देखि ८ लाख ब्यारेल प्रतिदिनको दरले आयात गर्दै आइरहेको छ । चीनले इरानबाट आउने तेलको आयात नरोकिने स्पष्ट जानकारी गराइसकेको छ । अमेरिकी विश्लेषकहरु अहिलेको अवस्थामा अमरिकाले चीनले इरानबाट तेल खरिद गरिरहेको सहन नसक्ने र चीनले इरानको तेल आयात शून्यमा झार्न पनि नसक्ने अवस्था आएको बताएका छन् । यस्तोमा सोमबारदेखि अमेरिकी प्रतिनिधिको एसिया भ्रमण सुरु हुनेछ । यो भ्रमणमा यस विषयमा कुराकानी हुनसक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ