उपराष्ट्रपति पुनद्वारा पार्टी जिम्मेवारीबाट राजीनामा

प्रकाशित मिति : २०७२ कार्तिक १५ आइतबार
काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले एकीकृत नेकपा(माओवादी)को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

पुनले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी एमाओवादीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । साथै उनले संविधानले दिएको भूमिकाभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

मुलुकको ऐतिहासिक परिवर्तनका लागि एमाओवादीमा रहेर काम गर्दै आएको उल्लेख गर्दै उनले आइतबारको मितिदेखि लागू हुने गरी सबै पदबाट राजीनामा दिएको जानकारी गराएका छन्। 

संविधानसभाबाट नेपालको ऐतिहासिक संविधान जारी भई नयाँ नव नेपाल निर्माण प्रारम्भ भएको स्मरण गर्दै उपराष्ट्रपति पुनले विज्ञप्तिमा संविधानले सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्वलाई संस्थागत गरेको उल्लेख गरेका छन् ।

शोषित, पीडित तथा उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, जाति सबैको राज्यमा समावेशी, समानुपातिक अधिकार सुनिश्चितताको प्रारम्भिक सुरुवात भएकामा नवनिर्वाचित उपराष्ट्रपति पुनले खुसी व्यक्त गरेका छन् ।

उनले आफूलाई उपराष्ट्रपतिमा निर्वाचित गराउने एमाओवादी, संसद्मा रहेका प्रमुख राजनीतिक दल र नेपाली जनतामा धन्यवाद पनि व्यक्त गरेका छन् ।
नयाँ