arrow

लक्ष्मीपूजाको दिन गाई पूजा किन ?  

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
cow-worship.jpg

काठमाडौं। यमपञ्चकको तेस्रो दिन आज घरघरमा लक्ष्मीको प्रतीकका रुपमा गाईको पूजा गरिँदैछ। आज गाईलाई मीठा खानेकुरा दिने माला र विभिन्न रंगका टीका लगाइदिने गरिन्छ । हिन्दूहरु गाईलाई गौमाता भन्छन् । आमाको दूधपछि पौष्टिक रुपमा पनि गाईको दूध ख्वाउने गरिन्छ । गाईको गहुँतदेखि गोबर र अंगसमेत मानव जीवनका लागि उपयोगी छ । 

पहिलेपहिले धनी र गरीबवीचको तुलना गोठघरमा गाई गोरुको संख्याको आधारमा हुनेगथ्र्यो । जसका धेरै गोधन(गाईगोरु) छन् ऊ नै समाजको धनी मान्छे दरिन्थ्यो । राजामहाराजका हात्ती घोडा हुन्थे, आम नागरिकका गाईबस्तु । गाईगोठका कारण मान्छेको रोजगारी समेत सिर्जना हुन्थ्यो जुन् समृद्धिको आधार थियो । आर्थिक उपार्जनको माध्यम । 

इन्द्रीयदेखि शरीर र संस्कारजन्य काममा शुद्ध बन्नका लागि गहुँत प्रयोग, अन्नबाली र अहितकर कीटाणु नष्ट गर्नका लागि गोबर, पौष्टिक आहारका लागि दूध र आर्थिक उपार्जनका लागि समेत गाईको उपभोग गर्न सकिने भएका कारण गाइलाई धनको श्रोतको रुपमा लिइन्छ । गाईलाई पशुधनको रुपमा पनि लिइन्छ । गाईको दूध र दूधबाट बनेका परिकारहरु मानिसका लागि अति नै उपयोगी मानिन्छ। लक्ष्मीलाई पनि धनधान्यकी देवीका रुपमा पुज्ने गरिन्छ । लक्ष्मी र गाई दुुबैले मान्छेको समृद्धिमा एकै किसिमले सहयोग गर्ने भएका कारण गाईलाई लक्ष्मीको प्र्रतिकका रुपमा लिने गरिएको धर्मसंस्कृतिविद् प्रा.डा. माधब भट्टराईको जिकिर छ । 

रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिने दिन : 
रक्षा बन्धन-जनै पूर्णमाको दिन तागाधारीले नाडीमा बाँधेको रक्षाबन्धन आजकै दिन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपछि बैतरणी नदी गाईले पार गराइदिने जनविश्वास छ । 
 
कामना समृद्धि, उपाय अनेक
लक्ष्मीपुजाको दिन मुलुकभरका लक्ष्मी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । उपत्यकाका शक्तिपीठमध्येको एक, ललितपुर महालक्ष्मीस्थानको महालक्ष्मीस्थानमा बिहान तीन बजेदेखि नै भक्तजनको भीड लागेको छ । बिहानदेखि साँझ सम्म यो मन्दिरमा भक्तजनको घुइँचो घट्दैन । महालक्ष्मी मन्दिरमा साँझपख अझ दशनार्थीको भीड बढ्ने गर्छ । बिहान ८ बजेतिर मन्दिर दर्शन गरेर फर्किँदै गरेकी चापागाउँकी बसन्ती लुइँटेलले दर्शनका लागि दुईघण्टा लाइन् बसेको बताइन् । 

सुख समृद्धिको कामना गर्दै महालक्ष्मी मन्दिरमा भक्तजनको चाप बढ्ने दिन, लाखौंको कारोबार पनि हुने गर्छ । मन्दिरको प्रवेशद्वार र सडकपेटीमा फुलमालादेखि लक्ष्मीलाई चढाउने पूजा सामग्री बेच्नेको लर्को उस्तै हुन्छ । मौकामा चौका हान्ने व्यापारीले  फूलका केही थुंगा, दियो र केराको एउटा कोशो राखिएको टपरीको सय रुपैयाँ लिने गरेका छन्। लक्ष्मीलाई मनपर्ने फूल भन्दै कमलको एउटै कोपिलाको सय रुपैयाँमा बिक्री गरेका पनि छन्। महालक्ष्मी मन्दिर परिसरमा बिक्रीका लागि राखिएका महंगा पूजा सामग्री 

नेत्रहीन संघको सांस्कृतिक कार्यक्रमः 
महालक्ष्मी मन्दिरमा हुने दर्शनार्थीको घुइँचो लाग्ने मौका पारेर साह्रखुट्टेस्थित नेत्रहीन संघको सांस्कृतिक टोली एका बिहानै महालक्ष्मीस्थानमा सांगीतिक सेट सहित १३ जना कलाकारको टोली उतारेर सांगीतिक कार्यक्रम गरेको छ। परिसरको एउटा छेउमा नेत्र बहादुर राई मीठो स्वरमा गीत गाउँदैछन्। बाँकी बाजागाजा टोली उनलाई साथ दिइरहेको छ। थुप्रै दर्शनार्थी उनको स्वरमा लट्ठ छन्। यो टोलीले राखेको नाङ्लो पाँचदेखि सय रुपैयाँसम्मका नोटले भरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ