arrow

बंगलादेशमा गोरु तस्करी 

logo
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
attack3.jpg

दाङ । पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर देशबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ । यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस्रो मुलुक बंगलादेश लैजाने गरेकोमा अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको छ । पछिल्लो समय दाङको देउखुरीमा अप्रत्याशित रुपले गोरुको कारोबार बढेको छ ।

गाउँबाट गोरु खरिद गर्ने, एक ठाउँमा जम्मा पार्ने र ट्रकमा लोड गरेर अन्यत्र लैजाने क्रम बढेको छ । खेत जोत्न खरिदबिक्री गर्ने कागज बनाएर मासुका लागि तेस्रो मुलुकमा गोरु पुर्याउने गरिएको छ । प्रहरी, प्रशासनसँगको सेटिङमा दाङ, बाँके, बर्दियाबाट बढी मात्रामा गोरु तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।

यसैबीच गोरु तस्करीको विषयमा दाङमा झडप भएको छ । राजपुर गाउँपालिका–४ वसन्तापुरमा गोरु ओसारपसारमा संलग्न व्यक्ति र स्थानीयबीच विवाद भएको हो । गोरु ओसारपसारमा संलग्न व्यक्तिले लमहीमा रहेका गोरु कारोबारका प्रमुखलाई विवादबारे जानकारी गराएका थिए । 

त्यसपछि ९ वटा मोटरसाइकलमा २७ जना युवा घटनास्थल पुगेका थिए । उनीहरु गाउँमा पुगेपछि स्थानीय युवासँग झडप भएको थियो । झडपमा स्थानीयले सबैलाई लखेटेको र तस्करका सहयोगीका मोटरसाइकल जलाइदिएको स्थानीयले बताएका छन् ।

प्रहरीले दुईवटा मोटरसाइकल भने सकुशल फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान गर्न डीएसपी रामप्रसाद घर्तीलाई जिम्मेवारी दिएको छ । डीएसपी घर्तीले घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही गर्ने बताए । 

मोटरसाइकलमा सवार लमही नगरपालिका–५ लमही निवासी अर्जुन गुप्तालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ । पूर्ववडा अध्यक्ष रामकुवेर यादवले मोटरसाइकलमा जथ्थाले स्थानीय युवामाथि आक्रमण गरेपछि गाउँ नै उल्टेर उनीहरुलाई लखेटेको बताए । मोटरसाइकलमा जथ्थाले सादा पोसाकमा रहेका प्रहरीलाई समेत आक्रमण गरेको उनले जानकारी दिए । (समाचारपत्रबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ