arrow

के ५ राज्यको चुनावबाट मोदी सरकारको भविष्यवाणी गर्न सकिन्छ ? 

logo
चिरञ्जीवी आचार्य,
प्रकाशित २०७५ मंसिर २६ बुधबार
narendra-modi.jpg

काठमाडौं । भारतको विभिन्न ५ राज्यमा भर्खरै निर्वाचन सकिएको छ । त्यसले अबको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको भविष्यको विषयमा पनि टीकाटीप्पणी गर्न थालिएको छ । आगामी मे महिनामा भारतमा लोकसभाको निर्वाचन हुँदैन । यस्तोमा केहीले भर्खरै विभिन्न पाँच राज्यमा भएको निर्वाचनलाई सेमिफाइनलको संज्ञा पनि दिएका छन् । 

यद्यपि अझै पनि निर्वाचनको लागि प्रशस्त समय बाँकी छ । यस्तोमा निर्वाचनको लागि अहिले गरिएको भविष्यवाणीले भने काम नगर्न पनि सक्छ । मोदीको आगामी निर्वाचनमा जित हासिल गर्ने केही राम्रा र नराम्रा पक्षहरु पनि रहेका छन् । 

राम्रा पक्षहरु – 
१. आर्थिक सुधार 
मोदीको सरकार आएपछि भारतको आर्थिक क्षेत्रमा महत्वपूर्ण सुधार आएको देखिन्छ । यसअघिको सरकारको तुलनामा भारतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा मोदी सरकार आएपछि उल्लेख्य सुधार आएको छ । यसको कारण पनि मोदी सरकारको भारतमा प्रशंसा हुने गरेको छ । जीडीपीको सुधारको विषयमा विपक्षीहरुले पनि मोदी सरकारको प्रशंसा गर्ने गरेका छन् । 
त्यसका साथै कालोधनको विरुद्धमा उनले चालेको कदमले पनि उनलाई आगामी निर्वाचनमा फाइदा हुनसक्ने देखिन्छ । 

किङफिसरका प्रमुख विजय माल्यालाई सुपुर्दगी गर्न बेलायतलाई काटेको पत्रमा सकारात्मक जवाफ आउनु मोदीको लागि महत्वपूर्ण जित रहेको बताएइको छ । साथै पीएनबी बैंक घोटालाका नीरव मोदीलाई पनि भारत झिकाउने प्रयत्नमा मोदी सरकार रहेको छ । त्यसका साथै अन्य ठुला घोटालाहरुका दोषीलाई कारबाहीको तयारीमा मोदी सरकार देखिन्छ । यो योजनामा आशा गरिएअनुसारको सफलता मिल्दै गए, त्यो आगामी निर्वाचनको लागि महत्वपूर्ण आधार पनि बन्न सक्छ । 

२. कूटनीति 
भारतको लागि मोदी सरकारभन्दा अघिल्लो सरकारमा पछि परेको विषय कूटनीतिक सम्बन्ध हो । मोदी प्रधानमन्त्री भएपछि भने यो क्षेत्रमा उल्लेख्य आएको देखिन्छ । भारतले यो अवधिमा विश्वका फरक फरक धारका मुलुकहरुसँग सन्तुलित सम्बन्ध कायम राख्न सफल भएको देखिन्छ । भारतले रुससँग मिसाइल खरिद गर्ने र इरानबाट तेल खरिद गर्ने विषयमा अमेरिकालाई पनि राजी गराएको थियो । 

यसलाई मोदी सरकारको सफल कूटनीति मान्न सकिन्छ । डोकलाम मुद्दालाई पनि सहजरुपमा पार लगाउनु यो सरकारको अर्को उपलब्धि रहेको भन्दै मोदी सरकारको प्रशंसा हुने गरेको छ । 

त्यसका साथै दक्षिण एसियाली साना मुलुकहरुमा पनि पटकपटक भ्रमणमा गएर सम्बन्ध सुधारको प्रयास गर्नुलाई पनि मोदीको सफल कूटनीति मान्न सकिन्छ । श्रीलंकामा चीनको प्रभाव घटाउन सफल हुनु र माल्दिभ्समा आफ्नो चाहनाको सरकार ल्याउनुले कूटनीतिमा मोदीलाई सफल भएको मान्न सकिन्छ । नेपालमा पनि ओली सरकार आएपछि भारतसँगको सम्बन्ध बिग्रने अनुमान गरिएको अवस्थामा चार पटकसम्म भ्रमण गरी आफ्नो प्रभाव बढाउने प्रयास भारतले गरेको छ ।  

३. विकासका योजना 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विकासका योजनाहरुको पनि निकै प्रशंसा हुने गरेको छ । उनले ल्याएका योजनाहरुको प्रभाव अहिले देखिन थालेको छ । मोदीको सरसफाइको योजनामा सामाजिक सञ्जाल फेसबुकको पनि साथ मिलेको थियो भने सडक, रेलमार्गदेखि जलमार्गसम्मका योजनामा मोदीलाई सफलता मिलेको छ । केही समयअघि मात्र पनि मोदीले कोलकाता बन्दरगाहबाट बनारस आएको पानी जहाजको सुरुवात गरेका थिए । यसले पनि मोदीको विकासको योजनाहरु सफल हुने क्रममा रहेको देखाउँछ । 
नराम्रा पक्षहरु 

१. बेरोजगारी 
भारतमा बढ्दो बेरोजगारी हटाउनु नसक्नु मोदी सरकारको कमजोरीको रुपमा रहेको मान्न सकिन्छ । विपक्षी कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले आफ्नो भाषणमा बेरोजगारीलाई जाड्ने गरेका छन् । यसबाट पनि मोदी सरकारको अहिलेको कामले सर्वसाधारणहरुमा भने कुनै राहत नपुगेको विपक्षीको आरोप छ । 

केही समयअघि मात्र पनि भारतको सरकारले यो समस्या समाधानको लागि भन्दै केही महत्वपूर्ण रोजगारीको योजना ल्याएको थियो तर त्यसले पनि भारतको रोजगारी आशा गरिएअनुसारको सुधार भने आउन नसक्ने आलोचकहरुले बताउँदै आएका छन् । 

२. अलोकप्रिय निर्णय 
मोदी सरकारले ल्याएको नोटबन्दी तथा जीएसटीका योजनाहरुको पनि भारतमा व्यापक विरोध भएको थियो । नोटबन्दीले सबै नागरिकहरुलाई चरम सास्ती पुगेको थियो भने यो योजनाबाट भारतको सरकारले आशा गरिएअनुसारको नतिजा भने हासिल हुन सकेको थिएन । त्यसका साथै जीएसटीको योजना पनि सरकारले राम्रै योजनाका साथमा सुरु गरेको भए पनि विपन्न वर्गका मानिसहरु प्रभावित भएको भन्दै त्यसको व्यापक विरोध भएको थियो । पछि सरकारले यसमा केही सुधार भने गरेको थियो ।

अर्को महत्वपूर्ण विषय केन्द्रीय बैंकमाथिको हस्तक्षेप हो । पछिल्लो समय सुस्ताएको आर्थिक क्षेत्रलाई माथि उठाउन मोदी सरकारले केन्द्रीय बैंकलाई आफ्नो नीतिमा बाध्य पार्ने कदम अघि सारेको थियो । यसले पनि यो सरकारप्रति मानिसहरुमा नकारात्मक छाप पर्न गएको छ । यसै विषयमा केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले राजीनामा दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ