arrow

खस्केकै हो त ए डिभिजन लिग फुटबल ?

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
adivisionleaguefootball.jpg

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता काठमाडौं उपत्यकामा दुई मैदान सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा चलिरहेको छ । चार वर्षको अन्तरालपछि अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग गराए पनि दोहोरो लिग प्रणालीमा खेल गराउन नसक्दा एकोहोरोमै टिमहरुले चित्त बुझाउँदै छन् । 


‘नहुनुभन्दा कानो मामा निको’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्ने हो भने यो लिग चार वर्षपछि भइरहँदा ठीक भइरहेको छ । लय ल्याएको छ । गज्जब भएको छ । तर प्रतिस्पर्धा र उपलब्धीको हिसाबले भने सम्पन्न आठौं चरणका खेलसम्म मज्जा कमै भइरहेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । खेलाडीहरुमा त्यतिधेरै जोश पाइँदैन । 


त्यतिमात्र होइन १५–१६ हजार दर्शकले दशरथ रंगशालामा बसेर १२ औं खेलाडीको रुपमा चिच्याउँदा मैदानमा रहेका खेलाडीलाई आउने जोश अहिले देखिँदैन । भूकम्पले रंगशाला भताभुङ्ग भएपछि पुनःनिर्माण ढिला गरी थालिँदा फुटबलको चार्म हरायो । एन्फा कम्प्लेक्सको मैदानमा मुस्किलले २५ सय र सशस्त्र मुख्यालयको मैदानमा मुस्किलले चार सयको संख्यामा दर्शक पुग्ने गरेका छन् । दर्शकको हुटिङ नसुनिँदा पनि खेलाडीहरु बन्द प्रशिक्षणमा जस्तो गरी प्रतिस्पर्धा गरिरहेको जस्तो देखिन्छ । 


एकोहोरो प्रणालीमा खेलाइने भएपछि क्लबहरुले एकपटक गल्ती भएपछि सुधार्ने मौका पनि पाउँदैनन् । प्रतिद्धन्द्धी क्लबको हैसियतसमेत मापन गर्न नसक्दा उनीहरुले के गर्ने र कसरी रणनीति बनाउने भन्ने सोच्न सक्दैनन् । 

त्यस्तै विभागीय बाहेक हरेक क्लबमा विदेशी खेलाडीसमेत समेटिएका छन् । तर त्यसले थप रौनक भने ल्याउन सकेको छैन । दक्षिण एसियाका खेलाडी समेट्न सकेको भए दक्षिण एसियाली राष्ट्रले समेत लिगलाई विशेष चासो दिने थिए । उनै अफ्रिकी खेलाडीहरुको बिगबिगी रहँदा कुनै आकर्षण पाउन सकिँदैन । 


तालिका लेखाजोखा
अंक तालिकाको लेखाजोखा गर्ने हो भने उपाधिको दावेदारी साँघुरिँदै गएको छ । उपाधि लगभग शीर्ष स्थानमा कायम रहेको एकमात्र अपराजित टिम मनाङ मस्र्याङ्दी क्लबले जित्ने पक्काजस्तै भएको छ । दोस्रो स्थानको थ्रीस्टार क्लब र तेस्रो स्थानको संकटा क्लबभन्दा स्पष्ट तीन अंकको अग्रता संगसंगै बलिया प्रतिद्धन्द्धीहरु थ्रीस्टार क्लब र त्रिभुबन आर्मी क्लबलाई पराजित गरिसकेकाले मनाङ बलियो भइसकेको छ । आठौं चरणको समाप्तिसम्म मनाङको २४ अंक छ । सत्प्रतिशत खेलेको मनाङले गोल अन्तर पनि ११ बनाएको छ । 

दोस्रो स्थानको थ्रीस्टारको २१ अंक छ । एक खेल हारेको थ्रीस्टारको गोल अन्तर १२ छ । तेस्रो स्थानको संकटाले एक खेलमा हार बेहोरेको छ । उसको २१ अंक छ भने गोल अन्तर केबल ६ मात्र छ । 

आठ खेलबाट १७ अंकमा रहेको आर्मी उपाधि होडबाट लगभग बाहिरिएको छ । सातौं खेलसम्म अपराजित रहेको आर्मीले एक हार र दुई बराबरी खेल्दा उपाधि होड टाढिएको हो । पाँचौं स्थानको नेपाल पुलिस क्लबको १४ अंक छ । पुलिसले दुई हार र दुई बराबरी खेल्यो । 

आठौं चरणसम्म च्यासल युथ क्लब छैटौं स्थानमा पुग्न सफल भएको छ । १३ अकबाट च्यासल छैटौं स्थानमा पुगेको हो । राष्ट्रिय टिमका खेलाडी बिमल घर्ती मगर नखेलेपछि च्यासलको सन्तुलन केही बिग्रिएको छ । तर च्यासलले गति पकड्न सक्ने देखिन्छ । 

सुरुवात राम्रो भए पनि तीन खेलमा हार र दुई खेलमा बराबरी गरेको हिमालयन शेर्पा क्लब ११ अंकसहित सातौं स्थानमा झरेको छ । गोल अन्तरसमेत शून्य भएको अवस्थामा हिमालयन शेर्पाले चौथो र पाँचौं स्थानकै लागि प्रतिस्पर्धा गर्ने देखिन्छ । 


सशस्त्र प्रहरीको एपिएफको हालत झन् कमजोर देखिएको छ । ८ खेलबाट एपिएफको १० अंक छ । केही सुधारिएको सरस्वती युथ क्लबको ९ अंक छ । तर गोल अन्तर माइनसमा पुग्दा उसले खेलमा क्षमता देखाउन सकेको छैन भन्ने स्पष्टै छ । 

दशौं स्थानको जावलाखेल युथ क्लबको ७ अंक छ । उसको गोल अन्तर माइनस ५ मा छ । त्यस्तै ११ औं स्थानको फ्रेन्ड्स क्लबको ५ अंक हुँदा गोल अन्तर माइनस ९ छ । ब्रिगेड ब्वाइजको ४ अंक तथा मच्छिन्द्र क्लबको ३ अंक छ । 

यसपटक सबैभन्दा कमजोर चार पटकको लिग च्याम्पियन न्यूरोड टिम एनआरटी देखिएको छ । आठौं चरणको समाप्तिसम्म मात्र १ अंक बटुलेको एनआरटीको कुनै पनि कोणबाट खेल सुधारिने अपेक्षा गर्न सकिएको छैन । ८ खेलमा ७ हार र १ खेलमा बराबरी गरेको एनआरटीको गोल अन्तर पनि राम्रो छैन । एनआरटीको गोल अन्तर माइनस १४ छ । अर्थात् यदि रेलिगेशन रहेको भए सम्भवतः एनआरटी बी डिभिजनमा झर्ने थियो होला । 

फेयर प्ले
तुलनात्मक रुपमा यो लिग फेयर प्लेकै रुपमा खेलिएको भन्दा फरक नपर्ला । यसअघिका लिगहरुमा धेरै नै रातो कार्ड देखाइन्थे । यसपटक कम देखाइएका छन् । तर रेफ्रीको निर्णय विवादित हुँदै आएको छ । 

एनआरटीले त पहिलो चरणको खेलपछि नै लिग नखेल्ने भनी असमझदारी पैदा गरेको थियो । त्यो रेफ्रीको गलत निर्णयकै नतिजा थियो । तर लिग निर्देशक संजीव मिश्र भने तुलनात्मक रुपमा यसपटक लिग निकै सौहार्द तरिकाले भइरहेको बताउँछन् । 

प्रतिस्पर्धामा फेयर प्ले हुन सक्यो भने त्यसले फुटबलको जित हुने थियो । केवल क्लबले तीन अंक बटुल्नु वा बलियो क्लबलाई बराबरीमा रोक्नु ठूलोकुरा अवश्य हैन । लिगमा खेल कौशल पनि अवश्य हुनैपर्छ । कम दर्शकसंग रहेर खेल्दा खेलाडीले माइलेज नपाउन सक्छन् । 

फुटबलका गतिविधि कम हुनाले गर्दा नै सबै क्लबहरु उस्तै दर्जाका हुनुपर्ने हो । तर त्यस्तो देखिएको छैन । पुरानो साखमा फर्किन मच्छिन्द्र र एनआरटीले सकेका छैनन् । के खस्केकै हो त लिगको प्रदर्शन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ