arrow

कांग्रेस महासमितिमा हिन्दुत्व र धार्मिक स्वतन्त्रताको चर्चा

logo
प्रियरंजन दाहाल,
प्रकाशित २०७५ पुष २ सोमबार
congress-mahasamiti2.jpg

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक चल्दैछ । बैठकमा धार्मिक स्वतन्त्रता वा धर्म निरपेक्षता भन्ने बिषय उठ्ने चर्चा सुनिन्छ । कतिपय नेताहरु हस्ताक्षर संकलनमा लागेको भन्ने समाचार पनि आएको छ ।  यी बिषयहरुले कसरी प्रवेश पाउने हुन् त्यो धेरै प्रतीक्षा गर्नु पर्ने नहोला तर पछिल्लो समयमा  जुन ढंगले नेपालमा साम्प्रदायिक बिग्रह ल्याउन खोजिएको छ त्यसले नेपालमा हिन्दुत्वको नारा चर्कोरुपमा उठ्ने निश्चित छ । बिदेशीको बढ्दो प्रभाव र दबाबले शासकहरु जसरी निरिह देखिदै गएकाछन् । त्यसले आम जनतालाई  आफ्नो संस्कार ,परम्परा बचाउन रक्षात्मक बनाउदै लगेको छ ।

समयमै पार्टीहरु र राज्यले सम्बोधन नगर्ने हो भने नागरिक स्तरबाट प्रतिकार हुने अवस्था आइपुग्यो भने यसले रक्तपात निम्त्याउने खतरा देखिन्छ । मध्ययुगमा रोमन शासकहरुको पराजयसंगै जब युरोपमा चर्चहरुले शासनलाई नियन्त्रणमा लिए त्यो  युगलाई अँध्यारो युग(Dark  Age ) भनिन्छ ।

मुस्लिम र क्रिस्चियन बिच शुरु भएको युद्ध र बैमनस्य निरन्तर रुपमा अहिलेसमा चलेको देखिन्छ । राज्यले कुनै पनि सम्प्रदाय बिशेषलाई मात्रै च्याप्ने कुरा प्रजातान्त्रिक पद्धतिमा स्वीकार्य हुने कुरा हैन । तर धर्मलाई सम्प्रदायको रुपमा हेरेर यसको गलत प्रयोग र व्याख्या गरिनु हुदैन । बाह्य शक्तिले  कुनै देशको संस्कृति ,परम्परा र पहिचानमाथि आक्रमण र हस्तक्षेप  गर्दै गर्दा राष्ट्रले आफुलाई निरिह देखाउनु हुदैन । राष्ट्रको पहिचानसंग जोडिएको बिषयमा सम्बोधन गर्ने र त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रको हो । कुनै सम्प्रदाय बिशेषको पक्ष वा विपक्षमा राष्ट्र उभिनु हुन्न तर त्यसको अर्थ राष्ट्रको गुण, स्वभाव नै मासेर राष्ट्र बनाउन सकिदैन।

इशा पुर्व ३००० बर्ष मै बिकसित संसारकै पुरानो  सभ्यता हो सिन्धु  सभ्यता । सिन्धुघाटीको त्यो पुरानो सभ्यता लिएर बिस्तारै हाम्रा पुर्खा नेपालसम्म आइपुगेका हुन्  । स को ठाउंमा ह उच्चारण हुँदा सिन्धु सभ्यता हिन्दु हुनपुग्यो । सप्ताहलाई हप्ता भन्ने , यज्ञ लाइ जग्य वा तराइमा यादवहरु जादब आमरूपमै प्रयोग गरिन्छ । यस अर्थमा हिन्दुत्व हाम्रो पहिचान हो । यसलाई मुस्लिम ,क्रिस्चियन,बैष्णब  सम्प्रदायसंग दाँज्न मिल्दैन । सभ्यतासंग साहित्य ,कला ,संगीत ,संस्कृति लगायत थुप्रै कुरा जोडिएका हुन्छन । नागरिकलाइ बाध्ने भनेकै समान भाषा ,धर्म  संकृतिले हो । जब देश ,परिवार संस्कार बिहिन हुन्छ स्वाभाविक रुपमा त्यो घर ,समाज ,देश अनावश्यक झमेलामा पर्छ । एक आपसको सम्मान सकिएपछि ,प्रेम र आत्मियताहरु हराएपछि कुनै पनि समाज र राष्ट्र प्रगतिपथमा पुग्दैन । आज नेपालमा देखिएको समस्या भनेकै बिभिन्न व्यवस्थाको नाममा हाम्रो धर्म र संस्कृतिमाथिको चौतर्फी आक्रमण हो ।

जनता जो एउटै देश र शासनमा बसेर एकताबद्ध छन् । जसका बिचमा संस्कृति ,चालचलनहरु एउटै छन् , हो त्यो राष्ट्र हो भन्ने परिभाषा पाइन्छ । एक निश्चित भौगोलिक सिमा भित्र साझा चिनारी राखेर बस्ने समुहलाई राष्ट्र भनिन्छ । जसको धर्म ,परम्परागत नैतिक आचरणमा समान बिश्वास हुन्छ ।

धर्म संस्कृत शब्द हो । अंग्रेजी शब्द religion लाई धर्मको रुपमा बुझ्नु भन्दा सम्प्रदायको रुपमा बुझ्नु उपयुक्त हुन्छ । धर्म कुनै सम्प्रदायसंग सम्बन्धित छैन ।  ग्रन्थहरुमा धर्म शब्दलाई बिभिन्न अर्थमा प्रयोग गरिएको देखिन्छ । यसको शाब्दिक अर्थ जीवनमा जे धारण गर्न योग्य हुन्छ त्यसलाई धर्म भनिन्छ । आगोको धर्म पोल्नु हो , जुन दिन सुर्यले आफ्नो तेज, प्रकाश पृथ्वीमा फाल्न छोड्छ त्यो दिन सुर्यले आफ्नो धर्म छोडेको मान्छौ । बिज्ञान भन्छ कुनै पनि प्राणी सुर्यको प्रकाश बिना लामो समय बाच्न सम्भव छैन ।  नेपालको संविधान धर्म निरपेक्ष भन्छ । सुर्यको त्यो धर्मसंग देश निरपेक्ष रहन सक्छ ?

राजनीतिक कारणले कोरिएको रेखा मात्रैले राष्ट्र चिनाउदैन । राष्ट्र हुनका लागि त्यसलाई चिनाउने भाषा ,संस्कृति सहित धेरै कुरा हुनु पर्छ । जनसंख्या, भू-भाग, प्रभुसत्ता, सभ्यता, संस्कृति, भाषा, साहित्य, स्वाधीनता र स्वतंत्रता तथा राष्ट्रीय एकता आदि समस्त तत्त्व हुन् जसका कारण  जनता  आफ्ना राष्ट्रको  प्रति आस्थावान हुन्छ । मानवीयता राष्ट्रियताको आधार हो । राष्ट्रले एकत्वको भावना ल्याउनु पर्छ । पशुपतिले केवल हिन्दु मन्दिर चिनाउदैन । त्यो संग जोडिएको इतिहासले नेपाल चिनाउछ । सीताको जन्मभुमिसंग नेपालको संस्कृति ,परम्परा,पहिचान गासिएको हुन्छ ।जब राष्ट्रलाई समाप्त गर्नु पर्ने हुन्छ पहिलो आक्रमण त्यहाँको संस्कृतिमाथि हुन्छ । एउटा राष्ट्रभित्र शासन पद्धतिको  नाममा ,संस्कृतिको नाममा विभाजित गरिन्छ । एकातिर गौतम बुद्धको जन्मस्थान नेपाल भएकोमा हामि गर्व गर्छौ संगसंगै त्यो बुद्ध ज्ञानलाइ जीवन पद्धति बनाउन सक्दैनौ  । बुद्धको नाममा युद्ध गर्न तम्सिञ्छौ । हाम्रा गर्वहरु सीता,  राजर्षी  जनक ,बुद्ध, पशुपति र त्यो संग जोडिएको धर्म ,संस्कृति ,परम्परालाइ जिवन्त राख्न सके मात्रै नेपाल राष्ट्र रहने हो ।

नेपाललाई कमजोर बनाउन सबैतिरबाट यहाँको धर्म ,संस्कृतिमाथि हमला भयो आज प्रत्येक नागरिक विभाजित छन् । राजनीतिक दर्शनको नाममा ,धर्मको नाममा ,सम्प्रदायको नाममा ,जातिको नाममा ,पुरुष महिलाको नाममा ,युवा र बृद्धको नाममा । आमा  बुवालाई आफ्नो संसार मान्ने गणेशलाइ पहिलो पुजा गरिन्छ । कृष्ण भन्दा अगाडी राधा ,राम भन्दा अगाडि सीताको नाम सम्मान पुर्वक लिइन्छ । हाम्रो संस्कारले अग्रजको ,महिलाको सम्मान सिकाएको छ । गीता र उपनिषदको असिमित ज्ञानलाई जलाएर हामि धर्म निरपेक्ष लेख्छौ ।

सन् १५७२ मा  राजाको ताज लगाई सकेपछि राजा अकबरले महाराणा प्रतापलाई आफ्नो दरबारमा उपस्थित भए मात्रै पनि मेवाड़मा आक्रमण नगर्ने प्रस्ताव लग्दा समेत उनले त्यसलाई स्वीकार गरेनन । अकबरको ८० हजार सेनासँग उनको ३००० को सेनाले युद्ध गर्यो ।एकपटक एस्तो समय आयो मुगलहरु केवल महारणा प्रतापको मुख बाट यो देशको बादशाह मुगल हुन् मात्रै भने पुग्छ भन्थे तर महाराणाले त्यो कहिल्यै स्वीकार गरेनन । इतिहासमा यस्ता अनेक दृष्टान्तहरु छन् जसले राष्ट्रका लागि आफुलाई सजिलै समर्पित गरेको पाइन्छ ।

    भारतीयहरुको हस्तक्षेप भन्दा नेपाली भूमिमा मर्न तयार भएर बि पी कोइराला नेपाल फर्किएका थिए । जुन बेला बि पी नेपाल फर्किएका थिई धेरैले उनलाई नेपाल फर्कीन  उपयुक्त छैन भनेर सल्लाह दिएका थिए । हिन्दुस्तानमा बस्दाको उनको अनुभवले राष्ट्र बलियो बनाउन नेपाल फर्किनु पर्ने सुझायो  ।    

हाम्रा पुर्खाहरुले अंग्रेजसँग युद्ध गर्दा होस् अथवा महाराणा प्रतापले मुगलसँग युद्ध गर्दा होस् केवल भुमि घट्ने डरले ति मर्न तयार भएका थिएनन । त्यो भुमिमा जन्मिएको ,हुर्किएको धर्म ,संस्कृति परम्परा  जसले एउटा राष्ट्रको पहिचान दिएको हुन्छ त्यसको रक्षाका लागि ती समर्पित भएका थिए ।जुन देश पूर्ण रुपमा राष्ट्र हुन्छ त्यो देशमा प्रत्येक नागरिक राष्ट्रका लागि मर्न तयार हुन्छन  महिला,पुरुष ,बृद्ध ,बालक सबै । जब देश राष्ट्र रहदैन  नागरिक त्यो देशमा जन्मिएको त भन्छ तर त्यो भुमिप्रति उसको असिमित प्रेम बाँकी रहदैन उसले त्यो देशका लागि आफ्नो  जिम्मेवारी बोध गर्दैन  । नेपाल छोडेको दशक हुँदा पनि बिदेशिएको नेपालीले आफु नेपाली भन्नुको पछाडी सदियौं देखिको त्यहाको संस्कृति परम्परासंग जोडिनुले हो । आयातित मार्क्सवाद ,माओवादलाइ पछ्याएर नेपालका धर्म र संस्कृतिलाई नाश गरेर ,मठ मन्दिर भत्काएर ,बेद ,पुराण र संस्कृत ग्रन्थ जलाएर राष्ट्रवादी भइदैन न प्रगतिशील क्रान्तिकारी । हाम्रो संस्कारले "सर्वे भवन्तु सुखिन " भन्छ हाम्रा पुराना परम्पराले "बसु धैव कुटुम्बकम "। ती सारा संस्कारलाइ बिभिन्न बादका नाममा  फ्याकेर हामि राष्ट्रवादी हुन सक्दैनौ ।

राजतन्त्र वा गणतन्त्र त्यो राजनीतिक पद्धति , व्यवस्था हुन सक्ला तर धर्म राजनीतिक बिषय हैन । नेपालमा राजतन्त्रको लामो इतिहास समाप्त भएको पनि दशक नाघेको छ । राजतन्त्रको समाप्ति तत्कालिन शासक राजाहरुको अकर्मन्यता कारण भएको हो । हाम्रो धर्म र राजसंस्थाको कुनै सम्बन्ध छैन । राज्य कुनै सम्प्रदाय बिशेषको हुनुहुदैन । शासन पद्धप्तिको निर्णय जनताले नै गर्ने हो । राजतन्त्रको समाप्ति बैधानिक ढंगबाट भयो वा भएन भन्ने छुटै बहसको बिषय हुन सक्छ तर नेपालमा धर्म निरपेक्षता लेखिनु हुन्न भन्ने  र राजतन्त्रको माग नितान्त फरक बिषय हुन्।माथि उल्लेख गरीए जस्तै सुर्यले प्रकाश दिने  बिषय संविधानमा सापेक्ष वा निरपेक्ष भनेर आउने बिषय हैनन ।अनुभवले भनेको छ एउटा समय थियो चौतर्फी आक्रमणमा परेका हाम्रा संस्कृति  परम्पराको शिकार योग हुन पुग्यो । यसलाई हिन्दुधर्म  ग्रन्थको रुपमा लिन लगाइयो । जब यसको महत्व पश्चिमाहरुले थाहा पाए हामी तिनै पश्चिमालाई पछ्याएर योगलाइ योगा भन्न थाल्यौ ।

हिन्दु सभ्यता हो धर्म हैन । ५ हजार बर्ष अघि नै विकसित संसारकै पुरानो  यो सभ्यतालाइ प्रतिनिधित्व गर्न पाऊनुलाइ गर्व गरिनु पर्छ । हामीले भन्ने गरेको हिन्दु धर्म  हैन सभ्यता हो बहुसंख्यक नेपाली सनातन धर्म मान्नेहरु छन् । यसरी हेर्दा नेपाल हिन्दु सभ्यता बोकेको बहुसंख्यक सनातन धर्म मान्नेहरु को देश हो । पछिल्लो समयमा बिभिन्न सम्प्रदायमा विभाजित देखिएपनि नेपाली भनेका हिन्दु सभ्यतालाई नेपालसम्म पुर्याउनेहरुकै सन्तान हुन् । पुर्खाले सुम्पेको  समुन्नत सभ्यता मासेर बिदेशी सभ्यताको दबाबमा साम्प्रदायिक सद्भाव बिग्रिन नदिन राजनीतिक पार्टीहरु सचेत हुनुपर्छ । हिन्दु सभ्यतालाई बिदेशी पैसाले मास्ने प्रयत्न भयो भने त्यो राष्ट्र र जनताका लागि स्वीकार्य हुन सक्दैन ।

अन्त्यमा धर्म शब्दको प्रयोग संकुचित रुपमा गरिनु हुन्न । नेपाल हिन्दुहरुको देश हो । जहाँ बहुसंख्यक सनातन धर्म मान्नेहरुको बसोबास छ । यस अर्थमा नेपाल धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र हुनुपर्छ भन्ने आवाज उठ्नुलाइ स्वाभाविक मानिनुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ