arrow

चीनले नेपालको सीमा मिच्यो : कति सीमा स्तम्भ त गायब !

बाबुरामका पालामा चीन तयार हुँदा नेपाल लुक्यो

logo
प्रकाशित २०७५ पुष ५ बिहिबार
china-flag.png

काठमाडौं । सीमा क्षेत्रमा देखाउने रवैया तथा शत्रुतापूर्ण व्यवहारले भारतको नाम लिनेवित्तिकै दशगजा छेउछाउ बस्ने नेपालीको सिरिङ्गो तातिन्छ । त्यसमा पनि सीमाना मिचिएको कुरा त सुन्नै सक्दैनन्, उनीहरु । मर्न मार्न तयार हुन्छन्, कञ्चनपुर पुर्नवासका गोविन्द गौतम र सप्तरी तिलाठीका देवनारायण यादव जस्तै ।

भारतसँग जहिल्यै सीमानाको विषयलाई लिएर कचिङ्गल भइरहन्छ । कुनै ठाउँमा सीमा मिचिएको अथवा पिलर गायब भएको समाचार सुनियोस् मात्रै । भारतलाई विस्तारवादीको बिल्ला भिडाउनेदेखि कछाडमा सुताउनेसम्मका गाली बर्सिन्छन् । तर, चीन भन्नेवित्तिकै भने सतर्कः मानौं चीन ठूल्दाई हो । अझै अहिलेका सत्ताधारीको चस्माबाट हेर्नेहरुले त चीन ३३ कोटी देवता नै भन्ठान्छन् ।
 
तर, जानकारहरु ‘हाम्रो नजिकको छिमेकी तीब्बत हो । अनि, चीन भने त्यसपछिको छिमेकी हो’–भन्छन् । अझ विदेश मामिलाका जानकारहरु चीनले छाती खोलेर जतिनै सयोग गरेपनि नेपालप्रति जहिल्यै शशंकित रहँदै आएको बताउँछन् ।  नेपाल–चीन मामिलाका एक जानकारले भनेका छन्, ‘चीन हामीबाट एउटै कुरा चाहन्छ, नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग नहोस् । त्यसैले फकाइरहनु उसको धर्म हो ।’

उनले अगाडि भने, ‘चाहे हिजोको खम्पा(गुरिल्ला) विद्रोहको कुरा किन नहोस् । चाहे त्यसैको विकसितरुप माओवादी विद्रोह । अथवा भनौँ, अहिले भारतीय राजदूतको हिमाली जिल्लाको दौडधूप । चीनले नेपालको राजनीतिक र राजनीतिक संस्थाको कुटनीतिक पक्षलाई विश्वास गर्दैन । उसले स्थायी सरकारलाई मात्र विश्वास गर्छ । अझ खुलेर भन्दा ‘सेना’लाई बढी विश्वास गर्छ ।’
 
सेनालाई विश्वास गर्छ भन्ने आधार केही छन् ? जवाफमा उनले भने, ‘छन् । खम्पा विद्रोह परास्त पारेकैले नेपाली सेनाको कद अग्लो भएको हो । त्यहीँबाट सबैले भरोसा गर्न थालेका हुन् । खम्पा विद्रोहले झण्डै चीन तहसनहस भइसकेको थियो । त्यसमा नेपाली सेनाले ठूलो सफलता पाएको कुरा इतिहासले बोलिरहेकै छ ।’ उनले अगाडि थपे, ‘अहिले पनि चीनले तातोपानी र कोरला नाकामा स्थायी सरकारी संयन्त्र खोजिरहेको छ, त्यो भनेको के ? सेनासहितको संयन्त्र । अनि प्रधानसेनापति बारम्बार विखण्डनकारी तत्वको गतिविधिमा नेपाली सेना सजग रहेको कुरा किन बोलिरहेका छन् ? चिनियाँ राष्ट्रपतिको भ्रमण गराउने कुरा किन सम्भव भइरहेको छैन ? त्यसैले नेपाली शासकहरुमाथि चीनले भरोसा गर्दैन । तर, सेनामाथि ठूलो भरोसा छ ।’ नभए नेपाललाई हेप्छ चीनले !

प्रधानसेनापतिले बोलेको कुरा परराष्ट्रमामिलाका जानकार रमेशनाथ पाण्डेले समेत आफ्नो आलेखमा उल्लेख छन् । उनले, ‘असोज २५ गते स्वयं प्रधानसेनापतिले विखण्डनकारी तत्वहरुको गतिविधिमा नेपाली सेना सजग रहेको बताएपछि पनि राजनीतिक नेतृत्वले आँखा खोलेको छैन’ भनी लेखेका छन् ।

यहाँ प्रसंग कोट्याउन खोजिएको चीनसँगको कुटनीतिक सम्बन्धको होईन । सीमा विवादको हो । चीनसँग सीमा विवाद भएको कुरा नौलो होइन । तर, नेपाल सरकारलाई चीनसँग सीमा विवाद छ, भन्ने कुराको जानकारी नहुनु उदेकलाग्दो कुरा हो । भारतले सीमा मिचेको जनजनलाई थाहा हुन्छ ? चीनले सीमा मिचेको कसले थाहा पाउने ?

नापी विभाग नेपाल सरकार अन्तर्गत नै हैन ? अनि, किन नापी विभागलाई नेपाल–चीन सीमाका आधा दर्जन स्तम्भ हराएको थाहै छैन ? नभए नापी विभागका महानिर्देशक गणेश भट्टले, ‘तपाईले त यो मलाई जानकारी नभएको कुरा सुनाउनु भो’ भन्थे होलान् ? नेपाल–चीन सीमाको लम्बाई एक हजार ४ सय १४ किलोमिटर छ । पूर्वको सिक्किमदेखि पश्चिमको लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ छन् । तर, ती मध्ये केही स्तम्भ हराएका छन् । ३७ नम्बर, ३८ नम्बर र ६३ नम्बर स्तम्भ गायब छन् । दोलखाको लामाबगरमा रहेको ५७ नम्बर स्तम्भ त कुठाउँमा गाडिएको जग जोहरै छ । त्यो स्तम्भ कुठाउँमा गाडिएकै कारण नेपालले ६ हेक्टर भूमि गुमाएको छ ।
 
५६ वर्षअघि गाडिएको पिलर अहिलेसम्म पहाडको फेदमै
सीमाविद् वुद्धिनारायण श्रेष्ठका अनुसार सन् १९६१–०६२ मा सीमाङ्कन हुँदा दोलखाको लामाबगरमा रहेको ५७ नम्बर जंगी पिलर कुठाउँमा गाडिएको थियो । लामाबगर पुर्वपट्टिको कोर्लाङपारिको टुप्पोमा हुनुपर्ने पिलर फहाडको फेदमा गाडिएको छ । सन् १९७८ मा सीमाङ्कन गर्न जाँदा त्यो स्तम्भ भेटिएन भन्छन्, सीमाविद् पुण्यप्रसाल ओली । उनका अनुसार नेपाल चीन सन्धिअनुसार टुप्पो हेर्दा स्तम्भ भेटिएन । सन् १९७८ मा सीमाङ्कन गर्न खटिएका ओली, प्राविधिककै कमजोरीका कारण त्यो स्तम्भ फेदमा गाडिएको हुनसक्ने बताउँछन् । अहिले नेपाल–चीन सीमाबारे द्विपक्षीय कुरा नभएको ६ वर्ष भयो ।
 
बाबुरामका पालामा चीन तयार हुँदा तयार भएन नेपाल
सन् २०११–०१२ मा बाबुराम भट्टराई प्रधानमन्त्री थिए । उनका पालामा चीन सीमाबारे कुरा गर्न तयार हुँदा नेपाल लुक्यो । त्यो बेला चीनबाट बैठक बस्ने पक्का पक्की सहितको चिठ्ठी आएको थियो, तर हामी गएनौँ,–नापी विभागका महानिर्देश भट्ट आफै भन्छन् । उनका अनुसार त्यसपछि चीनसँग सीमाबारे कुरै भएको छैन ।
 
अब भारततिरको सकिएपछि मात्रै
नापी विभागका महानिर्देशक भट्टले अब चीनसँगको सीमाबारे भारततिरको सकिएपछिमात्रै कुरा हुने बताएका छन् । उनले भने, ‘अहिले हामी सबैभारततिर लागेका छौँ । भारततिर सकिएपछिमात्रै त्यतातिर (चीनपट्टी)लाग्छौँ । उनले सबै दलबल भारततिरै लगाएको बताएपनि भारततिर पनि खासै प्रगति भएको छैन ।

हराएका स्तम्भहरू जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिमार्फत पत्ता लगाएर तीन वर्षभित्रमा पुनःस्थापना गर्ने, नबनाएको नयाँ राख्ने, बिग्रे–भत्केकाको मर्मत–सम्भार र दशगजा क्षेत्र अतिक्रमण गरेर बसेकालाई हटाउन भन्दै २०१४ जुलाईमा नेपाल–भारत संयुक्त सीमा कार्यदल (बाउन्ड्री वर्किङ ग्रुप) गठन भएको थियो । त्यसको बैठकले गरेका प्रगति समेत बाहिर सुनिएका छैनन् ।

दुवै देशका नापी विभाग महानिर्देशक संयोजक हुने कार्यदलअन्तर्गत विभागकै उपमहानिर्देशक संलग्न सर्भे अफिसर्स कमिटी, प्रमुख जिल्ला अधिकारीको नेतृत्वको फिल्ड सर्भे टीम र प्रमुख नापी अधिकृत संलग्न फिल्ड टीम गठन भएका थिए ।
 
सन् १९८१ मा गठन भएर २००७ मा भंग भएको नेपाल–भारत संयुक्त प्राविधिक समितिले गर्न नसकेको काम सम्पन्न गर्ने गरी संयुक्त कार्यदल र सर्वेक्षण टोलीहरू गठन भएका हुन् । नेपालले सबै प्रमाण जुटाएर भारतसँगको सीमा विवाद सुल्झाउने ऐतिहासिक अवसर भने सदुपयोग गरेन । हुँदा–हुँदा सीमाकै विषयलाई लिएर अहिले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन बुझ्न समेत भारत मानिरहेको छैन ।

नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर लामो सीमा रेखा छ । २००७ मा भंग भएको संयुक्त टोलीले सीमानामा कुल ८ हजार ५५३ पिलर गाड्नुपर्ने अंकन गरिसकेको थियो । अहिलेसम्म ७ हजार जति मात्र पिलर गाडिएका छन् ।

सगरमाथाको उचाईमै चीनले लफडा झिक्यो
अहिलेसम्म चीनले दिएको उचाइलाई नै अन्तर्राष्ट्रिय जगतले आधिकारिक मानिरहेको छ । आठ हजार ८ सय ४८ मिटर । तर, चीनले नै सगरमाथाको उचाइमा लफडा झिक्यो । पहिलेको मापन सही नभएको भनेपछि नेपालको नापी विभाग सगरमाथाको उचाई नाप्न भारत पसेको छ । सगरमाथाको उचाइबारे दुविधा भएपछि नेपालले फेरि फेदबाटै नाप्न सुरु गरेको छ । नापी विभागका अनुसार सर्भे टोलीहरु अहिले फेदमा बसेर ग्राविटीलगायत विभिन्न जाँचहरु गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ