arrow

उखु मिल समयमा संचालनमा नहुदाँ उखु किसान अन्यौलमा

logo
अंगद यादव,
प्रकाशित २०७५ पुष ७ शनिबार
sugarcane-farmers-harvest.jpg

नवलपरासी पश्चिम। उखु क्रसिङ गर्ने उत्तम समय भनेकै मंसिर दोश्रो साता हो। यो समय वितेको झण्डै महिना दिन वित्न लाग्यो। तर, पनि उखु मिल संचालनमा नआउँदा उखु किसानहरु अन्यौलमा परेका छन्। साहु महाजन कहाँबाट चर्को व्याजदरमा ऋण लिएर गरेको उखु खेती अहिलसम्म खेतमै सुकिरहदाँ किसानहरुलाई ऋणको ब्जाज र घर व्यवहार समेत मिलाउन समस्या भएको गुनासो गरेका छन्।

एका तर्फ सरकारले अहिलेसम्म उखुको उचित मुल्य निर्धारण नगर्नु अर्को तर्फ चिनी मिलका संचालकहरु आलटाल गर्दै अहिलेसम्म मिल संचालन नगर्नुले मिल चल्ला कि नचल्ला भनि किसानहरु अन्यौलमा परेका छन्। मिल समयमै संचालनमा नआउँदा किसानहरु गहुँ, मसुरो, केराउ र तोरी खेती सिजन सकेर सो खेतीबाट बन्चित त भए नै यता खेत मै उखु सुकेर किसानहरुलाई थप घाटा भैरहेको सुस्ता गाउँपालिका ३ नर्सहीका उखु किसान लख्खु यादवले दुखेसो पोखे।

स–साना किसानहरु घर व्यवहार मिलाउन बाध्य भई स–साना उखु क्रसर तथा बिचौलियाहरुलाई ३५० देखि ४०० रुपिया प्रति क्वीन्टल सस्तोमा उखु विक्री गरिरहेका छन्। जिल्लामा ईन्दिरा सुगर मिल, बागमति खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिल गरि ३ वटा ठुला चिनी उद्योग र ५० भन्दा बढि स–साना उखु क्रसरहरु संचालनमा छन्।

यि ठुलो मिलहरु किसानहरुको बक्यौता रकम ५ करोड रुपैया अझै भुक्तानी दिएका छैनन अर्को तर्फ समयमै मिल नचलाएर किसानहरुलाई सस्तो उखु खसाल्न बाध्य बनाई रहेको प्रतापपुर गाउँपालिका ८ पिपरपातीका किसान युवराज मौर्यले गुनासो गरे।

विगतमा मंसिरमै उखु मिलहरु संचालनमा आई उखु क्रसिङ्ग गर्ने गर्दथे तर अहिलेसम्म उखु मिल संचालनमा नल्याउँदा किसानहरु अन्यौलमा परि ठुलो मर्कामा परेका छन। सरकारले समयमै उखुको उचित मुल्य निर्धारण गर्न र उखु मिलहरुलाई तत्काल संचालनमा ल्याउन पहल गरिदिन उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले सरकार संग आग्रह गरेका छन्।

समितिका अध्यक्ष यादवले जानकारी दिए अनुसार सरकारले किसानहरुलाई दिएको अनुदान रकम प्रति क्वीन्टल ६५.२८ रुपैया झन्झटिलो प्रक्रियाका कारण किसानहरुले सो अनुदानको रकम पाउन सकेका छैन। यस गण्डक कमाण्ड क्षेत्रका अधिकांश किसानहरु उखु खेती हुण्डा, उखडा, आठ नं. प्रति र बगर नदीको छेउछाउमा गरेकाले सो पुजा नहुँदा अनुदान रकम पाउनबाट बन्चित नै भैरहेको अध्यक्ष यादवले दुख सुनाए।

उनले, सरकारले अनुदानको रकम पाउन सहज प्रक्रिया बनाएर किसानहरुलाई सहजै सो रकम उपलब्ध गराउन आग्रह गरे। यता उखु मिलका संचालकहरुले मिल संचालन नगरि किसानहरुलाई सस्तोमा उखु खसाल्न बाध्य बनाईरहेको किसानहरुले गुनासो गरेका छन्।

मिल संचालकहरुले मिलको मर्मत कार्य भैरहेकाले मिल संचालनमा ढिलाई भएको सफाई दिदै किसानहरुलाई सस्तोमा उखु खसाल्न बाध्य बनाईरहेको पाइएको छ। त्यसैमा मौकाको फाईदा उठाउदै बिचौलियाहरु ठाउँ–ठाउँमा उखु खरिद सेन्टर राखी सस्तोमा उखु खरिद गर्ने चलखेलमा लागेका छन्।

जिल्लामा कुल साढे ७ हजार हेक्टयर क्षेत्रफलमा उखु खेती हुदै आएको छ जसमा करिब १४ हजार घरपरिवार उखु खेती आवद्ध छन्। सो खेतीबाट करिब २० लाख क्विन्टल उखु उत्पादन हुने गरेको समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ