arrow

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण गठन भएको ३ वर्ष पूरा : बिना स्विकृति धरहराको औपचारीक शिलान्यास  

अझै साढे ४ लाख निजी आवास पुर्ननिर्माण सम्पन्न हुन बाकी

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
reconstruction-dharara-laystone.jpg

काठमाडौं। २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण गठन भएको बिहिबार ३ वर्ष पूरा भएको छ। विशिष्टिकृत ढङ्गले सबै क्षेत्रका पुनर्निर्माण गर्ने उद्देश्यसहित गठन भएको प्राधिकरणले तीन वर्षको समयमा हासिल गरेका उपलब्धिलाई समिक्षा गर्ने उद्धेश्यले आज बिशेष कार्यक्रम गरी मनाइदैछ। प्राधिकरणको तथ्याङ्क अनुसार वैशाख ११ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण घर भत्किएर पुनर्निर्माण गर्न नसकेको पीडितको संख्या  अझै तीन लाखभन्दा अधिक छ। 

प्राधिकरण गठनको समयमा लिइएको लक्ष्यअनुसारसबै पिडितको निजी आवास पुनर्निर्माणको काम सम्पन्न भइसक्नुपर्ने भएपनि  प्राधिकरणले आठ लाख ८४ हजार ८ सय  निजी आवास निर्माणका लाभग्राहीमध्ये हालसम्म तीन लाख ३७ हजार ३१९ जनाले मात्र घर बनाइसकेका छन्। यो कुल लाभग्राहीको ४५ प्रतिशत मात्र हो। प्राधिकरणका अनुसार करिब १८ हजार पीडित जोखिमको वर्गमा परेका छन्। यस्ता वर्गका १५ वर्षमुनिका बालबालिका मात्र भएका परिवार, एकल महिला, ज्येष्ठ नागरिक वा शारीरिक रूपमा अशक्त व्यक्तिहरू रहेका छन्। 

विभिन्न सरकारी गैरसरकारी सङ्घसंस्थालाई गुहारेर करिब दुई हजार त्यस्ता लाभग्राहीको घर भने निर्माण गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले बताए। शून्य संरचनाबाट काम थालेको प्राधिकरणको नेतृत्व सरकार परिवर्तन भएसँगै परिवर्तन भइरहने, पुनर्निर्माणको नारा सबैले दिए पनि व्यवहारमा यस विषयले प्राथमिकता नपाउने, विगतको नाकाबन्दी, स्थानीय तहदेखि केन्द्रसम्मको निर्वाचन, कर्मचारीको अदलबदल जस्ता कारणले लक्ष्य समयमा हासिल हुन कठिनाई भएको ज्ञवालीले स्पष्ट पारे।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका करिब एक लाख लाभग्राहीमध्ये निकै थोरै संख्याले मात्र निजी घर बनाउन सकेका छन्। शहरी क्षेत्रमा घर निर्माणको लागत अत्यन्तै बढी भएको र सरकार दिने भनेको सहुलियत दर र निब्र्याजी ऋण सहज तरिकाले उपलब्ध नहुँदा ती क्षेत्रमा उल्लेख्य प्रगति हुनसकेको छैन। अब  तीन लाख रुपियाँसम्मको सहुलियत ब्याजदरको ऋण उपलब्ध गराउने वातावरण बनेको प्राधिकरणले जनाएको छ। 

यसैगरी, भूकम्पले क्षति पुर्‍याएका सात हजार ५५३ विद्यालयमध्ये करिब आधा ५५ प्रतिशत निर्माण सम्पन्न भएका छन्।  २५ प्रतिशत निर्माणाधीन अवस्थामा छन् भने बाँकी २० प्रतिशत विद्यालय भवन आगामी दुई वर्ष्भित्र निर्माण गरिसक्ने लक्ष्य प्राधिकरणको रहेको छ। 

साथै भूकम्पले क्षति पुर्‍याएको ७५३ सम्पदामध्ये २०१ वटाको पुनर्निर्माण भइसकेको छ भने ३०९ सम्पदा पुनर्निर्माण प्रक्रियामा रहेका छन्। सम्पदा क्षेत्रका बस्तीमा मौलिक स्वरूप कायम गर्न सरकारले प्रतिघर थप ५० हजार रुपियाँ उपलब्ध गराउने बताएको छ।

प्राधिकरणले एक सय वर्ष पुराना र दुई सय वर्ग्फिटभन्दा बढी क्षेत्रफलका गुम्बा प्राधिकरणमार्फत पुनर्निर्माण गर्ने र अन्यको हकमा भने स्थानीय तहलाई ५० प्रतिशतसम्म अनुदान दिएर निर्माण गराउने निर्णय गरेको छ। त्यसका लागि करिब पाँच अर्ब ८५ करोड रुपियाँ लगानी गर्नुपर्ने अनुमान प्राधिकरणको रहेको छ। प्राधिकरणले पुनर्निर्माण पनि स्थानीय निकायलाई हस्तान्तरण गर्ने सोच अनुसार  हालसम्म १३ स्थानीय निकायसँग समझदारी समेत भइसकेको जनाएको छ।

शहरी बिकास मन्त्रालयबाट बिना स्विकृति धरहराको औपचारीक शिलान्यास आज शहरी बिकास मन्त्रालयबाट बिना स्विकृति धरहराको औपचारीक शिलान्यास बिहिबार प्रधानमन्त्री केपीओलीले गरेका छन्।

शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राइले धरहरा निर्माण मापदण्ड  स्विकृतिबिना नै प्राधिकरणले काम अघि बढाएकोले भुकम्प प्रतिरोधि हुनेमा आशंका गरे।

बिहिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना दिवस पारेर यसको औपचारिक शिलान्यास गर्न लागिएको हो। आगामी दुई वर्ष्भित्र सम्पूर्ण निर्माण सम्पन्न भइसक्ने दाबी प्राधिकरणको छ। धरहराको सम्झनामा पहिलेकै स्वरूप तर अत्याधुनिक प्रविधियुक्त नवधरहराको निर्माण गर्न लागिएको हो।

सरकारले ‘म बनाउँछु मेरो धरहरा’ अभियान शुरु गरिसंगै हालसम्म करिब २४ करोड रुपियाँ कोषमा जम्मा भएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणले चिनियाँ निर्माण कम्पनी जेडआईईसी र रमण जेभीलाई जिम्मा दिएको छ। करिब एक महिना अघिदेखि सुन्धारा परिसरमा काम शुरु भइसकेको छ। प्राधिकरणले सार्वजनिक गरेको डिजाइन अनुसार नवधरहराले करिब ४२ रोपनी क्षेत्रफल समेट्नेछ। त्यसमा टक्सार विभाग, गोश्वारा हुलाक र सुन्धाराको क्षेत्रलाई पनि धरहराकै परिसरमा समेटिने योजनामा रहेको छ। 

नयाँ डिजाइन अनुसार नयाँ बन्ने धरहरामा जमिनमुनि दुई र जमिनमाथि २२ तला गरी जम्मा २४ तलाको हुनेछ। तर बाहिरबाट हेर्दा ११ तलाजस्तो मात्र देखिनेछ। क्षतिग्रस्त धरहराको ठुटो भागलाई भने माथि छत राख्नुका साथै चारैतिरबाट १० मिलिमिटरको ‘टेम्पर ग्लास’ ले घेरिनेछ। नवधरहरामा माथिल्लो भागसम्म पुग्न र ओर्लनका लागि दुई वटा अत्याधुनिक लिफ्ट जडान गरिनेछ।

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनामा निर्माण गराएको धरहरा ११ तलाको थियो। १९९० सालको भुइँचालोले २ तला भत्किएपछि पुनर्निर्माण गर्दा ९ तलामा सीमित हुन पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ