arrow

अध्यक्षको तलव सामाजिक क्षेत्रमा खर्च

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ पुष २२ आइतबार
krishna-prasad-basyal.jpg

पाल्पा । जनताले चुनेका जनप्रतिनिधिले जनताकै हितमा काम गरुन् भन्ने चाहाना सबैको हुन्छ । तर निर्वाचनका बेला जनता समक्ष गरेका बाचा अधिकांश जनप्रतिनिधिहरुले भुल्ने परम्परा बसेको छ । देश संघीय संरचनामा गएपछि तीनै तहको निर्वाच भए र सरकार पनि गठन भएका छन् ।

लामो समय जनप्रतिनिधि विहिन बनेका जनता जनप्रतिनिधि आएपछि खुसी हुनु स्वाभाविक हो । तर अधिकांश जनप्रतिनिधि निर्वाचनमा जनता समक्ष गरेका बाचा पूरा गर्नुको सट्टा आफ्ना परिवार र आफन्तको भरणपोषणमा तल्लिन भइरहेका बेला जिल्लाको एक गाउँपालिकाका अध्यक्षले सरकारबाट पाउँदै आएको तलव सामाजिक काममा खर्च गर्दै आएका छन् । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आफुले पाउँदै आएको तलव गाउँपालिकाको धार्मिक, शैक्षिक, पर्यटकीय, कृषि, गरिब, विपन्न, असाहय लगायतका क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका हुन् ।

कतिपय जनप्रतिनिधिहरुले तलवबाट मात्रा नपुगेर गाउँपालिकामा हुने योजना, कार्यक्रमका लागि छ्ट्याइएको रकम समेत हिनाविन गरी भ्रष्टाचार र अनिमियता गरेका समाचार आइरहेका बेला अध्यक्ष बस्यालले आफुले पाउँदै आएको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नु उदाहरणीय र अनुकरणीय कार्य भएको गाउँपालिकाका स्थानीयहरु बताउँछन् ।आफुहरुले मनकारी अध्यक्ष पाएकोमा खुसी लागेको वडा ९ झिरभञ्ज्याङ्गकी सीता घिमिरेले बताइन् ।

केही जनप्रतिनिधिहरुले निर्वाचनका बेला जुन किसिमका आश्वासन बाड्छन्, निर्वाचन जितिसके पछि फर्केर समेत जनता समक्ष नजाने जनप्रतिधिनिका लागि एउटा गतिलो उदाहरण पेस गर्न सफल भएका छन् अध्यक्ष बस्याल । बस्यालले पहिलो वर्षको तलव गाउँपालिकाका भित्र रहेका विपन्न वर्गका विद्यार्थीहरु, बोटे समुदायका गरिव, असाहयहरुलाई न्यानो कपडा, लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असाहय विरामीसँगै धार्मिक, शैक्षिक, र पर्यटकीय क्षेत्रमा खर्च गरेका छन् ।

 जिल्लाकै नमूना गाउँपालिकाको रुपमा परिचिय गराउन सफल बस्यालले व्यक्तिगत रुपमै दिन, दुःखी असाहय र विपन्न वर्गको उद्यानका लागि क्रियाशील रहदै आएका हुन् । अध्यक्ष बस्यालले आफु तलब खानाको लागि नभई जनताको सेवामा समर्पित हुन निर्वाचित भएको बताए । उनी भन्छन् ‘सरकारले जेजति पारिश्रमिक उपलब्ध गराएको छ त्यो सबै रकम विपन्न, असाहय वर्गको क्षेत्रमा खर्च गर्ने प्रण गरेको छु ।’ निर्वाचनका बेला जनतासँग गरेका बाचालाई आफुले आत्मसाथ गरेर काम गरेको अध्यक्ष बस्यालले बताए ।

 उनले आफ्नो पाँच वर्षको कार्यकालमा गाउँपालिकालाई आर्थिक रुपमा सवल र आत्मनिर्भर बनाई रोजगारका लागि विदेशिने युवाहरुलाई गाउँपालिकामै रोजगार सिर्जना गर्ने योजना साथ अगाडि बढेको पनि जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ