arrow

एउटा धारोको भरमा सिंगो बस्ती

सिंगो दलितबस्ती खानेपानीको पर्खाईमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ पुष २२ आइतबार
dharo.jpg

स्याङ्जा । स्मार्ट सिटीको अवधारणा बोकेको वालिङ नगरपालिका वडा नम्वर १४ स्थित भर्लेनेटाका दलित समुदायले खानेपानीका लागि एउटा मात्रै धारो पाएका छन् । १५ बर्षदेखि एउटै धारोबाट खानेपानीको जोहो गर्दै आएका सिंगो दलितबस्तीमा अहिले सम्म कसैले चासो देखाएका छैनन् । गएको हप्ता वालिङ नगरपालिकाले पुरक संशोधित बजेटका लागि ७१ करोड ५४ लाख पारित गरेको थियो ।

सो बजेटमा पनि यस दलितबस्तीमा खानेपानीको बजेट समेत छुट्टीन सकेन । जाडोको समय विहानै देखि लाईनमा बसेर खानेपानीको व्यवस्था गर्न यहाँका दलित समुदाय बाध्यतामा रहेका छन् । ५६ बर्षिय मनकला परियार बिहान ५ बजे र बेलुका ५ बजे खानेपानी लिन करिव २ सय मिटर आउने जाने गर्छिन । चिसो समय लाईन बस्दा बस्दा पालो कतिबेला आउने हो परियारले भनिन्,“दलित भएर नै होला हामीलाई खानेपानीको व्यवस्था गरिदिने कोही भएनन् ।” कपडा धुनका लागि खोलामा जाने र खानेपानीका लागि दिनको ३ गाग्री मात्रै पानी पाईने दुखेसो मनकलाको छ । खाली पानी आउछ, आउछ मात्रै भन्छन् उनले नेताहरु प्रति लक्षित गर्दै भनिन् कहिले आउने समय कुरेर बसेका छौं ।

मनकला मात्रै होइन अर्का खुमबहादुर परियारको पनि पिडा उत्तिकै छ । ज्यालादारी गरेर जिविकोपार्ज गर्दै आएका खुमबहादुर खानेपानीको जोहो गर्दैमा ज्यादारी काम गर्न समेत नपाएको दुखेसो पोख्छन् । चुनावमा खानेपानीको व्यवस्था गरिदिने प्रतिवद्धता व्याक्त गरेका निर्वाचित जनप्रतिनिधिले समेत हिजो आज त बोलाउन समेत छाडेको उनको गुनासो छ । ३० घर परियार र ५ घर विश्वकर्मा बसोवास गर्दै आएका सो बस्तीका लागि अहिले सम्म  वडा, नगरपालिका, प्रदेश र संघिय सरकारले समेतको आँखा परेको छैन । गएको हप्तामा वालिङ नगरपालिकाले पाँचौ नगर सभाबाट समेत उक्त दलित बस्तीका लागि बजेट समेत व्यवस्था गर्न सकेन ।

 वालिङ नगरपालिकाका उपप्रमुख एवंम बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक कल्पना तिवारीलाई हाम्रकुरा डटकमले दलितबस्ती त खानेपानीको समस्यमा रहेछ किन बजेट छुट्टाउनु भएकन भनेर सोधेको प्रश्नमा तिवारीले भनिन् यो बिषयमा म अनविज्ञ छु । वडाले योजना नल्याएका कारण छुट्न गएको होला तिवारीले भनिन् यस विषयमा मेरो ध्यानाकर्षण हुनेछ । कुनै पनि बस्ती, टोल र घर खानेपानी जस्ता आधारभुत आवश्यकताबाट नगरवासी बन्चित नहुने हाम्रो योजना रहेको पनि उनले बताईन् । पाँचौ नगर सभाले वालिङ १४ का लागि करिव ४७ लाख बजेट विनियोजन गरेको छ । जसमा सडक, भवन र खानेपानीका लागि बजेट विनियोजन गरेपनि सो दलित बस्तीका लागि भने बजेट विनियनेजन हुन सकेन ।

 स्थानीय सरकार संचालनका लागि दलित समुदायबाट पनि सहभागीता जनाउने संविधानत व्यवस्था रहेपनि सहभागीता जनाएका दलित समुदायका प्रतिनिधिको समेत चासो नहुनुले पनि पहुँचको भरमा बजेट बिनियोजन हुने रहेछ भन्ने विश्वास देखिन थालेको छ । सामान्य आधारभुत आवश्यकता मध्येको खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता संवेदनशिल विषयमा नगरपालिकाले जहाँ अभाव रहेको छ त्यस ठाँउको लागत संकलन गरी परिपुर्ति गर्नुपर्ने देखिन्छ । स्मार्ट नगरीका रुपमा लम्किरहेको वालिङ नगरपालिकामा खानेपानीबाट जनता बन्चित हुनु अत्यन्तै दुखद विषय बनेको छ ।

 यस विषयमा सम्वन्धीत निकायको ध्यान जानु जरुरी रहेको छ । जुन बस्तीमा खानेपानीको चरम अभाव रहेको छ सो वडामा जन्म लिएर राजनीति शुरु गरेका पदमा अर्याल अहिले नेपाल सरकारको भुमी व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रीमा बहाल रहेकी छन् । आफ्नै जन्मथलोका दलितबस्तीमा खानेपानीको समस्या नदेख्ने अर्यालको समेत चासो जानु आवश्यक रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ