- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गुल्मी । जिल्लामा पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको छातासंगठन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गुल्मीले चौंथो जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
जिल्ला अधिवेशन रुरु गाउँपालिका वडा नं १ मा रहेको गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको रिडी शाखा कार्यालयमा अधिवेशन सम्पन्न भएको छ । प्रत्येक ३–३ वर्षको अन्तरमा हुने अधिवेशन अहिलेको चौंथो जिल्ला अधिवेशन ५ वर्षमा अहिले भएको महासंघले बताएको छ । विविध कारणले जिल्ला अधिवेशन अलि ढिलो भएको महासंघ गुल्मीका तत्कालिन उपाध्यक्ष सुवर्णलाल कक्षपतिले बताए ।
अधिवेशनमा व्यवसायिक समस्या र उपभोक्तालाई असर नपर्ने गरि समस्या समाधान गर्ने, थोक बिक्रेताबाट व्यक्तिले खरिद गरेर नाफा कमाई विद्यार्थीलाई सोझै बिक्री गर्दा व्यवसायी र उपभोक्ता दुवैले सुविधा नपाएको महासंघ गुल्मीले बताएको छ । त्यस्तै विचौलियाहरुले अत्याधिक मात्रामा सुविधा लिएकोले यसलाई हटाउन सबै व्यवसायीहरु एकजुट हुने समेत बताईएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा व्यवसायीले दुःख पाउनु परेको, त्यसको अपजस व्यवसायी स्वयमले भोग्नुपरेको र विद्यार्थीले समयमा पाठ्यपुस्तक प्राप्त गर्न नसकेको बताईएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नं। ५ का प्रदेश सदस्य विष्णुमाया सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व १३ सदस्यीय कार्यसमिति पूर्ण सहमतिमा निर्विरोध चयन गरेको छ ।
जसको अध्यक्षमा सुवर्णलाल कक्षपति, उपाध्यक्ष रामबहादुर थापा, सचिव गोपाल बस्नेत, सह–सचिव यादव पुन, कोषाध्यक्ष पदमबहादुर थापा रहेका छन । त्यस्तै सदस्यहरुमा– आशा थापा, हरिप्रसाद भण्डारी, पिताम्बर पौडेल, तेजबहादुर कंडेल, महेश्वर घिमिरे, शंकर महोत्रा, कुलचन्द्र ज्ञवाली र भक्तबहादुर टण्डन चयन भएका छन । अधिवेशनले ५ सदस्यीय सल्लाहकार समितिको पनि गठन गरेको छ । सल्लाहकार समितिमा खड्गबहादुर थापा, हरिबहादुर जिसी, अम्मरबहादुर अर्याल, मणिराम पाण्डेय र झविन्द्र पाण्डेय रहेका छन् ।
अधिवेशनले पुरानो कार्य समितिलाई विघटन गरि नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय अधिवेशनका लागि जिल्ला कार्यसमितिका अध्यक्ष, सचिव, अन्य २ जना यादव पुन र विष्णुमाया सापकोटालाई काठमाडौं पठाउने निर्णय समेत गरेको छ ।