arrow

आफ्नो घर जोगाउन काठमाडौंका वडा अध्यक्षले गरे अदालतको अवहेलना

logo
प्रकाशित २०७५ पुष २४ मंगलबार
bato__bistar-1.jpg

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ मा निर्वाचित भएका वडाध्यक्ष मोहनबहादुर विष्टले पदको दुरुपयोग गर्दै अदालतको अवहेलना गर्दै छिमेकीको घर पर्खाल भत्काएका छन् । विष्टले सडक विस्तारका क्रममा आफ्नो घर जोगाउनका लागि घर अगाडिको सडकमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको विचाराधीन रहेकोे अवस्थामा जर्वजस्ती रुपमा डोजर लगाएर छिमेकीको पर्खाल भत्काए पछि सो कुरा बाहिर आएको हो । विष्टले सो वडामा तत्कालीन एमालेबाट उम्मेदवारी दिएर चुनाव जितेका वडाध्यक्ष हुन् ।

काठमाडौं महानगरपालिका वडा नं. ४ मनमोहन मार्गमा पर्ने सो बाटो सडक विभाग अन्तर्गत पर्दछ । काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक विस्तार गर्ने क्रममा विवादित बनेको सो सडकमा मालपोत कार्यालय डिल्लीबजार, नापी कार्यालयले समेत अध्ययन गरिरहेको थियो । 

२०७३ साल कार्तिक १८ गते मालपोत कार्यालयले सो विस्तारित सडकको विवाद टुङ्गो लगाएको थियो ।  तर सोही विषयलाई लिएर उनकै भाई रेवित बहादुर विष्टले २०७३ मंसिर ३० गते काठमाडौंमा जिल्ला अदालतमा लवप्रसाद नेपाल लगायतकालाई विपक्षी बनाई मुद्दा दर्ता गराएका थिए । जुन अहिलेसम्म पनि विचारधीन अवस्थामा छ । 

मुद्दा विचारधीन अवस्थामा रहेकै अवस्थामा सडक विभागको मातहतमा पर्ने सो सडक वडा अध्यक्ष विष्टले विभिन्न शक्ति प्रयोग गर्दै आफूले मालपोत तथा नापीबाट समेत भत्काउनु नपर्ने उनका छिमेकीको घरको पेटी एकलौटी ढंगले भत्काएका छन् । 

काठमाडौंको सडक विस्तार गर्ने प्रमुख जिम्मेवारी लिएको काठमाडौं उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी केशवप्रसाद न्यौपानेले सो सडक खण्डका विषयमा मुद्दा रहेकाले आफूहरुले अहिले कुनै कार्य नगरेको बताए । 

विचारधिन सडक भत्काइको विषयमा डिभिजन सडक कार्यालय मिनभवनका सूचना अधिकारी नरेन्द्र न्यौपानेले  मुद्दाको टुङ्गो नलागुञ्जेल सडक भत्काउन नमिल्ने भन्दै मनमोहन मार्गको बाटो निर्माणको कार्य आफूहरुकै मातहतमा रहेको भएपनि भत्काइएको विषयमा आफू र कार्यालयलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । 

आफ्नो घरको पेटी जानकारी नै नदिई जर्वजस्ती रुपमा एकलौटी ढंगले गुण्डागर्दी शैलीमा वडाअध्यक्षले भत्काएको पीडित रामबहादुर दाहालले बताए । उनले भने ‘आउनुस् हेर्नुस कत्तिको वडाअध्यक्षको मनामानी कत्तिको छ, जो चोर उसैको ठूलो स्वर भएको छ । वडा अध्यक्षले पदको दुरुपयोग गरेका छन् । ’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ