arrow

राष्ट्रिय एकता दिवसका अवसरमा कसले के भने ? 

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
prithvi-narayanshah-king.jpg

काठमाडौं । पुस २७ गते राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती । पृथ्वीनारायण शाहले विभिन्न बाइसे र चौबीसे राज्यमा टुक्रिएको नेपाललाई एकीकरण गरेर उदाहरणीय बनेका थिए । 

उनको यो एकीकरणकै कारण अहिलेसम्म नेपाल एकढिक्का छ । तर राजनीतिक पूर्वाग्रह राखेरै र पृथ्वीनारायण शाहका दरसन्तानले गरेको गल्तीको प्रतिशोध उनीमाथि साँधेर ०६३ सालदेखि पृथ्वी जयन्तीको बिदा काटिएको थियो । 

तर त्यो बिदा काट्नेहरु कालान्तरमा परिवर्तन हुन खोज्दैछन् । गत वर्ष काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा राष्ट्रिय एकता दिवस मुलुकले भब्य रुपमा मनाएको थियो सार्वजनिक बिदा दिएर । 

अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिदा काटेको छ । तर सम्झन भने उनी चुकेका छैनन् । के भनेका छन् ओलीले ? 

‘उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले शुरु नगरेको भए वा शुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्वमानचित्रमा नेपाल उम्भिनै सक्ने थिएन । राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन । उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिक लगायतका अनेक विविधताका बीच मजबुत एकताका आधार तयार गर्नुभयो । अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो । आज अनेकताबीचको एकता नेपालको पहिचान बनेको छ । पुर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुण्णताप्रति हामी सदैव गौरव गर्दछौँ ।’

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई लेख्छन् – ‘नेपालको भौगोलिक एकीकरणका अग्रणी व्यक्तित्व पृथ्वनारायण शाहको २९७औं जयन्तीको सन्दर्भमा सबैमा हार्दिक शुभकामना ! नेपालका विभिन्न जाति,भाषा र संस्कृतिको समान पहिचान र अधिकार सहितको इन्द्रेणी राष्ट्रियता र संघीयताको प्रवर्धन गरेर भैगोलिक एकीकरणलाई भावनात्मक एकीकरणमा रूपान्तरण गरौं !’

राप्रपा अध्यक्ष कमल थापाले लेखेका छन् – ‘म गर्वका साथ भन्छु – यी तिनैवटा उपमहानगरपालिका र गाउँपालिका राप्रपाले जितेको स्थानीय तह हुन् । राष्ट्रिय एकता दिवसमा बिदा दिने मात्र होइन, विकास र जनहितका कार्यमासमेत उल्लेखनीय कार्य गरेर उदाहरण बनेका छन् ।’
 
काँग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी लेख्छन्, ‘पौष २७ गते २०७ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस । अमेरीकाले आफूलाई विश्व मानचित्रमा उभ्याउनु भन्दा आठ वर्षअघि नेपाल एकिकरण गरि नेपाललाई सार्वभौम, स्वाभिमानी, स्वतन्त्र राष्ट्रको रुपमा विश्व सामु चिनाउन सफल पृथ्वीनारायण शाहको शालिक तोड्न र चार जात छतिस वर्णको हाम्रो फुलबारीलाई जातका नाममा गोड्न मा गौरव गर्ने हामी । उनले विश्वको ४८ औं सानो भुपरिवेष्ठित देश दुई ठुला शक्तिशाली राष्ट्रको बिचमा कसरी सुरक्षित र स्वाभीमानपुर्ण तरिकाले आफ्नो धर्म संस्कृति र आफ्फ्नो पहिचान सहित जोगाई राख्ने शिक्षा दिएका थिए । हाम्रा आन्तरिक एवम् वाह्य सर्वज्ञ प्रभुहरुलाई सचेत गराउन पर्दछ। ईतिहास शाक्षी छ राज्यको अस्तित्व अनेकतामा एकता कायम गरेर मात्र सम्भव छ। आज राष्ट्रिय एकता दिवसका दिन राष्ट्र एकीकरण गरि नेपाल जोगाउने र हामीलाई नेपाली भनी चिनाउने पृथ्वीनारायण शाहलाई हार्दिक नमन र विखण्डनकारी शक्तिलाई परास्त गर्ने हामीलाई शक्ति, साहस एवम् ज्ञान मिलोस् शुभकामना । जय मातृभूमि ।’

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल लेख्छन् – ‘नेपाल राष्ट्र निर्माणको जग बसाल्ने पृथ्विनारायण शाहको जन्मजयन्तिका अवसरमा वहाँ प्रति हार्दिक श्रद्धासुमन ।’

संविधानविद् विपिन अधिकारी लेख्छन् –‘एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो । यही विन्दुबाट एकीकृत राष्ट्र निर्माणको प्रक्रिया सुरु भएको हो।’

राप्रपा सांसद राजेन्द्र लिङदेन लेख्छन् – ‘नेपालगन्ज उपमहानगरपालिका, कचनकवल र रूवीभ्याली गापाले षौष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।यो शुरूवात हो।’

वरिष्ठ पत्रकार कनकमणि दीक्षित लेख्छन् –‘मलाई मेरो देश दिने उनलाई श्रद्धा–सुमन यस !’

रामेश लेख्छन् – ‘चेतना भया, चोर औँलो ठड्याएँ भन्दैमा सबै पृथ्विनारायण बन्दैनन्। मलाई मेरो देश दिने उनलाई श्रद्धा–सुमन ! पृथ्वि जयन्तिको शुभकामना !’

कुन्ती पोखरेल लेख्छिन् – ‘आजको दिन केवल एउटा राजाको जन्मदिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको दिन। राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीमा सम्पूर्णमा एकता र मेलमिलापको मिश्रित अमर भावको विकास होस्। घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।’
 
डा कमल लामिछाने लेख्छन् –‘नेपाल एकिकरणका युगपुरूष पृथ्वीनारायण शाहलाई फगत एकजना राजाको रूपमा संझने र उनको योगदानलाई अवमूल्यन गर्नु उनैले एकिकरण गरेको नेपाल देशमा बस्ने हामी नेपालीकालागि गम्भिर ऐतिहासिक भुल हुनेछ । एकिकरण विदेशीलाई मन पर्ने कुरै थिएन र छैन । त्यसैले, उनीहरूले युद्धमा भएका ज्याजतीलाई बढाइचढाइ गरे, पुस्तक लेखे र त्यसको फैलावटमा लागे । अनि हामी पहिचानवादी प्युसाहरू तिनै फिरंगीको पछि लागेर आफ्नै देश र राष्ट्र निर्माताको विरोध गर्न थाल्यौं । आफू मेटिएर, राष्ट्रको अखण्डतामाथि आँच पुर्याएर र नांगिएर पाइने पहिचान कस्तो हो मैले वुझेको छैन । दश वर्षिय विद्रोहमा सत्र हजारको रगतको भेललाई बिर्सिदिनु पर्ने, झापा बिद्रोह र नेपाली कांग्रेसको सशत्र आन्दोलनलाई विकल्पविहिन मानिदिनु पर्ने अनि आफ्नै देश निर्माण गर्ने पृथ्वीनारायण शाहको त्यो युद्धकालिन समयलाईचाहिँ अतिरन्जित गरिनुपर्ने ? ख्याल गरौं महाशय, हामी नेपाली र नेपाल भएको कसको कारणले हो ? यति धेरै आफ्नो यथार्थको बोध नगरी सतही नबन्नुहोस् , माटोको श्राप लाग्ला । तपाईंहरू जे ठान्नुहोस्, मलाइ पृथ्वीनारायणप्रति गर्व छ र यो राष्ट्रिय एकता दिवसका दिन उनीप्रति गहिरो सम्मान व्यक्त गर्दछु ।’

विजयकुमार पाण्डे लेख्छन् – ‘पृथ्वीनारायण शाहलाई राजावादीले निजी सम्पत्ति नठानुन् । गणतन्त्रवादीले उनलाई दिनुपर्ने उनको हक लाग्ने सम्मानमा कन्जुस्याइ नगरुन् । राष्ट्रनिर्मातालाई राजनीतिभन्दा माथि राखौं ।’ 

प्राज्ञ जगमान गुरुङ भन्छन् – ‘जातीय धरातलभन्दा माथि उठेर साझा पहिचानमा अगाडि बढ्यो भने मात्र राष्ट्रिय एकता कायम हुन्छ ।’

डा सुरेन्द्र केसी भन्छन् –‘भौगोलिक एकताले मात्र राष्ट्रिय एकता हुँदैन, राष्ट्रिय एकता हुनका लागि भावनात्मक एकताको खाँचो छ । भूगोलभित्र रहेको सम्पूर्ण जातजाति, धर्म, भाषाभाषी, साहित्य, लिपि, जीवन पद्धति आदिको समष्टिगत रुप नै राष्ट्र हो । सबै समुदायको समानुपातिक समावेशीसहितको समृद्ध र शान्तिपूर्ण नेपाल बनाउन सकिए मात्र राष्ट्रिय एकता हुनेछ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ