arrow

‘ गाडी नपाएपछि सोलु दुधकुण्डकी उपमेयरले गरिन नगर सभा बहिस्कार’

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
deputy-mayor-solu-dudhkunda.jpg

सोलुखुम्बु। सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयरले ‘गाडी’ नपाएपछि नगर सभा बहिस्कार गरेकी छिन्। उपमेयर कल्पना राईले गाडी नपाएपछि त्यसलाई राजनीतिक रुप दिन विभिन्न ९ बुँदे असहमती जनाउँदै नगर सभा बहिस्कार गरेको विज्ञप्ती जारी गरेको नगर सभा सदस्य तथा वडा नं २ का अध्यक्ष मिङमार दोर्जी शेर्पाले आरोप लगाए ।

‘उमपेयरले कार्यपालिकाको बैठकमा पटक पटक बेग्लै गाडीको माग गर्दै आएकी थिइन। ’ वडा अध्यक्ष शेर्पाले भने, ‘पुस २३ गते बसेको कार्यपालिका बैठकले गरेकोे सर्वसम्मत निर्णयलाई लिएर नगर सभाकै दिन किचलो झिक्नुको पछाडी केही स्वार्थ लुकेको छ ।’ खानेपानी तथा ढल निकासको शिर्षकमा संघीय सरकारबाट आएको २० लाख रुपियाँ रकम दोर्पुको ढल निकासमा विनियोजन गर्नुपर्ने लगायतका विषयमा बार्गेनिङ गर्दै आएको समेत उनको आरोप छ। उपमेयर राईलाई नगरपालिकाले महिनौ अघि उपलब्ध गराएको स्कुटर चलाउदै आएकी छिन् । मेयर नाम्गेल जाङबु शेर्पाले स्थानीय तहको निर्वाचन अघि नै खरिद गरिएको पुरानो गाडी प्रयोग गर्दै आएका छन्।

बहिस्कार टोलीले जारी गरेको विज्ञप्तीमा सभाको एजेण्डा अग्रिम रुपमा जानकारी नगराईएको, आफूखुशी मैसिन औजार भाडामा लिई प्रयोग गरेको, कार्यपालिका र नगर सभाको निर्णय छली ‘हेलो मेयर’ संचालन र इन्टरनेट जडानका लागि अनुमति दिएको, वडा शिक्षा समितिको सिफारिस विना दरबन्दी मिलान गरिएको, मेयरले एकलौटी योजना विनियोजन गरेको, खानेपानी तथा ढल निकासको शिर्षकमा संघीय सरकारबाट आएको २० लाख आफूखुशी विनियोजन गरेको लगायतका विषयमा असहमती जनाइएको छ ।

असन्तुष्ट समूहले विज्ञप्तीमा दरबन्दी मिलानको विषयलाई उठाएपनि नगरपालिकाले शिक्षकको काज व्यवस्थापन मात्र गरेको जनाएको छ । समस्या समाधानको नगरको उच्च निकाय नगर सभा नै भएकाले सभामा उपस्थित भएर विमतीका विषयमा छलफल गर्न मेयर नाम्गेल जाङबु शेर्पाले आग्रह गरे ।

४९ सदस्सीय नगरसभामा बहिस्कार विज्ञप्तीमा २२ जनाको नाम उल्लेख भएपनि १४ जनाको मात्रै हस्ताक्षर गरिएको छ। कार्यपालिका बैठकबाट पारित भएका योजना र निर्णय अनुमोदन र खानी तथा खनिज पदार्थ ऐन र कृषि तथा व्यवसाय प्रर्वद्धन ऐन पारित गर्ने गरि शुक्रबार नगर सभा डाकिएको थियो ।

उपमेयर सहितको असन्तुष्ट टोलीले नगरसभाको एजेण्डा अग्रिम जानकारी नपाएको आरोप लगाएपनि नगर सभा बस्ने मिति र विषयका बारेमा एजेण्डा सहित गत पुस १२ गते नगरपालिकाले सूचना जारी गरेको थियो । सो सूचना नगरपालिकाको सूचना बोर्डमा टाँस गरिएको छ भने वेवसाईटमा अपलोड गरिएको शेर्पाले बताए।

खानेपानी तथा ढल निकासको शिर्षकमा संघीय सरकारबाट आएको २० लाख रुपैयाँ फाप्लु क्षेत्रको ढल व्यवस्थापनमा खर्च गर्ने निर्णय पुस २३ गते बसेको कार्यपालिकाको बैठकमा निर्णय गरिएको थियो । सो बैठकको निर्णयलाई उपमेयर सहितको सदस्यहरुले सर्मथन जनाएका थिए । यद्यपी, दोर्पुबजारको ढल निकासका लागि संघीय सरकारबाट प्राप्त २० लाख रुपैयाँ विनियोजन गर्नुपर्ने उपमेयरको मनसाय रहेको स्रोतले बताएको छ। दोर्पुको ढल व्यवस्थापनका लागि अघिल्लो आर्थिक बर्षमा कामै नगरी तत्कालिन खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालयले भुक्तानी दिएको करिब ३३ लाख रुपैयाँ नगरपालिकाले फिर्ता गराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ