arrow

अधिकांश जनसम्पर्क प्रतिनिधी देउवातिर

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
janasamparka.JPG.jpeg
काठमाडौं । नेपाली कांग्रेसको विदेशमा रहेका अधिकांश नेपाली जनसम्पर्क समितिहरु पार्टीको आगामी नेतृत्वका लागि बरिष्ठ नेता शेरबहादुर देउवाको पक्षमा उभिएका छन् ।  शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर अमेरिका, बेलायत, कतार दक्षिण कोरिया, नेदरल्याण्ड, जापान, जर्मनी, बेल्जियम र यूरोपका महाधिवेशन प्रतिनिधिहरुले गतिशिल नेतृत्व र परिवर्तनको लागि आफूहरु बरिष्ठ नेता देउवाको पक्षमा उभिएको घोषणा गरेका हुन् । 
 
पत्रकार सम्मेलनमा जनसम्पर्क समिति जर्मनीका दिल गुरुङले जनसम्पर्क समितिबाट १ सय २६ महाधिवेशन प्रतिनिधि रहेकामा ८० प्रतिशत बढी देउवा पक्षमा रहेको जिकिर गरे । उनले भने,‘ रामचन्द्र पौडेल प्रधानमन्त्री र देउवा सभापति बन्नु पर्छ ।’ बेलायतका लोक गुरुङले जनसम्पर्क समितिले पठाएको नाममा संस्थापन पक्षले हस्तक्षेप गरेर तलमाथि पारेको आरोप लगाए । उनले भने,‘ १२ औं महाधिवेशनमा सुशील कोइरालालाई भोट हालेर जिताएका हौं । तर पार्टीको भातृ सस्थाको निर्वाचन भएन, पार्टी गतिशील पनि भएन । अब सुशीलले बनाएको संविधान कार्यान्वयन गर्न देउवालाई भोट हाल्नु पर्छ ।’
 
अमेरिकाबाट आएका आनन्द विष्टले शेरबहादुर देउवालाई जिताउँदा ६०–४० को भागबण्डा अन्त्य हुने र अभिभावक समेत प्राप्त हुने भन्दै आफूहरु देउवाको पक्षमा रहेको स्पष्ट पारे । कतारका विमल सुवेदीले देशको नेतृत्व गर्न सक्षम नेतृत्वको आवश्यकता रहेकोले शेरबहादुर देउवालाई विजयी बनाउनु पर्ने भन्दै सबै भ्रातृ संगठनको निर्वाचन गराउन र जनसम्पर्क समितिलाई पनि रुपान्तरित गर्न पार्टी सभापतिमा देउवाको आवश्यकता रहेको तर्क गरे । 
 
दक्षिण कोरियाका गिरीराज कुँवरले आफूहरु प्रारम्भमा कुनै पक्षमा नरहे पनि नेपाल आएपछि पार्टीलाई क्रियाशील बनाउन शेरबहादुर देउवाको आवश्यकता महसुस गरेर अरु जनसम्पर्क समितिको आग्रहमा आफूहरु पनि समर्थक बनेको बताए ।  नेदरल्याण्डका नारायण आचार्यले गुटको अन्त्य र मुलुकको पुनःनिर्माणकालागि शेरवहादुर देउवाको पक्षमा मतदान गर्ने बताए । 
 
जापानका नारायण सुवेदीले  संविधान कार्यान्वयन गर्न, पार्टीभित्रको भागबण्डा अन्त्य गर्न र मधेस समस्या समाधान गर्न र अरु पार्टीसँग बलियो डिलिङ गर्न पनि शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको तर्क गरे । बेल्जियमबाट आएका जनसम्पर्क समिति यूरोपका महासचिव गंगाधर गौतमले बदलिदो परिस्थितिमा मुलुक र पार्टी नेतृत्व गर्न शेरवहादुर देउवा मात्रै सक्षम रहेको भन्दै आफूहरु ८० प्रतिशत बढी त्यसको पक्षमा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ