पानीको हाहाकार भएपछि पाँचथरको सुख्खाग्रस्त क्षेत्र कुम्मायकमा डिप बोरिङबाट निकालियो पानी
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ माघ १ मंगलबार
545
Shares
पाँचथर । पाँचथरको सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिका–४, रानीगाउँमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएपछि स्थानिय हर्षित भएका छन् ।
खानेपानीको समस्या सुल्झाउन यसअघि नै निर्माण थालिएको तमोर लिफ्ट खानेपानी आयोजनाको निर्माणमा ढिलाई भएपछि तत्कालका लागि डिप बोरिङबाट पानी निकालेर वितरणको प्रयास थालिएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए। गाउँपालिकाका तीन स्थानमा डिप बोरिङका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ । बाँकी रकम गाउँपालिकाले नै लगानी गरी गाउँबासीलाई पानीको सुविधा गराउने उदेश्य रहेको अध्यक्ष चेम्जोङले बताए ।
उहाँका अनुसार ड्रिलिङ कम्पनीसँग २८ लाख रुपैयाँमा एउटा डिप बोरिङ गर्ने सम्झौता भएको छ । गाउँपालिकाको उत्तिसेमा डिप बोरिङ गरी पानी निकालिएको छ भने दुम्से र काफ्लेपानीमा पनि बोरिङ गरेर पानी निकालिने गाउँपालिकाले जनाएको छ । पिउने पानीको हाहाकार भएपछि कुम्मायक गाउँपालिकाले दुई वटा ट्यांकर र एउटा टयाक्टरबाट पानी ढुवानी गरी वितरण गर्दै आएको छ ।