arrow

कांग्रेसले शुरु गरेका क्रमागत योजना कम्युनिष्ट सरकारले काट्न थाल्यो – जोशी

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
gaumabhela.jpg

पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले आफुले पर्वत जिल्लामा भित्राएका क्रमागत योजना अहिलेको सरकारले हटाउन थालेको बताएका छन् । 

मोदी गाउँपालिका वडा नम्बर २ देउपुर र वडा नम्बर ३ देउरालीका विभिन्न टोलबस्तीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता जोशीले सडक, बिद्युत, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका क्रमागत योजना हटाउन थालेको बताएका हुन् । आफु सांसद भएपछि पर्वतका हरेक बस्तीमा बिद्युतिकरण, सडक, खानेपानी पुगेको काँग्रेस नेता जोशीले बताए । 

पर्वतका गाउँगाउँमा भित्राएका खानेपानी, सडकका क्रमागत योजना धमाधम अहिलेको सरकारले काट्न थालेकोमा उनले चिन्ता जनाए । ‘हरेक गाउँमा जान्छु विगतका क्रमागत योजनामा बजेट दोब्बर हुनुपर्ने हो तर धेरै योजनाको बजेट यो बर्ष काटिएको छ, कतिपय योजनालाई बजेटविहीन बनाइएको छ’ पर्वतमा विकासबादी नेताका रुपमा परिचय बनाएका नेता जोशीले भने । 

क्रमागत योजनालाई हटाउन जोड दिएर कतिपय क्रमागत योजनाको पैसालाई मैले ल्याएको भन्दै अहिलेको कम्युनिष्टबाट निर्वाचित जनप्रतिनिधि हिँडेको उनले बताए। उनले रेल, पानीजहाज र घरघरमा पाइपबाट ग्याँस ल्याउँछु भनेर जनतालाई भ्रमित पारेको दाबी पनि गरे । जनतालाई भ्रमित पारेर चुनाव जित्ने छट्टुहरु आगामी निर्वाचनमा किनारा लाग्ने विकासबादी नेता जोशीले उद्घोष गरे । 

पातिचौर घुरुङ्गा हुदै जलजलाबाट म्याग्दीको नाघीसम्मको दुई जिल्ला जोड्ने रणनीतिक सडकमा यस बर्ष बजेट काटिएकोमा उनले चिन्ता जनाए । ‘दुई जिल्ला जोड्ने रणनीतिक सडकमा गतबर्ष एक करोड ६० लाख पारेको थिए, यसबर्ष यो सडकमा कम्तीमा पनि पाँच करोड बजेट बिनियोजन हुनुपथ्र्यो तर अहिले जम्मा ५० लाखमा झारिएकोमा चिन्ता लागेको छ’ जोशीले भने । 

उनले क्रमागत योजना काट्ने राष्ट्रिय योजना आयोगको नीति नै नभएकोले अहिले पर्वतमा विगतदेखि सञ्चालन भएका दर्जनौ योजना सम्पन्न नहुँदै अहिलेको कम्युनिष्ट सरकारले हटाएको बताए । 

‘जुन गाउँमा जान्छु विगतका बर्षमा ल्याएका क्रमागत योजनामा बजेट घट्ने र बजेट नै नपार्ने पाएको छु, यो पर्वतको विकास निर्माणमा गरिएको सबैभन्दा ठुलो दुर्भाग्य हो’ जोशीले भने । त्यसैगरी मोदी गाउँपालिका वडा नम्बर ३ मा रहेको घुरुङ्गा खानेपानी योजनाको बजेट समेत अहिलेको सरकारले काटेको पाइएको छ । 

विगत चार बर्षदेखि निरन्तर रुपमा बजेट आएपनि यसबर्ष योजना पुरा नहूादै बजेट काटिएपछि घुरुङ्गाबासीको एक घर एक धारा अभियानमाथि अहिलेको कम्युनिष्ट सरकारले तुषारापात गरेको पाइएको छ । 

त्यसैगरी देउराली र देउपुरमा पनि काँग्रेसले भित्राएका अधिकांश योजनामा अहिलेको सरकारले बजेट बिहिन बनाएको पाइएको छ । कतिपय महिला समुह, सहकारी, आमा समुह, कृषक समुहलाई काँग्रेस भएकै कारण सिफारिस समेत नदिएको भन्दै स्थानीय आक्रोशित भएका थिए । 

मोदी गाउँपालिका वडा नम्बर २ मा प्रभावकारी ब्यावसायिक कृषि समुहलाई वडा अध्यक्ष विकास तिमिल्सिनाले साना किसान सिंचाई सुविधाका लागि सिफारिस समेत नगरेको स्थानीयले गुनासो गरेका थिए । उक्त समुहका सदस्यले देउपुरमा छ हजार पाँच सय सुन्तलाका नयाँ बिरुवा लगाएका छन् । सिंचाई अभावले गर्दा ती बिरुवा मर्ने अवस्थामा पुगेका छन् । वडा अध्यक्षले नै काँग्रेस भएकै कारण सिफारिस नदिएकोमा उनीहरुको आक्रोश थियो । 

भेटघाटका क्रममा जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले जनप्रतिनिधि सबैको साझा भएको र आफुले सोही अनुसार काम गरेको बताए । उनले अहिले जनताका न्युनतम आवश्यकतालाई नै ध्यान दिनुपर्नेमा जोड दिए । उनले जनतालाई रेल, पानीजहाज र घरघरमा ग्यासका पाइप भन्दा न्युनतम आधारभुत आवश्यकता महत्वपूर्ण भएको बताए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लगायत मोदी गाउँपालिका वडा नम्बर २ र ३ का काँग्रेस नेताहरुले उक्त वडाका विभिन्न टोल बस्तीमा पुगेर विगतमा भएका र अहिलेको विकास निर्माणको समिक्षा, विकासको अवस्था, जनताको भावना बुझ्ने र छलफल गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ