arrow

चीनमा स्मार्ट शौचालय प्रयोगमा

logo
अजय अलौकिक
प्रकाशित २०७५ माघ ८ मंगलबार
smart-toilet.JPG

चीन । चीनले भर्खरै पृथ्वीबाट नदेखिने चन्द्रमाको पछाडिको भागको सतहमा पहिलोपटक रोबोट अन्तरीक्षयानको सफल अवतरण गराइनुका साथै पहिलो पटक चन्द्रमामा बिरूवासमेत उमार्न सफल भएको छ। 

गत जनवरी ३ मा चन्द्रमामा अवतरण भएको उक्त अन्तरिक्ष यान छाङ्ग अ–४ ले बोकेर गएको कपासको बिउ चन्द्रमामा टुसाएको थियो तर केही समयपछि त्यसलाई उमार्न नसकेको समाचार पनि आयो। यसरी चीनले हरेक दिन विश्वलाई चकित पारिरहेको छ । यस्तै आश्चर्यलाग्दा समाचारहरू सम्प्रेषण गरिहरेका छन्, विश्व सञ्चार जगत ।

यसैबीच जनवरी २१ तारिखबाट चीनको ऊ हान सहरमा एउटा स्मार्ट शौचालय प्रयोगमा ल्याइएको छ। यस स्मार्ट शौचालयमा एअर कन्डिसन, गन्ध हटाउने प्रणाली, ट्वाईलेट पेपरका लागिअनुहार पहिचान आदि प्रबन्ध छन् । 

त्यसबाहेक यहाँ हिजोआज हरेक युवालाई अत्यावश्यक वाईफाईसमेत उपलब्ध छ । त्यो पनि निः शुल्क साथै मोबाइल फोन चार्जरको पनि व्यवस्था छ। त्यसैगरी शौचालयको डिजिटल स्क्रिनमा शौचालयसम्बन्धी सूचना पनि हेर्न सकिन्छ। कति वटा खाली छन् र त्यसैगरी शौचालयको वायु के कस्तो छ सबै जानकारी लिन सकिन्छ।

हाल ऊ हानमा‘शौचालयको क्रान्ति जारी छ र शहरी जनतालाई आवश्यक ५५९ वटा शौचालयमध्ये २०१८ मा ३४५ वटा पूरा भइसकेको छ र बाँकी २१४ वटा यस बर्षको अगस्ट सम्ममा सम्पन्न गर्ने योजना बनाइएको छ।

हुन त काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि चुनावको क्रममा काठमाडौंमा स्मार्ट ट्वाइलेट निर्माण गर्ने घोषणा समेत गरेका थिए। तर कार्यान्वयन भएको भने देखिँदैन। साथै राजधानी काठमाण्डुमापर्याप्त सार्वजनिक शौचालय समेत छैनन्।

काठमाडौं महानगरपालिकाका अनुसार, हाल ५७ वटामात्र सार्वजनिक शौचालय छन्।महानगरपालिकाको सडक विभागसँगको सहकार्यमा काठमाण्डुका थप ४२ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना भने छ।

त्यसै गरीकाठमाण्डुमा घुम्ती शौचालय पनि छन्। तर भएका यी सबैखाले शौचालयहरूव्यवस्थित भने छैनन्। शौचालय एक त फोहोर छन्, त्यसमाथि पानी छैन । चुक्कुल लाग्दैन प्रयोगविहीन अवस्थामा छन्।

सहस्राब्दी विकास लक्ष्य सन् २०१७ सम्म नेपालका सबै घरधुरीमा शौचालय हुने भनिएको थियो तर नेपाल सरकारले २०१७ भित्रै नेपाललाई पूर्ण खुला दिसामुक्त मुलुक घोषणा गर्ने लक्ष्य पूरा गर्न सकेन । 

अबको एक वर्ष भित्र नेपाल खुला दिसामुक्त क्षेत्र घोषणा भइसक्ने ढल निकास विभागले दावी गरेको छ। हालसम्म ६० वटा जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन्। काठमाडौंमा नै पर्याप्त सार्वजनिक शौचालय नबन्दा सरकारलाई उक्त लक्ष्य हासिल गर्न चुनौती बनेको छ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को संयुक्त प्रतिवेदन २०१४ का अनुसार विश्वमा अहिले पनि ४० करोड मानिस शौचालय प्रयोग गर्दैनन् । शौचालय नहुँदा सबैभन्दा बढी रोगको सङ्क्रमणबाट बालबालिका प्रभावित भएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ