arrow

सामुदायिक विद्यालयमा घुम्ती अभियान चलाउदै चम्पादेवी गाउँपालिका

logo
जीवन शर्मा,
प्रकाशित २०७५ माघ १३ आइतबार
okhal1.JPG

ओखलढुंगा। चम्पादेवी गाउँपालिकाले गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा घुम्ती अभियान  सुरु गरेको छ । गाउँपालिकाले सामूदायिक विद्यालयल तथा विकास निर्माणमा आइपरेका चुनौति समस्या समाधानका उपाय तथा गाउँपालिकाको दृष्टिकोण विषयमा घुम्ती अभियान सुरु गरेको हो ।

शुक्रबार चम्पादेवी गाउँपालिका २ स्थित गोल्मादेवी मावि पलापु बाट छलफल सुरु गरी अभियानलाइ निरन्तरता दिन लागेको गाउँपालिकाले जनाएको छ  । घुम्ती अभियानमा सामुदायिक विद्यालयको शैक्षिक अवस्था र नियुक्त गरिएको शिक्षक एवं प्राविधिक कर्मचारी बर्खास्त पछिको चुनौतिका विषयमा स्थानीयबासी, अभिभावक, शिक्षक तथा विद्यार्थी विच छलफल गरीएको गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर ८ का अध्यक्ष अजय लुइटेलले बताए । गाउँपालिकाको शैक्षिक सुधार तथा विकास निर्माणको गुणस्तरिएता बृद्धिका लागि भन्दै गाउँपालिकाले विभिन्न विद्यालयमा २१ जना शिक्षक र ७ जना प्राविधिक कर्मचारी नियुक्त गरेर सेवा प्रवाहलाइ चुस्त बनाउन थालेको स्थानीय पत्रकार सुजन पौडेलले जानकारी दिए ।

शिक्षक एवं कर्मचारी नियुक्तिको बैधानिक्तामाथि प्रश्न उठाउदै  नेकपाका स्थानीय नेता कार्यकर्ताहरुले उच्च अदालत विराटनगर इजलास ओखलढुंगामा उजुरी हालेपछि नियुक्त भएका कर्मचारी र शिक्षकलाई तत्कालका लागि काम नगर्न नगराउन अन्तरिक आदेश जारी गरेसंगै गाउँपालिकाको काम प्रभावित भएको प्रबक्ता लुइटेलको भनाइ छ  ।  गाउँपालिकाले ऐन नियम भित्र रहेर प्रकृयागत ढंगले आवश्यक केही कर्मचारी र शिक्षक नियुक्त गरेर गाउँपालिकाको शैक्षिक एवं विकास निर्माणलाई प्रभावकारी बनाउन खोज्दा नेकपाका केही नेताहरुले त्यसलाइ अवरोध गरेर विकास र समृद्धिमा असहजता ल्याउन खोजेको  गाउँपालिका प्रमुख नवराज केसीले बताए  ।

गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालय पुग्ने र स्थानीयबासी, अभिभावक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिसंग छलफल गर्न सुरु गरिएको चम्पादेवी गाउँपालिकाले जनाएको छ ।  सबै सामुदायिक विद्यालय क्षेत्रभित्रका अभिभावक तथा विद्यार्थीहरुले शैक्षिक सुधारका लागि गाउँपालिकाले गरेको कार्य प्रशंसनिय भएपनि त्यसलाई राजनीतिक रंग दिएर समस्या उव्जाउन नहुँने र नियुक्त गरिएका शिक्षकहरुलाई काम गर्ने वातावरण बनाएर शैक्षिक सुधारमा सहयोग गर्न सबैसमक्ष आग्रह समेत गरेका छन् । कर्मचारी र शिक्षक भर्नाको विषयलाइ लिएर दर्ता गरिएको मुद्धामा आदालतले अन्तरिम आदेश जारी गरेपछि आधा दर्जन विद्यालयको पठन पाठन अवरोध भएको स्थानीय गाउशिक्षा समितिका संयोजक एवं वडानम्बर १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले बताए । प्राविधिक कर्मचारी र शिक्षक अभाव खेपिरहेको चम्पादेवी गाउँपालिकामा नियुक्त गरिएका २१ जान शिक्षक र ७ जना प्राविधिक कर्मचारीलाइ काम गर्न रोक लगाएपछि गाउँपालिकाको विकास निर्माण संगै  सरस्वती आधारभूत विद्यालयल, शिवदुती आधारभूत विद्यालय र गोल्मादेवी आधारभूत विद्यालयको पठनपाठन पूर्णरुपमा ठप्प भएको प्रबक्ता लुइटेलले जानकारी दिए ।  त्यस्तै वालज्योती मावि, कालिका आधारभूत, जिवन ज्योति आधारभूत र सावित्री आधारभूत विद्यालयको पठन पाठन आंशिक रुपमा प्रभावित भएको उनको भनाइ छ ।

अधिकार सम्पन्न स्थानीय सरकारले ऐन कानुन अनुसार आवश्यक कर्मचारी नियुक्ति गरेर नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन खोज्दा यसलाई नेकपाले अनावश्यक वखेडा निकालेर सेवा प्रवाहलाई प्रभावित बनाएकाले यसको नैतिक जिम्मा नेकपाले लिनुपर्ने  गाउँपालिका प्रबक्ता लुइटेलले बताए । विद्यालयको शैक्षिक सुधारका लागि गाउँपालिकाले नगद अनुदान दिनुभन्दा अनुदान बाट शिक्षक नै व्यवस्थापन गर्दा प्रभावकारी देखेर शिक्षक भर्ना गरीएको उनको भनाइ छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ