arrow

चिनियाँ दसैं र विशाल मानव स्थानान्तरण

logo
अजय अलौकिक,
प्रकाशित २०७५ माघ १५ मंगलबार
ajaya-aloukik.jpeg

चिनियाँहरु हाल आफ्नो परम्परागत चाड मनाउने तयारीमा छन् जसलाई वसन्त चाड भनिन्छ र यो चिनियाँहरूको नयाँ वर्ष पनि हो। चिनियाँ चन्द्रपात्रो अनुसार नयाँ वर्षको पहिलो दिन यही फेब्रवरी ५ तारिख हो। यस वर्ष चिनियाँ पात्रो अनुसार सुङ्गुर वर्ष हो।

चिनियाँहरूको पनि बाह्र राशी नै हुन्छन् तर नेपाली समाजमा जस्तो न्वारनको नाम या यूरोपेली र अमेरिकीको जस्तो महिनामा आधारित नभइ वर्षको आधारमा हुन्छ। त्यसकारण यो एउटा सामान्य पात्रो परिवर्तन मात्र होइन र यसको सांस्कृतिक महत्व पनि उच्च छ। 

मानिसहरूले मनाउँदै आएका यस्ता हरेक चाडले परिवारलाई नजिक ल्याउँछ। विदेशमा या शहरमा रोजगारी गर्न हिँडेका या त अध्ययनरत विद्यार्थी सबैलाई यस्तै चाडले मिलन गराउने गर्दछ। त्यसै अनुरूप यो वसन्त चाड चिनियाँहरूका लागि पारिवारिक मिलनको पर्व पनि हो। यो पर्व चिनियाँहरूका लागि नेपालीको दसैं जस्तै नै हो । यस पर्वमा चीनमा सबैभन्दा लामो एक हप्ता विदा दिइन्छ साथै स्कुल तथा कलेजहरुको सत्र पनि यही बेलाबाट करिब एक महिनाको छुट्टी हुन्छ।

नेपाली समाजमा जसरी दसैं नजिकिएसँगै शहरबजारमा मेला लाग्छ चीनमा पनि त्यस्तै नै हुन्छ र सडकको सजावटदेखि बजार र पसलले वसन्त चाडलाई स्वागत गरेको हुन्छ र साथै यस वर्ष कुन जनावरको वर्ष हो भन्ने पनि जानकारी दिन्छ। अनि वसन्त चाडको आगमनसँगै घर जानका लागि तँछाडमछाड पनि शुरू हुन्छ जसरी नेपालमा लाहुर पसेकाहरु दसैंमा घर फर्कने क्रममा शहरका बसपार्कहरूमा देखिन्छन्। विशेषत काठमाण्डुबाट लाखौंको संख्यामा मानिसहरू बाहिरिन्छन्। दसैं लाग्नुअघिदेखिको यो यातायातको चाप कोजाग्रत पूर्णिमासम्म नै रहन्छ। पहिला गाउँघर, मूलघर जाने र पछि फेरि शहर फर्किने हतारो हुन्छ। यस्तै प्रक्रिया आआफ्ना चाडपर्वका बेला विश्वभर नै हुने गर्दछ तापनि चीनको दसैंको यातायात गतिविधि केही भिन्न छ।

यस चिनियाँ वसन्त चाडको यातायात गतिविधिलाई चिनियाँहरू छुनयून भन्छन्, छुनले वसन्त बुझाउँछ र यूनले स्थानान्तरण र यसको शाब्दिक अर्थ वसन्तको यातायात गतिविधि हो।

हाल विश्वको जनसंख्या ७ अरवभन्दा माथि छ र चीनको मात्र जनसंख्या १ अरव ३९ करोड छ। यसबाट पनि छुनयूनको चापको अनुमान लगाउन सकिन्छ। यस पटकको छुनयूनमा २ अरब ९९ करोड मानिसले यात्रा गर्ने अनुमान गरिएको छ जसकारण यस यातायात अवधिलाई सबैभन्दा ठूलो मानव समुदायको स्थानान्तरण भन्ने गरिन्छ। 

वसन्त चाडको पन्ध्र दिन अघि जनवरी २१ तारिखबाट शुरू भएको यस यातायात गतिविधि मार्च १ सम्म चल्ने छ र चालिस दिनको अवधिमा रेलमार्ग, राजमार्ग, जलमार्ग, हवाइमार्गबाट झण्डै तीन अरब मानिसले ओहोरदोहोर गर्नेछन्। राष्ट्रिय विकास तथा सुधार आयोगका उपप्रमुख लिआन वइलिआङका अनुसार, यस वर्षको छुनयून गत वर्षभन्दा ० दशमलव ६ प्रतिशतले बढ्ने छ। 

पछिल्ला वर्षहरूमा यस वसन्त चाडको विदामा आआफ्नो मूलघर मात्रै होइन अरू शहर र प्रान्त घुम्ने त्यसै गरी विदेश घुम्ने चलनको पनि निकै विस्तार भएको छ। त्यसबाहेक आफ्ना परिवारलाई आफू काम गरिरहेको ठूला शहरमा नै बोलाउने चलन पनि बढ्दो छ। यस चालिस दिनको छुनयूनमा ४ करोड ३० लाख यात्रा जलमार्गबाट हुनेछ भने रेलमार्गबाट ४१ करोड ३० लाख हुनेछ जुन गत वर्षको तुलनामा ८.३ प्रतिशतले बढ्ने अनुमान छ। त्यसै गरी हवाइमार्गको यात्रामा १२ प्रतिशतको बढ्दोत्तरी हुने र ७ करोड ३० लाख हवाइयात्रा हुने अनुमान छ। त्यसबाहेक बाकी यात्रा सबै सडकबाट हुनेछ अर्थात् २ अरव ४६ करोड यात्रा सडकमा चल्ने सवारी साधनबाट हुनेछ जुन गत वर्षभन्दा ०.८ प्रतिशतले घट्ने अनुमान छ। सडकमार्गको यात्रामा कतै हिउँ परेर त कतै हुस्सुले र अरू विविध तत्वले दुर्घटना निम्त्याउनसक्ने जोखिम भएकाले पछिल्ला समयमा यस छुनयूनको बेला सडकलाई भन्दा रेलमार्ग र अरू मार्गहरूलाई महत्व दिएको देखिन्छ।

चाईना एकेडेमी अफ ट्रान्सपोर्टेसनका विज्ञ याङ सिनचङका अनुसार, यात्रा र परिवहनका विभिन्न विकल्पको तिव्र विकासले सडकमार्गबाट हुने यात्रामा अपेक्षाकृत केही गिरावट आएको छ। पछिल्ला वर्षहरूमा नयाँ तिव्र गति रेलवेको सञ्चालन भएबाट पनि सडकमार्गबाट हुने यात्रा कम हुँदैजाने अनुमान लगाउन सकिन्छ। याङका अनुसार, सन् २०१४ देखि ८०० किलोमिटरभन्दा माथिको दूरिमा बसको यात्रामाथि प्रतिबन्ध लगाएबाट पनि सडक यात्रा घटेको हो। 

चाईना रेलवे कर्पोरेसनका उप महाप्रबन्धक लि वनसिनका अनुसार, गत वर्ष ४१ सय किमी तिव्र गतिका ट्र्याकका साथै समग्रमा ४ हजार ६ सय ८३ किमी रेलवे ट्र्याक सञ्चालनमा ल्याइएको छ। सन् २०१८ को अन्तसम्ममा चीनले १० वटा नयाँ रेलवे सञ्चालन गरेको छ र तिव्र गतिको रेलवे ट्र्याकको लम्बाइ २९ हजार किमी पुगेको छ। 

यस पटकको छुनयूनमा वसन्त चाडअघि ४ हजार ७ सय ८७ र चाडपछि ४ हजार ६ सय ८० वटा रेल सेवा दिने तयारी मिलाइसकेको छ जुन गत वर्षको तुलनामा ५ प्रतिशतका दरले बढाइएको छ र १०० वटा थप तिव्र गतिको रेल पनि सञ्चालनमा ल्याउने सम्बन्धित् निकायले जनाएको छ। 

राजमार्गको लामो, थकानपूर्ण र जोखिमको यात्राको तुलनामा रेलमार्ग उचित विकल्प हो तापनि राजमार्गमा पनि एकदमै भयानक ठुल्ठूला घटना घटेको खासै सुनिदैन। वर्षदिनभरभन्दा छुनयूनको समयमा दुर्घटना सामान्य रूपमा कम छ। नेपालमा भने सँधैजसो सडक दुर्घटना भइ नै रहन्छ त्यसबाहेक दसैंको अवधिमा यस्ता दुःखद दुर्घटनाहरू धेरै नै हुने गर्छन्। 

त्यसैगरी नेपालमा जुन दसैंमा घर जानका लागिको तँछाडमछाड र बाटोको अवस्था र बस र बसपार्कमा उपलब्ध सुविधा निकै नै खेदलाग्दो छ। चीनमा भने लाखौंलाखको संख्यामा हुने विश्वकै सबैभन्दा ठूलो मानिसको विशाल स्थानान्तरणको यस यात्रा अवधिमा हरेक पटक ग्राहकलाई के कसरी सुविधा दिने भन्ने विषयमा निकै ध्यान दिएको देखिन्छ। चीनमा लाईन बस्ने भनेको सामान्य हो जता पनि मान्छेको भिड हुन्छ तापनि छुनयूनलाई निकै व्यवस्थित गर्दै लगेको देख्न सकिन्छ। 

हाल नयाँ प्रविधिको विकास र विस्तारसँगै भिड नियन्त्रण र ग्राहकलाई सुविधा प्रदान गर्न अनलाईन र मोबाइल पेमेन्टको सुविधा छ जसबाट ग्राहक धेरै समय लाइन बस्नु पर्दैन। यी अनलाईन या एप्समार्फत टिकट खरिदबाट स्टेशनका काउन्टरमा मानिसको भिड देखिदैन। त्यसबाहेक कतिपय शहरहरूका रेल स्टेशन र राजमार्गहरुमा टिकट जाँचका लागि अनुहार पहिचान प्रविधिलाई प्रयोगमा ल्याइएको छ। त्यसै गरी मोबाइलबाट क्यूआर कोड स्क्यान गरी यात्रा गर्ने व्यवस्था पनि छ जसबाट टिकटलेस र ह्यासललेस अर्थात् कागजको टिकटको आवश्यक्ता नहुने र कुनै झमेला पनि नहुने सुविधा छ। त्यसै गरी आर्टिफिस्यल ईन्टलिजेन्स रोबोटको प्रयोगबाट पनि ग्राहकहरुले आवश्यक जानकारी र सहयोग पाएका छन्।वसन्त चाड सबै चिनियाँको हो र आउने दिनमा चाडको समयमा सबै कामकाज स्वचालित मेसिन र आर्टिफिस्यल ईन्टलिजेन्सको सहयोगबाट नहोला पनि भन्न सकिन्न। हाललाई यस अवधि भर दुई लाख तीस हजार स्वयंसेवकले सेवा दिने छ।

यस पटकको छुनयूनमा सामाजिक क्रेडिट प्रणाली पनि लागू हुने छ। उक्त प्रणाली चीनले गत वर्षको मै १ देखि लागू गरेको हो। अभद्र व्यवहार, झैँझगडा, चोरी तथा हानी नोक्सानी पुर्याउने र नियमविपरित तथा गलत काम गर्ने यात्रुलाई जरिवानासाथै वर्षदिनसम्म ती सार्वजनिक साधनको प्रयोगबाट वञ्चित् गरिनेजस्ता विविध नियमहरू उक्त प्रणालीमा छन् जसबाट विमान तथा रेलमा यात्रुहरुले देखाउने अनेकन् चर्तिकला पनि कम हुँदै जाने आशा गर्न सकिन्छ। यस प्रणालीको शरूआतबाट यात्राको दौरानमा सुखद वातावरणको आशा सुनिश्चित बनेको छ।

रेलमार्गको विस्तार मात्रै होइन चीनले हवाइयात्रामा पनि विशेष ध्यान दिइरहेको छ, स्वनिर्मित हवाइजहाजको परीक्षण पनि चलिरहेको छ र यस छुनयूनको समयावधिमा ७ करोड ३० लाख उडान हुने अनुमान गरिएको छ। पछिल्लो समय धेरै यात्रुको रोजाइमा हवाइयात्रा पर्ने गरेको छ। हवाइ सञ्जालको विस्तार र आमनागरिकको क्रयशक्ति बढेबाट पनि माग बढ्न गएको हो। 

चीनको नागरिक उड्ड्यन विभागले हवाइयात्रुको मागलाई सम्बोधन गर्दै बेइजिङ, साङहाई, क्वानचौ लगायत १० ठूला विमानस्थलमा आन्तरिक उडान बढाउनुका साथै २४ घण्टा नै सञ्चालन गर्ने योजना बनाएको उक्त विभागका उपप्रमुख तोङ चयीले जनाएका छन्। बढ्दो मागलाई पूरा गर्न चीनका मुख्य वायुसेवाहरू एयर चाईना, चाईना साउदर्न, चाईना ईस्टर्नलगायतले प्रशस्त मात्रामा उडानहरू थपेका छन्। हरेक दिन औसत १५ हजार ६०० उडान हुँदै आइरहेकोमा छुनयूनको समयावधिमा दिनमा ३५ हजार उडान भर्ने उपप्रमुख तोङ चयीले बताएका छन्। 

नागरिक उड्ड्यन प्राधिकरणले यस अवधिमा चिनियाँ आकाशमा ५ लाख ३२ हजार उडान हुने बताएको छ। विदेशमा अध्ययनरत तथा कार्यरत कतिपय चिनियाँहरू वसन्त चाड मनाउन चीन फर्कन्छन् भने त्यो भन्दा धेरै संख्यामा चिनियाँहरू वसन्त चाडको विदामा विदेश घुम्ने कार्यक्रम बनाउँछन्। पछिल्लो पुस्तामा विदेशयात्राको मोह निकै बढेको देखिन्छ। फ्लिग्गीडटकमका अनुसार, यस अवधिमा ४३ प्रतिशत चिनियाँहरूले परिवारसँगै विदेश भ्रमण गर्ने योजना बनाएका छन्। सिप्रदीका अनुसार, यस छुनयूनको अवधिमा ७० लाख लियन चिनियाँहरू नब्बेभन्दा धेरै देशको भ्रमणमा निस्कने छन्। 
यी भ्रमण गन्तव्यमध्ये एउटा देश नेपाल पनि रहेको छ। नेपालको पर्यटन सम्बन्धी विभिन्न निकायले यसै छुनयूनको अवधिमा चिनियाँकेन्द्रित कार्यक्रमहरू ल्याउनसके नेपाललाई फाइदा पुग्ने छ र नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य भेट्टाउन सहज हुने छ। 

यसै विशाल मानव स्थानान्तरण र यस छुनयूनको अवधिमा चीनले आफ्ना जनताको सुविधाका लागि गरेका यी तमाम काम र योजनाहरुलाई नेपालले पनि आफ्ना जनताको हितका लागि अनुकरण गर्नुपर्ने हो। तर कहिले?

हरेक वर्ष दसैं आउँछ, तर नेपाली जनतालाई घर जान यातायात असुविधाको कारण, सवारी साधनको अभावका कारण सधैँ पिरोल्ने गरेको छ। देशभरि नै गाडी गुड्ने सुविधाजनक सडक छैन, उडान भर्न आमनेपालीले सक्ने होइन र रेल पनि कागजमा मात्र छुटेको छ। कहिलेसम्म आमनेपाली जनताको हालत यस्तै असुरक्षित, अभावमय, कष्टपूर्ण र असुविधाजनक रहने हो? विशाल चीनको विशाल फड्कोबाट योजना र कार्यान्वयनको सिको गर्ने कि?

(लेखक अजय अलौकिक जन गणतन्त्र चीनको बेइजिङ अवस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका विशेषज्ञ हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ