arrow

पर्यटकीय गन्तव्य बनाउन महोत्सव

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ फागुन ४ शनिबार
syangja-vollyball.jpg

स्याङ्जा। मेला महोत्सवले भीरकोट नगरीलाई पर्यटकीय गन्तव्य बनाउन सघाउ पुग्ने भन्दै रमाईलो मेला तथा पुरुष भलिवल आयोजना गरिने भएको छ। आँधीखोला युथ क्लव भीरकोटले फागुन १७ देखि २६ गते सम्म रमाईलो मेला मार्फत पर्यटकीय गन्तव्य बनाउने अभियानमा लागेको हो।जिल्लाका ११ स्थानीय तह मध्ये भीरकोट नगरपालिका पर्यटकीय सम्भावना बोकेको नगरपालिका पनि हो। प्रचार प्रसारबाट आझेल परेका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको पहिचान गरि रमाईलो मेला मार्फत प्रचार प्रसार गर्ने अभियानले मेला आयोजना गर्न लागिएको क्लवका अध्यक्ष राजकुमार गुरुङ्ले जानकारी दिए। 

पर्यटकीय गन्तव्य मात्रै नभएर शिक्षा स्वास्थ्य, खेलकुद प्रर्वद्धनको लागी रमाईलो मेलाको आयोजना गरेको पत्रकार सम्मेलनमा गुरुङ्ले जानकारी दिए। यसअघि पहिलो र दोस्रो गरी २ मेला सफलतापुर्वक सम्पन्न गरिसकेको क्लबले यही १७ देखि २७ गते सम्म १० दिने मेलाको आयोजना गर्दै छ। शिक्षा, स्वास्थ्य र खेलकुदका साथै रचनात्मक सामाजिक कार्यका लागी अग्रसर हुने ध्येयले तेस्रो पटक समेत मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष एवं मेला मूल आयोजक समिति संयोजक गुरुङले बताए।

संयोजक गुरुङले भने,“यस अगाडि आयोजित मेलाबाट बचत रकम हामीले विभिन्न प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गरेका थियौँ र यसपटकबाट बचतको रकम समेत रचनात्मक सामाजिक कार्यमा खर्चिनेछौँ।”

शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा बचत रकम लगानी गर्ने भन्दै गुरुङले भने, “मेलामा विषेश गरी युवाहरुको आर्कषण रहेकोले भलिबल प्रतियोगिता समेत आयोजना गरेका छौँ।” २ सय स्टल रहने मेलामा औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्रि, कृषि उपजको प्रदर्शनी तथा विक्रि, हस्तकला प्रर्दशनी तथा विक्रि, सूचना प्रविधिका विषयमा जानकारी, अटोमोबाईल, पर्यटन प्रर्वद्धनका सामाग्रीको प्रदर्शनी, नगरपालिकामा रहेका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिईनेछ।
 
मेलामा पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारको प्रस्तुति, नेपाली संस्कृति झल्कने नृत्य, हाँस्यब्याङग्य प्रस्तुति, बालउद्यान, लाईभ कन्र्सटलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम मेलाको आर्कषण रहेको छ। भलिबल प्रतियोगितामा विजेतालाई नगद १ लाख सहित चाँदीको ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेतालाई ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने दर्ता शुल्क ५ हजार रहेको छ।

मेला सम्पन्न गर्नका लागी १४ उपसमिति गठन गरी कार्य अगाडि बढाईएको आयोजकले जनाएका छन्। साढे २ लाख दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको दावी रहेको छ। ८० लाख खर्च लाग्ने अनुमान गरीएको मेलामा १ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। २० लाख बचत गर्ने आयोजकको भनाई छ।
 
कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गानाले मेला समग्र भीरकोटको पहिचान भएकाले आयोजक टिम मेला सम्पन्न गर्नका लागी पुर्ण रुपमा खट्नुपर्ने बताए। स्थानीय सरकारको विधि, निति, नियमको दायरामा रहेर महोत्सव सम्पन्न गर्नुपर्ने भन्दै युवाहरुद्धारा आयोजित मेलामा सबैको साथ र सहयोग आवश्यक रहने उनले बताए। कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले मेलाले युवाहरुलाई समृद्ध समाज तथा राष्ट्र निर्माणमा जोड्ने बताए। अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन सचिव अस्मिता गुरुङले गरेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ