arrow

व्यवस्था फेरिए पनि अवस्था फेरिएन : सांसद राना

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ फागुन ५ आइतबार
shanti-samaj-palpa.jpg

पाल्पा। प्रदेश पाँचका प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका जिल्ला सभापति विरबहादुर रानाले देशमा व्यवस्था फेरिए पनि अवस्था जस्ताको त्यस्तै रहेको बताएका छन्। मानव अधिकार तथा शान्ति समाज पाल्पाले आयोजना गरेको नागरिक भेलालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले राजनितिक दल र मन्त्रीहरुको नैतिक अचारणका कारण व्यवस्था फेरिए पनि अवस्थामा परिवर्तन नआएको बताएका हुन्।

उनले देशमा लोकतान्त्रीक व्यवस्था ल्याउन ठूलो क्रान्ति र आन्दोलन गर्नु परेको स्मरण गर्दै अब लोकतन्त्रलाई संस्थागत गर्न नैतिकताको क्रान्ति आवश्यक रहेको औल्याए। देशमा राजनितिक दल, सरकारका मन्त्रीहरुमा नैतिकताको पतन भएकाले उनीहरुको बोलि र प्रवृत्तिका कारण हिंसा, भ्रष्टाचार र अनियमिता बढ्दै गएको सांसद रानाले धारणा व्यक्त गरे। 
उनले नैतिक आचारणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए। जनतामा राजनैतिक दलप्रति वितृष्ण पैदा भएकाले दललाई सजग बनाउन नागरिक समाज, मानव अधिकारकर्मीलाई आवाज बुलन्ध गर्न सांसद रानाले आग्रह गरे। उनले शान्ति सुशासन विना देशमा समृद्धि हुन नसक्ने भएकाले सबैले आ-आफ्नो ठाउँबाट शान्ति सुशासनको जागरण ल्याउनुपर्ने बताए।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति, सुशासन ल्याउन सोचमा परिवर्तन ल्याउनु पर्ने बताएका छन्। उनले राजनैतिक दल र मन्त्रीहरुमा भएको संकीर्ण सोचमा परिवर्तन नआए सम्म जनतामा शान्ति र सुशासनको प्रत्याभूति नहुने बताएका हुन्।

अभियान्ता पहाडीले पछिल्लो समयमा सरकारका मन्त्रीहरु सुपर मन्त्रीका रुपमा अगाडि बढेकाले लोकतन्त्रमा जनता भन्दा माथि अरु कोही हुन नसक्ने धारणा व्यक्त गरे। उनले जहाज खरिद प्रकरणमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले राजीनामा गर्नु पर्ने बताए। मन्त्री अधिकारीले संसदलाई ढाटेको भन्दै अधिकारी पदमा बस्नुको लागि उपयुक्त नहुने उनको भनाई छ।

उनले प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई बर्खास्त गर्न नसक्नु ठूलो कमजोरी भएको पनि बताए। प्रदेश ५ सरकार र प्रदेश सभा सचिवालयले गाडी खरिदमा गरेको अनियमिततामा दोषीलाई कारबाही गर्न नागरिक समाजले आन्दोलन थाल्नुपर्ने उनको भनाई छ। 

पहाडीले भने ‘जो जसले गाडी खरिदमा अनियमितता गरेका छन्, उनीहरुलाई कारबाही गर्नका लागि तपाईंहरु आवाज उठाउनुस्।’ उनले नागरिक समाजले जहिलेपनि व्यक्तिभन्दा पनि विषय र प्रवृत्तिको विरोध गर्ने उल्लेख गर्दै देशभर भ्रष्टाचारको विरोधमा शान्ति समाजले अभियान थालेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ