arrow

सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार

बैतडी। सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवं प्रदेशमार्फत सिफारिशबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको हो।

सुदूरपश्चिमका सात स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको मन्त्रालयल जनाएको छ। बैतडीको सिगास गाउँपालिकाको केन्द्र साविकको शिवलिङ्ग गाविसको गर्जे कायम गरिएको छ।

यसअघि उक्त गाउँपालिकाको केन्द्र गर्जे अथवा गाँजरी राख्ने भन्ने निर्णय भएको थिएन। सबैलाई पायक पर्ने र बीच केन्द्र भएकाले गर्जेमा केन्द्र राख्ने निर्णय गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।

दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडाबाट सारेर होपरीगाड र लेकम गाउँपालिकाको केन्द्र रातामाटा तोकिएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सल्ला–बान्चौर कायम गरिएको छ। यस्तै, बझाङको काँडा गाउँपालिकाको नाम साइपाल, डोटीको वोगटान गाउँपालिकाको नाम वोगटान–फुड्सिल, सायल गाउँपालिकाको केन्द्र ओमनगर राखिएको छ।

बाजुराको पाण्डवगुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डी, स्वामीकार्तिक गाउँपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाइ, छेडेदह गाउँपालिकाको नाम खप्तड छेडेदह गाउँपालिका कायम गरिएको छ। हिमाली गाउँपालिकाको केन्द्र बाँधु धुलाचौर तोकिएको छ।

सङ्घीय सरकारअन्तर्गतको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अगाडि देशका ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो। हेरफेर गरिएको नाम तथा केन्द्रबाट कामकारवाही अगाडि बढाउनसमेत सरकारले निर्देशन दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ