छुई संसारमा एक दिन

'छाउपडीको कुरा गर्दा सुदूर पश्चिमलाई ट्याग लगाउने जमात पनि सम्झिएं'

हंशराज जोशी, प्रकाशित मिति : २०७५ फाल्गुण ६ सोमबार

ललितपुरको एक ठाँउ, जुन न सहर हो न त गाउँनै । त्यहि ठाँउमा म बस्छु ।  शुक्रबार बेलुका सुत्नु अगाडि भोली शनिबारका लागि केही साथीभाईहरुसंग घुमघाम र भेटघाटको योजना बन्यो । हप्तामा एक दिन आफ्ना लागि बाँच्न पाउँदा कसलाई पो रमाइलो नलाग्दो हो? भोलीको लागि मन मनै योजना बनाउँदै र जानु पर्ने ठाँउ र गर्नु पर्ने काम जतिको सूचि पनि मोबाइलको ‘नोटप्याड’मा लेख्दै गएं । कहिलेकाहिं अर्ध निन्द्रामा सम्झिएको कुरा तुरुन्त टिप्न पाईएन भने भोली बिहान लाख कोशीस गरे पनि सम्झिन सकिंदैन । सायद यो समस्या मेरो मात्र हैन जस्तो पनि लाग्छ । 

यस अर्थमा पनि अहिले प्रयोगमा आएका स्मार्ट फोनहरुको महत्व म जस्ता भुलक्कडहरुलाई अलि बढी हुने भै हाल्यो । शनिबारका योजनाहरुको बारेमा अर्ध निन्द्रामा मात्र नभई रातभर अटूट सपनाहरुले पनि सम्झाई रहे । बिहान भयो र हिजो बुनेका सपना पछ्याउने दौड शुरु गरे । एउटा पनि सफलता हात लागेन र बेलुका आएर मोबाइलको नोटप्याडमा अर्को शनिबारका लागि मिति सारे । 

शनिबार बिहान उठेर सधैझै केही अनलाइन समाचारहरु हेरे । शुरुमै छाउगोठमा निस्सासिएर एक महिलाको मृत्यु भएको भन्ने खबर देखियो । मैले मेरो बाल्यकाल जस्ता प्रकारका छाउगोठहरुमा बिताए, त्यस्तै छाउगोठहरु करिब तीन दशक पछि पनि महिलाहरुको मृत्युको कारण बन्दैछन भन्ने कुराले मन निकै कुडिएर आयो । दिनभरिको रमाइलाको केही हिस्सा यस समाचारले खाई दियो । खासमा यो समाजको अन्धबिश्वास हो बिस्तारै घट्दै जान्छ भन्ने ‘लिबरल’ किसिमको सोच राख्ने नीति निर्माता र समाजका अगुवाहरु र तिनिहरुको संकिर्ण सोचाई प्रति खिन्नता बढेर आयो । 

त्यस पछि उदास मनलाई शान्त पार्न एक छिन केही दिन अगाडि डडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले गाउँ सभामा छाउपडी मान्ने परिवारका सरकारी सुबिधा खोसिने वा नदिइने भनि गरेका निर्णय सम्झिएं । त्यस बिषयलाई बिभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुले स्थान पनि दिए । स्थानीय सरकारको यस किसिमको कदमले छाउपडी केही हदसम्म भए पनि निरुत्साहित पक्कै हुन्छ । अघिका समाचारले खोसिएको खुसी केही मात्रामा यस समाचार मार्फत फिर्ता ल्याउन सके । 

हिजोको योजना अनुरुप बिहान सात बजे निस्किएर सपरिवार ललितपुरमा रहेको सन्तानेश्वर मन्दिर दर्शन गर्न जाने योजना थियो । बिहान उठे पछि धर्मकर्ममा निस्किनका लागि त अलि अलि भए पनि स्नान गर्नै पर्ने भयो । सकि नसकि ‘फास्ट ट्रयाक’ वाला स्नान गरियो । यति गर्दा समय साडे सात भई सकेको थियो । अव कहाँ नेर भेट्ने भनि साथीलाई फोन गरे । साथीको घरमा त ‘गडबड’ भइसकेको रहेछ राति नै । सोही गडबडका कारण सन्तानेश्वर जाने कुरा कुनै पनि बिकल्प बिना रद्द गर्नु पर्ने भयो । देउतामा बिश्वास गर्ने अधिकांशका कुरा सुन्दा देउताले कुनै गडबड हुन दिनु हुन्न र भएको गडबड पनि एक दर्शन र धुप चढाए निको पारि दिनु हुन्छ भन्ने बिश्वास गर्छन । यो साँचो हो की हैन भन्ने बैचारिक हैसियत मैले राख्दिन तर के मात्र भन्न सक्छु भने महिलाहरुमा हुने महिनाबारी आजका मिति सम्म पनि अछुत सिद्द भएको छ र देउताले ति महिलाहरु माथि भएको यस्तो अन्यायलाई न्याय दिन कन्जुस्याई गर्नु भएको कुरा पक्का हो । 

जे हुनु थियो भयो, अब चाहि बिहानको तीन घन्टा समय घरमै बिताउने निर्णय गरे । त्यसपछिको योजना अनुरुपनै एक जना अर्को साथीको घरमा वहाँको छोराको कपाल मुन्डन गर्ने पूजाको निम्तो थियो र सो निम्तो मान्न जानु पर्ने थियो । म बस्ने ठाँउबाट अलि टाढा भएकाले हिडेर जान सम्भव भएन । भटभटे चढी म र एक जना साथी त्यता लाग्यौ । करिब १२ बजेको हुदो हो त्यहा पुग्दा सम्म । त्यो साथीको परिवार आफ्नो घर बाहिरको चौरमा घाम तापि रहेका रैछन । कठ्याउने चिसोको बेला  शनिबारका दिन चौरमा बसी घाम ताप्नुको मजा अतुलनीय छ सबैका लागि । मनमनै हामी ढिलो भएछौ क्यारे भन्ने सोचियो । हुन पनि हो सानो छोराको कपाल खौरिने काम गरिसकेका रैछन । तर वहाँहरुले योजना बनाए जस्तो गरि बिहानमा पूजा गर्ने र त्यसपछि कपाल खौरिने भन्ने कुरा रद्द भएछ । 

खासमा हरेक शुभकार्यमा शुरुवाती पूजा श्रीगणेश र कलशको हुन्छ  र अनि अरु शुभकार्यको बाटो खुल्छ । तर सो सानो बाबुको आमा (मम्मी) को महिनाबारीको कारण सो शुरुवाती पूजा नगरिकन सिधै कपाल खौरिने काम गर्नु भएको रैछ । त्यहि बहानमा साथीहरुसंग भेट त हुन्छ भनि वहाँले कार्यक्रम रद्द भएको कुरा सुनाउनु भएनछ । हामीलाई पनि ठिकै भयो, साथीको आफ्ने हातले पकाएको चिया खाने मौका बर्षौ पछि पाइयो भन्दै एक चिम्टी जति अनुहारमा हाँसो ल्यायौं ।  

बेलुका घर फर्किदा अबेर भयो । सबै जनासंग चाडो चाडो बिदा मागि हिडे । हामी बेलुकाको खाना सात बजे अगाडि नै खाइ सक्छौ । आफ्नो आफ्नो जिम्मेबारीका कामहरु पनि छिटै सक्छौ । म घर आउदा करिब सात बजी सकेको थियो । शारिरिक रुपमा थाक्नु त नियमित दिनचर्या हो तर शनिबारको थकाई अर्कै किसिमको थियो । मानसिक रुपमा थाकेको मात्र थिइन, गली सकेको थिए । कति चाँडो खान पाउला र सुतौला भन्ने कुरा सोची चुलो तिर हेरे । सबै भाँडाकुडा सधैझै सफा गरेर राख्ने गरेको स्टीलको ‘र्‍याक’मै छन । अलि अनौठो लाग्यो । 

खाना छ की भनेर सोध्दा आज खाना पकाउन शुरुनै नगरेको कुरा थाहा पाएं । भोक र थकानका कारणले अलि अलि रिस उठेछ तैपनि कारण सोध्न मन लाग्यो । खास कुरा मेरो घरमा पनि आज दिउँसो त्यहि ‘गडबड’ भएको रहेछ । सामान्य अवस्थामा हामी त्यो गडबड भएको बेला भान्सा बार्देनौ तर त्यो दिन चुलो सल्काउने लाइटर भान्साको अर्को पट्टि भित्तामा राखिएको सानो दराजमा परेछ । घरमा ३ बर्षको छोरा छ र त्यसले लाइटर चलाउन सिकेकोले छोराले नभेट्ने ठाँउमा दिउसै राखिएको रहेछ । त्यो दराजमा कुनै बेला आवश्यक पर्छ भनेर मेरा बुवाले भारतको तिर्थ हरिद्धार जाँदा लिएर आउनु भएको गंगाजलको बोतल राखिएको हुदा छुन नमिल्ने भएको रहेछ । 

आफुले आफैलाई ‘लौ मिस्टर जोशी भात पकाउन थाल्नुस’ भन्ने आदेश दिनुका अलावा केही बिकल्प थिएन  । त्यो दिन राति केही गरि अस्पताल गएर कुनै जाँचहरु गर्नु परेको भए डाक्टरले कुन चाहि अंगको शल्यक्रिया गर्नु पर्ने भयो भन्नु हुन्थ्यो होला, धन्न निदाएछु र केही भएन ।  

सधैं झै अर्ध निन्द्रामा त्यो साँझ छाउपडी (छुइ) का कारण आक्रान्त बनेको मेरो देश, सहर र गाउँ सम्झिए । मेरो दिन खराब तरिकाले बितेकोमा खासै दुःखी छैन । दुःख त यस अर्थमा छ की मलाई दूइवटा सिरक ओढेर सुत्दा पनि कठ्याउने जाडो गाउँको त्यो छाउगोठमा कति बर्गत देखाउदो हो?

तातो पानीले नुहाउँदा पनि फास्ट ट्रयाकमा नुहाउनु पर्ने हामीलाई के थाहा, बिहानै ‘छुया’ कपडाको पोको बोकी खोलामा गई सो कपडा धुँदा र नुहाउँदाको जाडो । र हामीलाई हरेक महिना छाउपडीका नाममा सहर र गाउँमा सहनु पर्ने अनेक बाध्यता र बन्देजहरुका कारण श्रृजित निराशाजनक मनोभावको अनुभूति पनि छैन । सबै भन्दा भयानक त के भने छाउपडीका बिभिन्न कुप्रथाहरुका कारण महिलाहरुको संभावित मृत्यु हुँदाको बखतको बाच्ने चाहना सहितको छटपटाहट हामी एकपल्ट कल्पना पनि गर्न सक्दैनौ तर दिनानुदिन कसै न कसैले भागिरहेको छ ।  

छाउपडीको कुरा गर्दा सुदूर पश्चिमलाई ट्याग लगाउने जमात पनि सम्झिएं र महानगरबासीले बार्ने छाउपडीका अभ्यासहरु पनि संगै सम्झिए । म मात्र नभई शहर र गाउँका महिलाहरुले भोग्दै आएको यो समस्या साझा हुँदा हुदै पनि यसलाई कुनै ठाँउ बिशेषसंग मात्र जोडेर हेर्ने कुरा अन्यायपूर्ण छ । जब सम्म छाउपडी सुदूर पश्चिमको कुरिति मात्र नभई हामी सबैको साझा समस्या हो भनि आत्मानुभूति हुदैन तब सम्म यो समस्याको समाधान पनि टुक्रे हिसावले मात्र हुनेछ । 

ट्वीटरः @joshihanshu

नयाँ