arrow

यसरी बढ्दैछ विश्व उद्योगमा चीनको राज

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
chinas.jpeg

काठमाडौं । पछिल्लो समय विश्वमा चीन एक महत्वपूर्ण शक्ति राष्ट्रको रुपमा उदाएको छ । यस्तोमा चिनियाँ कम्पनीले समग्र विश्वमा आफ्नो प्रभाव विस्तारको प्रयास गरिरहेका छन् । यस्तोमा चिनियाँ कम्पनीको प्रभुत्व विस्तार हुन सक्ने आशंकाबाट डराएर फ्रान्स र जर्मनीका रेल कम्पनीले युरोपेली औद्योगिक क्षेत्रको विकासको लागि संयुक्तरुपमा का मगर्ने घोषणा गरेका छन् ।

गत साता युरोपियन युनियन (ईयू)ले एल्स्टोम र सिमेन कम्पनीलाई विशेषाधिकार प्रयोग गर्दै मर्जरको अनुमति दिएको हो । यद्यपि चीनको बढ्दो औद्योगिक विस्तारबारे चासो भने अझै सकिएको छैन । चिनियाँ कम्पनीहरु रेल उद्योगमा मात्र सीमित भने पक्कै पनि छैनन् ।
यहाँ चिनियाँ कम्पनीहरुले प्रभाव बढाइरहेका विश्वका केही क्षेत्रहरु उल्लेख गरिएको छ –

रेल
चिनियाँ कम्पनी सीआरआरसी विश्वको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी हो । यो कम्पनीले विश्वभरबाट रेलका लागि अर्डर पाइरहेको छ । कोलम्बियादेखि कम्बोडियासम्म यो कम्पनीको प्रभाव छ । साथै यसका ग्राहक आयोनिक लण्डन अन्डरग्राउण्ड र जर्मनीको दोयचे बान पनि समावेश छन् ।

यो कम्पनीको वार्षिक आम्दानी २६ अर्ब युरोबराबरको छ । यो कम्पनीको वार्षिक आम्दानी पश्चिमा हेभीवेट कम्पनीहरु बम्बार्डियर, सिमेन र एल्स्टोमको संयुक्त आम्दानीभन्दा पनि बढी हुन्छ । यी कम्पनीले वार्षिक करिब नौ अर्ब युरो आम्दानी गर्छन् ।

कृषि–रसायन
चिनियाँ कम्पनी केम चाइना विश्वको सबैभन्दा ठूलो बीज तथा औषधि निर्माता कम्पनी हो । सन् २०१७ मा यो कम्पनीले स्वीस औषधि कम्पनी सिन्जेन्टालाई ४३ अर्ब डलरमा खरिद गरेको थियो । यससँगै यो कम्पनीको मोन्सान्टो र डोडुपोन्टजस्ता कम्पनीसँगको प्रतिस्पर्धा बढेको थियो ।

सिन्जेन्टा कम्पनीलाई खरिद गर्नु चिनियाँ कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी कम्पनी खरिद हो । यसअघि चिनियाँ तेल कम्पनी सीएनओओसीलाई सन् २०१३ मा क्यानडाको नेक्सन इनर्जीले खरिद गरेको थियो । केमचाइनाले इटालियन टायर निर्माता पिरेल्ली र जर्मनीको मेसिनरी कम्पनी क्राउजमाफेईलाई पनि खरिद गरेको थियो ।

ऊर्जा
ऊर्जाको क्षेत्रमा चाइना न्युक्लियर कम्पनी (सीएनएनसी)ले आफ्नो सन् २०१५ मा स्थानीयस्तरमै विकास भएको हुवालङ वान न्युक्लियर रियाक्टर सार्वजनिक गरेको थियो । फ्रान्स र अमेरिकी मोडलसँग प्रतिस्पर्धाको लागि कम्पनीले सो रियाक्टर निर्माण गरेको थियो । अहिले त्यसलाई अर्जेन्टिना र पाकिस्तानमा कम्पनीले बिक्री गरिरहेको छ ।

चिनियाँ सोलार प्लानल निर्माता जिन्को, ट्रिना र सोलारले विश्व बजारमा आफ्नो नियन्त्रण कायम गरेका छन् । चिनियाँ तेल कम्पनीहरु सीएनओओसी, सीएनपीसी र सिनोपेकले आफ्नो लगानी बढाइरहेका छन् । यद्यपि उनीहरुका विपक्षीहरुले भने यो क्षेत्रको लगानी कटौती गरिरहेका छन् ।

उड्डयन
चिनियाँ हवाई विमान निर्माता कोम्याकले सन् २०२१ सम्म आफ्ना ग्राहकलार्य पहिलो स्वदेशी यात्रुवाहक विमान प्रदान गर्नसक्ने अनुमान गरिएको छ । यो कम्पनीले आगामी दिनमा अमेरिकी विमान निर्माता बोइङ र एयरबसलाई पनि चुनौती दिने अनुमान गरिएको छ । कम्पनीले आफ्नो १ सय ६८ सिटको सी९१९ विमानको लागि हजारभन्दा बढी अर्डर आएको बताइसकेको छ ।

खाद्यान्न
चिनियाँ खाद्यान्न कम्पनी कोफ्कोले अहिले विश्वको खद्यान्न व्यापारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । सिंगापुरको नोबल र नेदरल्याण्डको निडेरा कम्पनीलाई खरिद गरेसँगै यो कम्पनीले विश्वको खाद्यान्न बजारमा आफ्नो पहुँच बलियो बनाएको हो । सन् २०१३ चीनको डब्ल्यूएच ग्रुप विश्वको सबैभन्दा ठूलो सुँगुरको मासु उत्पादक कम्पनी बनेको थियो । जतिबेला कम्पनीले प्रमुख अमेरिकी कम्पनी स्मिथफिल्ड फुड इंक कम्पनी खरिद गरेको थियो ।

ड्रोन
सन् २००६ मा चिनियाँ विश्वविद्यँलयका विद्यार्थीहरुले स्थापना गरेको डीजेआई अहिले विश्वको सबैभन्दा ठूलो नागरिक ड्रोन निर्माता कम्पनी बनेको छ । यो कम्पनीले समग्र विश्वको ड्रोनको व्यापारमा यो कम्पनीको हिस्सा ७० प्रतिशत रहेको छ । प्रतिस्पर्धी फ्रान्सेली कम्पनी प्यारोटलाई पछि पार्दै यो कम्पनी सबैभन्दा ठूलो ड्रोन कम्पनी बन्न सफल भएको हो ।

स्मार्टफोन
पछिल्लो समय चिनियाँ निर्माताहरुको स्मार्टफोनले विश्वभर बजार लिइरहेको छ । विश्वको समग्र स्मार्टफोनको व्यापारमा हुवावेईको १५ प्रतिशतको हिस्सा रहेको छ भने साओमीको ८.७ प्रतिशतको हिस्सा छ । त्यस्तै ओप्पोको पनि ८.१ प्रतिशत हिस्सा छ । गत वर्ष हुवावेई र ओप्पोको व्यापार ३० प्रतिशतले बढेको थियो । जबकी प्रतिस्पर्धी कम्पनीहरु एप्पल र सामसुङको व्यापारमा भने कमी आइरहेको छ ।

घरेलु उपकरणहरु
चीनको हायर ग्रुप विश्वको सबैभन्दा ठूलो घरेलु उपकरणहरु निर्माण गर्ने कम्पनीहो । यो कम्पनीले विश्वको समग्र बजारको करिब १० प्रतिशतको हिस्सा ओगटेको छ । यो कम्पनी ह्रिलपूल र इलेक्ट्रोलक्सभन्दा पनि अगाडि छ । हायरले सन् २०१६ मा अमेरिकी कम्पनी जेनेरल इलेक्ट्रिकको घरेलु उपकरणको शाखा पनि खरिद गरेको थियो ।

ब्याट्रि
चिनियाँ कम्पनी सीएटीएलले फक्सवागन, फोर्ड र डाइम्लरजस्ता कम्पनीलाई आफ्नो ब्याट्रि सप्लाई गर्ने गरेको छ । यो कम्पनीले विश्वको लिथियम ब्याट्रिका लागि सबैभन्दा अगाडि रहेको जापानी कम्पनी पानासोनिकसँग प्रतिस्पर्धा गरिरहेको छ । चिनियाँ कम्पनीको उत्पादनको क्षमता सन् २०२० सम्म पाँच गुणा बढ्ने अनुमान छ । त्यसका लागि कम्पनीले चीनमा आफ्नो नयाँ फ्याक्ट्री पनि स्थापना गरेको छ । साथै कम्पनीले जर्मनीमा ठूलो फ्याक्ट्री स्थापनाको घोषणा गरेको छ ।

ढुवानी
चिनियाँ कम्पनी कोस्को ग्रुप विश्वको तेस्रो सबैभन्दा ठूलो आपूर्तिकर्ता कम्पनी हो । यो कम्पनीका विश्वभर ५० कन्टेनर पोर्ट रहेका छन् । यसले ग्रिसको पिरायुस र स्पेनको बिल्बाओमा पनि आफ्नो व्यापार विस्तार गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ