arrow

११ नम्बर धारालाई उत्कृष्ट धारा पुरस्कार

logo
सीता डोटेल,
प्रकाशित २०७५ फागुन ८ बुधबार
dharal-11.jpg

पाल्पा । जिल्लाको रामपुर नगरपालिका ४ मा सञ्चालित खोप्टार दर्छा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ११ नम्बर धारालाई उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ । गत १६ बर्षदेखि सञ्चालनमा आएको योजनाको धाराहरु मध्ये बिभिन्न ५ बुँदे ईन्डिकेटरलाई पुरा गर्दै धारा नम्बर ११ ले उत्कृष्ठ पुरस्कार जितेको हो ।

कालीगण्डकी करिडोर भन्दा ५ मिनेट उत्तरमा रहेको यो धारा सरसफाईका विभिन्न इन्डिकेटर पुरा गरेर उत्कृष्ठ ठहरिएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष पे्रम बहादुर पोखरेलले बताए। खानेपानी योजना सञ्चालन देखि नै सही रुपमा पानीको प्रयोग र सरसफाईलाई मध्यनजर गर्दै प्रत्येक बर्ष उकृष्ठ धारालाई पुरस्कृत गर्दै आएको छ । अनुगमन तथा मुल्याङ्कन समितिले धाराको पानीको टुटी, गेटबल चुस्तदुरुस्त भएको, रङ्गरोगन, धारामा धाराको परिचय झल्कने लेखाई (बोर्ड), धारा वरिपरीको सरसफाई लगायतका बिषयमा उत्कृष्ठ ठहरिनेलाई पुरस्कृत गर्ने नियम राखेको थियो ।
 
गाउँमा १३ वटा धारा छन् । मुल्याङ्गन उपसमितिका संयोजक तथा संस्थाका पुर्व उपाध्यक्ष लुक बहादुर बिरकर्टाले ११ नम्बरको धारा सधै सफा राख्ने, धारा नजिकै फोहोर सङ्कलन बाल्टी राखेको, धारामा धाराको केन्द्र नम्बर, उपभोक्ता घरधुरी, उपभोक्ता महिलापुरुष संख्या उल्लेख गरेको साथै धाराका सामाग्री कही कतै टुटेफुटेको नभेटिएकाले सविता थापाको ११ नम्बर धारा उत्कृष्ठ ठहरिएको बताए । त्यस्तै धारा नम्बर ९ द्धितिय भएको छ भने क्रमशः धारा नम्बर १० तृतीय र धारा नम्बर ५ सान्त्वना भएको छ ।  उत्कृष्ट धाराहरु सम्मानले खानेपानी धाराको सदैव स्याहारसुसार हुने र उपभोक्तामा व्यवस्थित खानेपानी र सरसफाईमा हौसला थपिने भएकाले यस सम्मानलाई निरन्तर गर्दै आएको उनले बताए।


         
हाल रामपुर ४ मा दोस्रो साना शहरी खानेपानी पनि सञ्चालित छ । खोप्टार दर्छा  खानेपानी तथा सरसफाई योजना करिव १८ बर्षअघि २०५८ सालमा निमार्ण शुरु भई त्यसको २ बर्षपछि २०६० साल फागुन ६ गते उद्घाटन गरि सञ्चालनमा आएको थियो । खानेपानीको कुनै स्रोत नभएकोमा यही योजनामा भर पर्नुपर्ने यहाँका बासिन्दाले गाउँ–गाउँमा धारा जडान गरेपछि हरिया सागपात देखि तरकारी खेती गर्न शुरु गरेका हुन् ।

यस खानेपानी समितिले बिभिन्न रचनात्मक प्रतियोगिता पनि गरेको छ । खानेपानी धारामा महिला, पुरुष, बालबालिका जोडिने भएकाले समितिले सन्देश मुलक बक्तृत्वकला प्रतियोगिता, हाडीफोर प्रतियोगिता मिठाई दौड, नृत्य प्रतियोगिता सहित बालबालिकालाई जोड्ने बिभिन्न प्रतियोगिता गरेको छ ।

कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य युवराज खनालले पानी र सरसफाईले नै जीवन उज्वल राख्ने भएकाले सधै पानी र वातावरण सफा बनाउन आग्रह गर्नुभयो । योजना निर्माणको सहकार्य गरेको एस.आर.डि.सी.एन. का अध्यक्ष कृष्ण सारुले झण्डै २ दशक देखि धारामा नियमित पानी आउने बनाइराख्नु पनि उपभोक्ताको लगाव भएको बताए ।

 रामपुर नगरपालिकाका नगर उपप्रमुख बिष्णु देवी आचार्य घिमिरेले नगरका नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन स्थानीय सरकार प्रतिवद्ध भएको बताए । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, रामपुर दोस्रो साना शहरी खानेपानी उपभोक्ता समिति अध्यक्ष कमलराज भट्टराई, नेपाली काग्रेंसका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपाका नगर सचिव दामोदर पाठक, वडा सदस्य मकबुल मिँया, सीताराम माबिका प्रअ. विश्वनाथ भट्टराई, नेका वडा सभापति बसन्तराम ठाडा, रानीवन तथा वडवान् बनका उपाध्यक्ष बिष्णु जि.सी., उपभोक्ता रेनुकादेवी ठाडा लगायतले बोल्दै खानेपानी सुरक्षित र दिगो बनाइराख्न पर्नेमा जोड दिएका थिए ।

१ सय ५८ घरधुरीका ८ सय  ४६ उपभोक्ता यस योजनाबाट प्रत्यक्ष लाभान्वित छन् । १३ वटा गाउँमा सामुहिक धारा जडान गरि खानेपानी उपभोग गर्दैै आएका छन् । झण्डै साढे ३ किलोमिटर दक्षिणको ढापखोला फिरफिरे धाराबाट गाउँमा खानेपानी ल्याएर धारा–धारामा वितरण गरिएको छ ।

झण्डै १८ बर्षअघि सञ्चालनमा रहेको खानेपानी तथा सरसफाई समितिले मर्मत कोष र घुम्तीकोषबाट उपभोक्तामा थप मद्धत पुर्‍याउदै आएको समितिका अध्यक्ष प्रेम बहादुर पोखरेलले बताए । समितिका कोषाध्यक्ष लक्ष्मण थापाले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै मर्मत कोषमा ११ लाख २९ हजार १ सय ९१ आम्दानी १ लाख ११ हजार ८८५ खर्च गरि १० लाख १७ हजार३ सय ६ रुपँया बचत रहेको जानकारी दिए।

त्यस्तै घुम्ती कोष अन्तर्गत११ लाख ९४ हजार ४ सय ९३ आम्दानी ७१ ह्जार ७५ रुपँया खर्च भई १० लाख ३८ हजार ४ सय १८ रुपँया बचत रहेको जानकारी दिनुभयो । दुवै तर्फको कोषमा गरि २० लाख ५५ हजार ७ सय २७ रुपँया बचत रहेको छ । जसमध्ये २० लाख रुपँया समितिले लगानी गरेको जानकारी दिएको छ ।

समितिले खानेपानी धाराका संरक्षक, पुर्व समिति, निर्वतमान तथा वर्तमान कार्यसमितिलाई समेत स्वागत सहित सम्मान गरेका थियो भने मर्मत र संरक्षण सुरक्षामा खटिनेलाई पुरस्कृत गरेको समितिका सचिव इन्द्रबहादुर घर्तीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ