- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । चार जनाको ज्यान जाने गरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ ।
ध१ज ७९१ नंको जिप छिस्तीको रापुङबाट नेपाने हुँदै केवै जाने क्रममा दुर्घटनामा परेको थियो । अत्यधिक भार, सिकारु चालक र स्तरहीन सडकका कारण जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
“चालकको गम्भीर लापरवाही देखिन्छ”, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले भने, “घटनाबारे थप अनुसन्धान चलिरहेको छ ।” उनका अनुसार चालक १८ वर्षीय प्रवीण पुनसँग चालक अनुमतिपत्रसमेत नभएको बुझिएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालक पुन प्रहरी नियन्त्रणमा छन् ।
जिपमा स्थानीय जनकल्याण माविको वार्षिकोत्सवमा भाग लिएर घर फर्कँदै गरेका विद्यार्थी, अभिभावक सवार थिए । २० यात्रु बोकेको जिप सडकदेखि करीब ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
“ठूलो भीरमा दुर्घटना भएको छ”, प्रहरी उपरीक्षक रेग्मीले भने, “अप्ठेरो सडक त्यहीँमाथि बढी भार हुँदा जिपले नियन्त्रण गुमाएको हुनसक्छ ।” चालकको अपरिपक्वता र लापरवाहीले दुर्घटना निम्तिएको हुनसक्ने वडाध्यक्ष विजय अधिकारीले बताए । “अनुसन्धानबाट वास्तविकता बाहिर आउला”, उनले भने, “घटनाको प्रकृति हेर्दा लापरवाही भएको देखिन्छ ।”
यात्रुले पनि सजगता नअपनाएको स्थानीयवासीको भनाइ छ । साँझको समयमा घर फर्कने हतारले कोचिएर जिपमा यात्रा गरेको बुझिएको छ । चालकले नचढ्नु भन्दा पनि यात्रुले अटेर गरी चढेको समेत बताइएको छ ।
दुर्घटनामा परी सोही वडाकी १९ वर्षीया प्रियङ्का पुन, ३० वर्षीया तुलसी पुन श्रीष, १३ वर्षीया ज्योति पुन र १४ वर्षीया एलिना पुनको मृत्यु भएको थियो । तुलसी र एलिनाको घटनास्थलमै र प्रियङ्का र ज्योतिको उपचारका लागि धवलागिरि अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते छ जनाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते सामान्य उपचारपछि घर फर्केका छन् ।
दुर्घटनापछि छिस्तीको केवै गाउँ शोकमग्न बनेको छ । दुर्घटना भएलगत्तै सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उद्धारमा खटिएका थिए ।