- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिञ्जा (जुम्ला) । कर्णाली राजमार्गअन्तर्गत गमगढी–नाग्मा सडक करीब एक महीनादेखि अवरुद्ध छ । भारी हिमपातका कारण सडक खुलाउने प्रयास गरिए पनि अझै खुलाउन सकिएको छैन ।
डोजर लगाएर नाग्मा–गमगढी राजमार्गको हिउँ पन्छाई सडक खुलाउने प्रयास भएपनि हिमपात भइरहने र नरोकिएका कारण डोजरले पनि पन्छाउन सजिलो छैन ।
पन्छाउँदै गर्दा फेरि हिउँ पर्ने भएकाले सडक खुलाउन असजिलो भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
सडक अवरुद्ध हुँदा गमगढी बजारमा उपभोग्य सामग्रीको अभाव बढ्दै गएको छ । सदरमुकाममा खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तु अभाव हुन थालेको हो ।
गोदाममा ग्यास सकिँदा किन्न आएका ग्राहक रित्तै फर्किन थालेको व्यापारी बताउँछन् । गमगढी बजारमा ग्यास सिलिण्डर अभाव हुँदा स्थानीयवासी दाउरा किनेर खाना पकाउन बाध्य छन् ।
अवरुद्ध सडक खुलाउन सरोकारवाला निकायबाट पहल भए पनि हिमपात नरोकिँदा समस्या भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमल बुढाले बताए ।
बजार क्षेत्रमा चामल, चिनी, तेल, मैदा, बिस्कुट, चाउचाउलगायतको मौज्दात घटेको छ । गमगढीमै दैनिक उपभोग्य वस्तु अभाव हुन थालेपछि गाउँबाट किन्न आएका उपभोक्ता मर्कामा परेका छन् ।
खत्याड गाउँपालिका जोड्ने कालाकाँडा सडकखण्ड पनि हिमपातले एक महीनादेखि बन्द भएको छ । दैनिक उपभोग्य वस्तुलगायतको अभाव चुलिएको स्थानीयको भनाइ छ ।
गाउँपालिकाका स्वास्थ्य केन्द्रमा औषधि अभाव शुरु हुन थालेको स्वास्थ्यकर्मीको भनाइ छ । रारा जेउडे हुँदै निगाल जाने बाटो हिउँका कारण बन्द भएपछि स्थानीयको आउजाउ रोकिएको छ ।
बाटोमा करीब पाँच फिट हिउँ जमेपछि आवतजावत गर्न समस्या भएको स्थानीय गणेश टमटाले बताए । उनका अनुसार गाउँपालिकाबाट सदरमुकाम गमगढीमा पुग्न दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ । रासस