arrow

४० हजार घर पुनःनिर्माण

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
nuwakot-district.png

बेत्रावती । नुवाकोटमा भूकम्पले क्षति पुगेका ४० हजारभन्दा बढी घरको पुनःनिर्माण भएको छ । जिल्लास्थित अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार फागुन दोस्रो सातासम्म ४० हजार ३१२ भूकम्पपीडित लाभग्राहीले सरकारी अनुदानमा घर पुनःनिर्माण गरेका छन् ।

पीडितलाई घर पुनःनिर्माणका लागि सरकारी तथा सरकारबाट अनुमति लिएका सङ्घसंसथाले तीन चरणमा रु तीन लाख अनुदान उपलब्ध गराएका छन् । 

विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पले नुवाकोटमा ७६ हजार ४१६ घरमा पूर्ण क्षति पुगेको सरकारी तथ्याङ्क छ । 

तीमध्ये हालसम्म ५२.७५ प्रतिशत लाभग्राहीले नयाँ घर निर्माण गरिसकेको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख विकी लाखाले जानकारी दिए ।

उनका अनुसार आधाभन्दा बढी लाभग्राहीले सरकारी अनुदान लिएर बनाएको भूकम्प प्रतिरोधात्मक भवनमा बसोबास गर्न थालिसकेका छन् । 

भूकम्पपीडितमध्ये ६२ हजार ८५२ लाभग्राही (८२.२५ प्रतिशत) ले आवास निर्माणको जग बसालेर अनुदानको दोस्रो किस्ता रकम लिई घर निर्माणलाई अन्तिम चरणमा पुर्याएका छन् । 

कूल लाभग्राहीमध्ये ७१ हजार ५२२ लाभग्राहीले घर निर्माणका लागि भूकम्पप्रतिरोधी आवास बनाउन सम्झौता गरेर पहिलो किस्ता रकम लिएको कार्यालय प्रमुख लाखाले जानकारी दिए । 

“घर निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता लिने अधिकांशले पुनःनिर्माण थालिसकेका छन्”, उनले भने, “केहीले बनाउन बाँकी छ, तिनीहरूका लागि ताकेता भइरहेकाले तोकिएको समयमा पुनःनिर्माण सम्पन्न गराउन सक्ने आशा जगाएको छ ।” 

सरकारले भूकम्पपीडित लाभग्राहीलाई आवास पुनःनिर्माणका लागि तोकिएको मापदण्डअनुसार घर बनाउँदा पहिलो किस्तावापत रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र अन्तिम तथा तेस्रो किस्ता रु एक लाख गरेर तीन चरणमा रु तीन लाख दिँदै आएको छ । 



नयाँ