arrow

पाल्पाली जनता भन्छन्– ‘प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी बुटवल राख्नु पर्छ’

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ फागुन १४ मंगलबार
Sujhab_Sankalan_Photo.jpg

पाल्पा । जिल्लाका अधिकांश जनताले प्रदेश पाँचको नाम लुम्बिनी र स्थायी राजधानी बुटवल वा रुपन्देहीमा राख्नुपर्ने बताएका छन् ।  प्रदेश पाँचको नाम र स्थायी राजधानीको लागि प्रदेश सांसदबाट गठित उच्च स्तरीय संसदीय समितिले तानसेनमा गरेको राय सुझाव संकलन कार्यक्रममा ९० प्रतिशत सहभागीहरुले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी बुटवल वा रुपन्देहीलाई बनाउन सुझाव दिएका हुन् ।

प्रदेशको नाम अन्तराष्ट्रिय मुलुकबाट समेत पहिचाना भएको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको नामबाट वा बुद्ध प्रदेशबाट नामाकरण गर्न सुझाव संकलनमा सहभागीहरुले विशेष समितिलाई आग्रह गरेका छन् । भगवान गौतम बुद्धको जन्म स्थल, शान्ती भुमी, अग्रेजलाई नेपालले हराएको एतिहासिक किल्ला जितगढी किल्ला, चिन र भारत जोड्ने कालीगण्डकी करिडोरको पहुँच, पहाडी जिल्लाका बासिन्दाको लागि पायक पर्ने, अन्र्तराष्ट्रिय हवाई मैदान, नेपालकै प्रमुख व्यापारीक केन्द्र, शैक्षिक हव, ऐतिहासिक संरचना, केन्द्रिय राजधानीको लागि नजिक, ठूला ठूला पुर्वाधार, औधोगिक क्षेत्र, नेपालकै दोस्रो आर्थिक कारोवार बढी भएको क्षेत्र भएकोले वुटवल वा रुपन्देही लाई नै प्रदेश ५ को स्थायी राजधानी बनाउनु पर्नेमा सहभागीहरुले जोड दिए ।

नेकपाका नेता धनेन्द्रराज घिमिरे, नेपाली काँग्रेसका सचिव झपेन्द्र गहिले, राप्रपा प्रजातान्त्रिकका केन्द्रिय सदस्य डुलबहादुर कुवँर, शिक्षाविद बुद्धिप्रसाद शर्मा, पण्डित होमनाथ न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठ, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेल, नागरिक समाजका अध्यक्ष बासुदेव अर्याल, पाल्पा अडिटर संघका अध्यक्ष तेजनारायण ढकाल, तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही, पुवखोला गाउँपालिकाकी उपाध्यक्ष भागीरथी भट्टराई, पुर्व सभासद नारायणी शर्मा लगायतले प्रदेशको नाम लुम्विनी र स्थायी राजधानी बुटवल बनाउन सुझाव दिए ।

 यसैगरी पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्याल, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, पुर्व सांसद यादवबहादुर रायमाझीले नाम लुम्विनी राखेपनि प्रदेशको केन्द्र भने अहिले नै यो र त्यो भन्नु भन्दा पनि बैज्ञानिक हिसावले सबैले अपनत्व जनाउने तरीकाबाट कतैबाट पनि मत विभाजन नहुने गरी सहमतिमा तय गर्नुपर्ने बताए ।

आदिवासी जनजाती महासंघ पाल्पाका अध्यक्ष केयर सिंह राना, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष कुमबहादुर घर्तिमगर प्रदेशको नाम मगरात र केन्द्र दाङ बनाउनु पर्ने सुझाव दिए । रामपुर नगरपालिकाकी उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले नाम लुम्विनी राखेपनि केन्द दाङ बनाउनु पर्ने बताईन । कर्मचारीको तर्फबाट निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले राष्ट्रसेवक कर्मचारीहरुले प्रदेश सरकारले गरेको निर्यण कार्यान्वयन गर्ने बताए ।

प्रदेशको नामाकरण भन्दा स्थायी राजधानी पेचिलो विषयबस्तु भएकाले प्रदेश ५ का १२ वटै जिल्लाबाट आएको सुझावको आधार, विषय विशेषज्ञ, ऐतिहासिक, भौगोलिक, वातावरणीय हिसावले उपयुक्त स्थान छनौट गरिने विशेष समितिका संयोजक दिपेश कुमार पुनले बताए । समितिले फागुन १५ गते गुल्मीको सदरमुकाम तम्घासमा राय सुझाव संकलन गर्ने छ । सुझाव संकलनमा विशेष समितिका सदस्य प्रदेश सभासद भुवनेश्वर चौधरी, सहश्रराम यादव र बाबुराम गौतम लगायतले सहजीकरण गरेका थिए ।

सुझाव संकलन कार्यक्रमामा जिल्लाका प्रदेश सभासद, नागरिक समाजका प्रतिनिधी, विभिन्न संघ संस्था, स्थानीय तहका प्रमुख तथा उप उप प्रमुख , जिल्लाका सरकारी तथा गैर सरकारी संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । सांसद सचिवालयले पाल्पाबाट ८७ जनाको राय सुझाव संकलन फारम संकलन गरेको छ । जनताले दिएको अभिमतको कदर मुल्याङकन गरिने सांसद सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ