arrow

मध्यमस्र्याङ्दी मस्र्याङ्दी डबल सर्किट प्रसारण लाइन सञ्चालन

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
Nepal-Electricity-Authority.jpeg

काठमाडौँ ।  बर्सातको समयमा ‘मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी’ प्रसारण लाइनबाट बढी विद्युत् प्रवाह गराउनु पर्दा नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्र र प्रसारण निर्देशनालयलाई सधैँ तनाव झेल्नु पर्दथ्यो । क्षमताभन्दा बढी विद्युत् प्रवाह गराउनु पर्दा प्रसारण प्रणालीमा समस्या आउने र लमजुङमा सञ्चालनमा रहेका निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत्समेत खेर फाल्नुपर्ने बाध्यता आइलाग्थ्यो ।

प्रसारण लाइनको क्षमता १३२ केभीको मात्रै थियो । सो प्रसारण लाइनबाट बढीमा १२० मेगावाट मात्रै विद्युत् प्रवाह गराउन सकिन्छ । बर्खामा उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न नसकी खेर जाने अवस्थाको अन्त्य गर्दै प्राधिकरणले आजदेखि मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी ‘डलब सर्किट’ प्रसारण लाइन सञ्चालनमा ल्याएको छ ।

सो प्रसारण लाइन सञ्चालनमा आएपछि वर्षाको समयमा विद्युत् खेर जाने सम्भावनाको अन्त्य भएको छ । प्राधिकरणले २२ किलोमिटर लामो प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबार साँझदेखि सञ्चालनमा ल्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो प्रसारण लाइन सञ्चालनमा आएपछि समग्र प्रसारण प्रणालीको चुहावट घट्ने र प्रणालीको विश्वसनीयता बढ्ने बताए ।

‘मस्र्याङ्दी–काठमाडौँ र मस्र्याङ्दी–भरतपुर प्रसारण लाइनमा समस्या आउँदा प्राधिकरणका मध्यमस्र्याङ्दी, मस्र्याङ्दीसहित निजी क्षेत्रका आयोजनाको विद्युत् प्रवाह गर्न नसक्ने अवस्था थियो, अब यसको पनि अन्त्य भएको छ, अब ती आयोजनाको विद्युत् दमौली सबस्टेसनमार्फत भरतपुर र पोखरातर्फ पठाउन सकिनेछ ।”

निजी क्षेत्रले लमजुङमा निर्माण गरेका आयोजनाको करीब ६६ मेगावाट विद्युत् र प्राधिकरणको स्वामित्वमा रहेका मध्यमस्र्याङ्दी ७० मेगावाट मस्र्याङ्दी ६९ मेगावाट गरी २०५ मेगावाट विद्युत् मध्यमस्र्याङ्दी–मस्र्याङ्दी प्रसारण लाइन हुँदै काठमाडौँ र चितवनको भरतपुरतर्फ प्रवाह हुँदै आएको छ । मध्यमस्र्याङ्दी–दमौली–मस्र्याङ्दी लाइन सञ्चालनमा आएपछि ती केन्द्रबाट उत्पादित विद्युत्लाई पोखरा र भरतपुरतर्फ पठाउन सकिने आयोजना प्रमुख शुभारम्भविक्रम शाहले बताए।

उनले दमौली सबस्टेसनबाट दमौली–लेखनाथ र दमौली–भरतपुर प्रसारण लाइनमार्फत क्रमश ः पोखरा र दमौली–भरतपुरतर्फ विद्युत् पठाउन सकिने उल्लेख गरे। “यही आयोजनाअन्तर्गत तनहुँको मार्कीचोकमा निर्माण भइरहेको १३२-३३ केभी सबस्टेसन केही दिनमै सञ्चालनमा आउँदैछ,” उनले भने, “मस्र्याङ्दी, दमौली र मध्यमस्र्याङ्दी सबस्टेसनमा नयाँ ‘बे’ पनि थपेका छौँ, मध्यमस्र्याङ्दीमा थपिएको यसबाट लमजुङको दोर्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोड्न सकिनेछ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ