arrow

एउटाकै सवा लाख पर्ने चौंरी गाई हिमपातले धमाधम मर्न थालेपछि 

logo
प्रकाशित २०७५ फागुन १५ बुधबार
manang-sheep-himpaat.jpg

मनाङ । महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् । 

जिल्लामा रहेका चौंरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेका हुन् । जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा रहेका चौँरी के–कति कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क भने आएको छैन । कति जिउँदै बेपत्ता छन् भने केही मरेको भेटिन थालेका छन् । जिल्लाको माथिल्लो भेगमा रहेका चौँरीको त कहाँ कस्तो अवस्थामा छ भन्ने अत्तोपत्तो छैन । 

तल्लो भेगका चामे गाउँपालिका र नासों गाउँपालिकामा ४०० जति चौँरी बेपत्ता भएको र ६० भन्दा बढी मरेको चौँरीपालक सुरेश थकालीले बताए । उनका अनुसार नासों गाउँपालिकामा रहेको नाचेगाउँका बलबहादुर गुरुङ र काशीराम गुरुङको गोठबाट २०० चौँरी हराएका छन् । 

तिनीहरुको खोजीकार्य जारी रहेको छ । त्यस्तै तिमाङको वनमा रहेको पासाङ लामाको ३५ चौँरी तथा तिल्चेको लेकबाट ङिमाओङ्गेल पुनेल र धर्मजङ गुरुङको ६० चौँरीको अवस्था अज्ञात रहेको थकालीले बताए ।

“एउटा चौँरीको रु एक लाख २० हजारभन्दा बढी मूल्य पर्दछ, यतिका धेरै चौंरी हराउँदा या मर्दा जो कसैले मन थाम्न सक्ला र ? केही गरौँला भनी पुख्र्यौली पेशा अँगालेका हौं, खै दैव लागेपछि कसको के लाग्दोरहेछ ?” स्थानीय धनबहादुर गुरुङले भने, “पाँच त आँखा अगाडि नै मरे भने अरु जिउँदैछन् कि मरिसके केही अत्तोपत्तो छैन । हिमपातले न खोज्न जान सकिएको छ न त चौँरी फर्किएर गोठमा आएका छन् ।” 

चौँरीपालक किसानका अनुसार हिमपातले करोडौँभन्दा बढी नोक्सान पुर्याएको छ । हराएका चौँरीको नामोनिसान भेट्टाउन सकिएको छैन । “हिउँले पुरिएर बसेका छन् कि कतै भीरमा खसे केही अत्तोपत्तो भएन”, अर्का चौँरीपालक धर्मजङ गुरुङले भने, “खोज्नका लागि पनि दिनदिनै जस्तो हिमपात भइरहेको छ । हिँड्डुल गर्न नै गाह्रो छ । कसरी जाने ?” उनका अनुसार जिउँदै भए पनि यतिका दिनसम्म भोकभोकै मरिसके होलान् । 

तल्लो मनाङका ताल, नाचे, तिल्चे, ओढार र तिमाङलगायतका ठाउँमा मात्रै ४०० चौँरी हराएका तथा तथा मरेको तथ्याङ्क किसानहरुको छ । माथिल्लो भेगमा त झन् कस्तो छ थाहा छैन । हिउँ पर्न रोकिएपछि मात्र यकिन तथ्याङ्क आउने चौँरीपालक सुरेश थकालीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ