arrow

गाउँपालिकाले प्रमाणपत्र धितो राखेर युवालाई ऋण दिन थालेपछि युवा उत्साहित

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ फागुन १५ बुधबार
baganas_1.jpg

पाल्पा ।  कृषि क्षेत्रमा अब्बल मानिदै आएको बगनासकाली गाउँपालिकाले  शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्दै आएको छ । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरे सँगै गाउँपालिकाले युवाहरुलाई ऋण दिदै आएको हो ।

गाउँपालिकाले गत वर्ष देखि युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर  अनुकरणीय काम गर्दै आएको छ ।  गत वर्ष चार जना युवा कृषकहरुलाई प्रमाणपत्रको आधारमा ऋण दिएको गाउँपालिकाले त्यसको सफता सँगै   यस वर्ष पनि तीन जना युवा कृषकहरुको प्रमाणपत्र धितो राखेर ऋण दिएको  हो ।  गाउँपालिकाले  गत कार्तिक महिनामा बगनासकालि ५ का केरा व्यवसायिक कृषक देवेन्द्र कोइराला र वडा ६ का अकबरे खुर्सानी व्यवसायिक कृषक खुमराज बस्याललाई एक लाख दश हजार दिइसकेको थियो  ।

सोमबार पनि गाउँपालिकाले एक कार्यक्रमका बीच जागरुक कृषि तथा पशुविकास फर्मका ४ जना युवा कृषकहरूलाई ब्यवसायिक केरा खेतिका लागि एक लाख दिएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल र उपाध्यक्ष सरस्वती चिदिले संयुक्त रुपमा एक लाखको चेक फर्मलाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै अध्यक्ष बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताए ।

उनले युवाहरुलाई ऋणको सहि सदुपयोग गरी गाउँमै आर्थिक समृद्वि हासिल गर्न आग्रह गरे । उपाध्यक्ष चिदिले गाउँमा बेरोजगारको ठूलो संख्या रहेकाले त्यसको  समधानका लागि स्वरोजगार कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको धारणा व्यक्त गरिन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले गाउँमा शैक्षिक बेरोजगार रहेका युवाबाट कृषिले फड्को मार्ने भएकाले ऋण प्रदान गरिएको बताए । गाउँपालिकाको अवधारण अनुसार सामुहिक व्यवसायिक गर्ने युवाहरुका लागि कम्तीमा एक जनाको शैक्षिक प्रमाणपत्रको आधारमा ऋण दिदै आएको गाउँपालिकाका कृषि शाखाका प्रमुख सन्तोष जिसीले जानकारी दिए । उनले, ‘भने कृषकले  २ बर्षका लागि ब्याज अनुदान रकम पाउने गर्दछन् ।’

कृषकले दुई वर्षसम्म व्याज तिर्नु नपर्ने , दुई वर्ष भित्रै उक्त रकम तिरे ५ प्रतिशत रकम छुट र दुई वर्ष सम्म पनि काम गर्न नसकि उक्त रकम फिर्ता गर्न नसकेको खण्डमा पाँच प्रतिशत जरिवाना तिर्नु पर्ने  संयोजक जिसिले बताए  । गाउँपालिकाले गत वर्ष युवा समूहका अगुवा प्रेमबहादुर बगालेको समाजशास्त्र स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र धितो राखेर समूहका सदस्यलाई चार लाख रकम उपलब्ध गराइएको थियो । त्यस्तै युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि चार लाख, बगनासकाली–२ का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेलाई लेयर्स कुखुरापालनका लागि एक लाख,सोही स्थानका सचिना अधिकारी र अमृता पाण्डेलाई तरकारी तथा माछापालनका लागि एक लाख, बगनासकाली–९ का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि एक लाख ऋण गाउँपालिकाले उपलब्ध गराइसकेको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाएपछि त्यस क्षेत्रका युवा कृषकहरु हर्षित भएका छन् । जसले गर्दा  स्थानीय तहमा सरकारको अनुभुति भएको युवाहरु बताउँछन् ।   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ