arrow

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता दिने प्रस्ताव स्वीकृत

logo
रासस,
प्रकाशित २०७५ फागुन १९ आइतबार
Myagdi_District.png

म्याग्दी। म्याग्दीलाई हिमाली जिल्लाको मान्यता दिने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५’ सङ्घीय संसद्को दुवै सदनबाट स्वीकृत भएको छ। जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै शनिबार राष्ट्रियसभाबाट प्रस्ताव स्वीकृत भएको हो। राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन कार्यान्वयन हुने प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले जानकारी दिए।

सांसद थापाले म्याग्दीको गुमेको भौगोलिक पहिचान स्थापित भएको बताए। “राष्ट्रियसभाले प्रस्ताव स्वीकृत गरेकाले म्याग्दी अब हिमाली जिल्लामा सूचीकृत हुने निश्चित भएको छ”, सांसद थापाले भने, “म्याग्दीवासीका लागि गौरवको महत्वपूर्ण राजनीतिक र नीतिगत उपलब्धि हो।”

आधा दर्जन हिमाल अवस्थित र भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्लाको पहिचान दिनुपर्ने आवाज उठ्दै आएको थियो। हिमाल नजिकका बस्ती पहाडी भेगमा सूचीकृत हुँदा राज्यले हिमाली भेगका अन्य जिल्लाका बासिन्दालाई दिने सेवासुविधाबाट म्याग्दीका दुर्गम बस्तीका बासिन्दा बञ्चित भएका छन्।

हिमाली जिल्ला भएपछि स्थानीयतहलाई सङ्घीय र प्रदेश सरकारले दिने अनुदान र कर्मचारीको सेवासुविधा बढेर आकर्षित हुने वातावरण बन्ने जिसस प्रमुख देवेन्द्र केसीले बताए। धवलागिरी गाउँपालिकाको मुदी, गुर्जा, मल्कवाङ, रघुगङ्गाको कुइनेमङ्गले, चिमखोला, अन्नपूर्णको नारच्याङ र शिखको भूभाग हिमालसँग जोडिएको छ। संसारको सातौँ अग्लो (८,१६७ मिटर) धवलागिरि प्रथमदेखि छैटौँसम्मका चुचुरासँगै मानापाथी, गुर्जा, चुरेन, पुथा, अन्नपूर्ण प्रथम, बराह शिखर, निलगिरि हिमालको दक्षिण र पूर्वी मोहडा म्याग्दीको भूगोलमा समेटिएको छ। हिमाल भएको म्याग्दी जिल्लाको पहिचान नै दबाइएका कारण पनि जिल्लामा पर्यटन रोयल्टीसमेत न्यून मात्रामा आउने गरेको छ।

धर्मशाला निर्माण

एक व्यवसायीको आर्थिक सहयोगमा बेनी नगरपालिका–९ गलेश्वरमा तीर्थयात्री निवास भवन (धर्मशाला) निर्माण भएको छ। काठमाडौँको होटल र्‍याडिसनका सञ्चालक स्व गोविन्ददास श्रेष्ठद्वारा स्थापित गोविन्द सरस्वती फाउण्डेशनको सहयोगमा छकोठे भवन निर्माण भएको हो।

६५ लाख लगानीमा गत हप्ता निर्माण सम्पन्न भएको भवनलाई यसै यामदेखि सञ्चालनमा ल्याइने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए। दुईतले भवनमा एक दिनमा १०० बास बस्न सक्ने क्षमता छ। हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरमा तीर्थयात्री र भक्तजनको चाप बढेकाले धर्मशाला निर्माण गरिएको कोषका कार्यालय सचिव राम बानियाँले बताए।

नयाँ निर्माण भएको तीर्थयात्री निवास भवनमा फर्निचर र आवासीय पूर्वाधार व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको कार्यालय सचिव बानियाँले बताए। नयाँ धर्मशाला बनेपछि गलेश्वरमा दैनिक ५०० तीर्थयात्री बास बस्न सक्ने भएका छन्। हाल ४०० बास बस्न सक्ने धर्मशाला रहेको गलेश्वरमा तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ