arrow

मिर्गौला फेल भएका बिरामीका लागि हेमो डायलासिको साटो घरमै सीएपीडी डायलासिस खर्च सरकारले नै व्यहोर्ने 

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
kidney-dialysis.jpg

काठमाडौं। मिर्गौला फेल भएकामा दुईवटा विकल्प छन्। मगौला प्रत्यारोपण गर्ने वा डायलालिस गर्ने। डायलासिस सेवामा पनि एउटा हेमो डायलासिस, अर्को सीएपीडी डायलासिस। प्रत्यारोपण, भन्नेबित्तिकै सम्भव नहुने भएकाले त्यो नभएसम्म हेमो डायलासिस वा सीएपीडी पेरिटोनियल डायलासिस रोज्नुपर्ने हुन्छ। सीएपीडी, डायलासिसमा पेटबाट पाइप छिराएर गरिने डायलासिस हो। मिर्गौला फेल भएकालाई घरमै बसेर गरिने डायलासिस सेवा नै सिएपिडी डायलासिस हो। 

पेटमा पाइप घुसाएर विशेष प्रकारको सलाइन पानी राखेर गरिने सेवालाई सीएपीडी डायलासिस भनिन्छ। यसका लागि बिरामी वा परिवारका अन्य सदस्यलाई २ साताको तालिम दिइन्छ। यो डायलासिस, पेटमा पाइप घुसाएर पानीद्वारा गरिन्छ। नाइटोको २ सेन्टिमिटर तल पाइप घुसाएर राखिन्छ। त्यो पाइपबाट पानी भित्र पसाएर पेटभित्रको झिल्लीले फोहोर पानी छान्ने काम गर्छ। यसको लागि तालिम प्राप्त व्यक्ति नचाहने मात्र हैन अस्पतालमा गएर अरुको सहयोग पनि लिनुपर्दैन। यसका लागि बिरामी आफै सक्षम हुन्छ।

हेमो भन्दा धेरै सजिलो
हेमो डायलासिस गर्दा भौतिक पूर्वाधार, बिजुलीको आवश्यकता तालिमप्राप्त स्वास्थ्यकर्मी चिकित्सक आवश्यक पर्छ भने सीएपीडीमा यी केहीको पनि आवश्यकता नपर्ने शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रका नेफ्रोलोजी बिभाग प्रमुख डा. कल्पना श्रेष्ठले बताइन्। अहिले केन्द्रबाट एक सय भन्दा बढीले घरमै बसेर सीएपीडी सेवा लिइरहेका छन्। यो सेवा दिनको तीनपटक लिनुपर्ने भएकाले बिरामीले केही झन्झट भने मान्ने गरेका छन्। एक पटक पानी साट्नका लागि १५ मिनेट देखि ३० मिनेटसम्म लाग्छ। दिनको १५ मिनेटका दरले ३ पटक पानी साट्ने गरिन्छ। यो प्रक्रिया प्रत्येक ८ घण्टामा २ वा ३ वा ४ पटकसम्म दिनुपर्ने हुन्छ। रगत सफा गर्ने यो प्रक्रिया एकदमै सजिलो घरमै बसेर गरिन्छ। यो सेवा लिएका बिरामीले दैनिक काम गर्न सक्छन्।

पानी फेरुन्जेल आराम लिने र त्यसपछि तत्काल दैनिक काम गर्न सक्छन्। केही बच्चाहरु जो बिद्यालयमा पढ्छन उनीहरुले यो सेवा लिएर पनि पढाईलाई निरन्तरता दिइरहेको डा. श्रेष्ठको दाबी छ। केन्द्रमा आएर यो सेवा लिनेमा जुम्ला हुम्ला, सुर्खेत, धनगढी, काँकडभिट्टा लगायतका स्थानका नागरिक पनि छन्।

यो सेवा निःशुल्क हुनुका साथै यो सेवा लिनेले खानेमा केही बार्नु पनि पर्दैन। हेमो डायलासिल गर्नेले खानमा बार्नुपर्छ तर यो सेवा लिनेले खानामा बानु पर्दैन प्रोटिन युक्त खानेकुरा अझ प्रशस्त खानुपर्छ। मात्र पानी र नुन कम खाने गर्नुपर्छ। हेमो डायलासिस सेवा लिँदा पोटासियम युक्त खाना खान हुँदैन भने पनि यसमा खाना बार्नु पर्दैन। हेमोमा जस्तै यसमा पनि मिर्गौला प्रत्यारोपण नगरेसम्म यो सेवा लिइरहनुपर्छ। 

यो सेवा लिइसकेकाले हेमोमा अहिलेसम्म फर्केर आएका छैनन्। किनकि हेमोमा प्रत्येक हप्ता मोटो सुई लगाएर बिरामीले बेडमा ४ घण्टा बस्ने फेरी घर आउनेजाने गर्दा एक दिन पुरै जान्छ। यतिमात्र हैन यस्ता बिरामीलाई प्रेसर बढने मुटुमा समस्या आउने हुन्छ। हेमो डायलासिस गर्नेलाई ४० प्रतिशत मुटुका कारणले मृत्यु हुने सम्भावना हुन्छ। हेमो डायलासिस गरेका कतिपयलाई रगत निकाल्न खोज्दा नशा नभेटिने वा अन्य समस्या आउने तथा मुटु कमजोर भएकालाई यो सेवा निकै प्रभावकारी हुने गरेको छ।

सीएपीडी पेरिटोनियल डायलासिस खर्च सरकारले नै बेहोर्ने
यो उपचार पद्धतिमा एक व्यक्तिलाई डायलासिस गर्दा एक पटकमा २ लिटर पानी आवश्यक पर्छ। प्रत्येक दिन एकजनालाई ६ देखि ८ लिटर विशेष प्रकारको सलाइन पानी आवश्यक पर्छ। सरकारले यो विशेष प्रकारको पानी बिरामीलाई घरमै पुर्‍याउने व्यवस्था निःशुल्क गरेको छ। यो पानी नेपालमा बन्दैन। बाहिरबाट नै ल्याउनुपर्ने हुन्छ। एक जनाका लागि महिनाको २५ देखि ३० हजार लाग्ने यो पानी सरकारले बिकट स्थानमा समेत निःशुल्क उपलब्ध गराउँदै आएको छ। पहिले एक जनालाई महिनामा ८० हजारसम्म पर्ने गरेपनि अहिले सस्तो हुदै गएको छ।  
 
संक्रमण भएको पत्ता लगाउने तरिका
पेटबाट पाइप छिराउने भएकाले बिरामीलाई पेटमा संक्रमण हुने सम्भावना अत्यधिक हुन्छ। हेमो डायलासिस गर्नेलाई भने छातीमा संक्रमण हुने सम्भावना हुन्छ। पेटबाट निकालेको पानी धमिलो आउन सक्छ, पेटमा दुख्न थाल्छ, वाकवाकी लाग्ने सम्भावना हुन्छ। यस्तो अवस्थामा तत्काल संक्रमण पहिचान गरी उपचार सुरु गरेमा केही दिनमै निको हुन्छ। 

संसारमै संक्रमण हुने सम्भावना धेरै भएपनि नेपालमा जसले यो सेवा लिएको छ उनीहरुले सरसफाईमा साबधानी अपनाएकाले गर्दा निकै कम देखिएको छ। हात सफागर्ने, पानी परिवर्तन गर्दा कोठामा सफा गर्ने, लगायतका विभिन्न साबधानी अपनाउने भएकाले बर्षौसम्म संक्रमण नभइकन बस्ने बिरामी पनि छन्। कतै कसैलाई  देखिएको अवस्थामा पनि तत्काल उपचार शुरु गरेमा केही दिनमै निको हुन्छ।

शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा मात्रै अहिले ४ सय जना डायलासिस सेवा लिन पालो कुरिरहेका छन्। अहिले केन्द्रमा ४ सयले हेमो डायलासिस सेवा लिइरहेका छन भने सिएपिडी सेवा लिने १ सय जना छन्। जसमध्ये हेमो डायलासिस सेवा लिनेहरु अस्पताल भर्ना हुनै पर्ने अवस्था छ भने सिएपिडी लिने लाई अस्पताल भर्ना हुनुपर्ने अवस्था एकदमै न्युन छ। सीएपीडी फ्ल्यूड अर्थात डायलासिसका लागि प्रयोग हुने पानीका विभिन्न प्रकार छन्। बिरामीको अबस्था र आबश्यकता अनुसार यसको प्रयोग गरेर बिरामीले सहज जीवन यापन गर्न सक्छन्।

रोग पहिचान गर्ने कसरी ? 
मिर्गौला रोग पहिचान गर्नका लागि बर्षमा एक पटक पिसाबको सामान्य जाँच गर्ने र त्यसमा केही समस्या देखिएमा भिडियो एक्स–रे गर्नुपर्छ। दीर्घरोगीमध्ये मधुमेह भएकालाई यो रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ। ५० प्रतिशतलाई यो सम्भावना छ। मधुमेह भएका र उच्च रक्तचाप भएकाले बर्षमा २ पटक रगतमा क्रेटिनिन र सामान्य पिसाब जाँच गर्नुपर्छ। साथै बर्षमा एकपटक भिडियो जाँच गर्र्नुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ