arrow

मंगलापुरमा जेष्ठ नागरिक मिलन केन्द्र शिलन्यास

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ चैत ४ सोमबार
P._jasta_nagarika_.jpg

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरमा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण हुने भएको छ । केन्द्रको सोमबार आयोजित एक समारोहबीच तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले शिलन्यास गरे।

बुटवल–बेलहिया सिक्सलेन सडकसँग जोडिएको झण्डै १४ कठ्ठा क्षेत्रफलमा जेष्ठ नागरिक मिलन केन्द्रसँगै आकर्षक बाल उद्यान समेत निर्माण गरिने वडाध्यक्ष नारायण न्यौपानेले जानकारी दिए। केन्द्रसँगै सोमबार अपाङ्गतामैत्री अत्याधुनिक सार्वजनिक शौचालयको पनि शिलन्यास गरिएको छ ।

झण्डै एक करोडको लागतमा जेष्ठ नागरिक मिलन केन्द्रको भवनलगायतका पूर्वाधार निर्माण हुने वडाध्यक्ष न्यौपानेले जानकारी दिए्। एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको केन्द्रमा जेष्ठ नागरिकमैत्री खेलकुद, पुस्तकालय, संगीतालय, पार्क निर्माण गरिनेछ । निर्माण हुन थालेको केन्द्र नजिकैं ऐतिहासिक रामजानकी मन्दिर छ ।

तीव्र सहरीकरणसँगै युवापुस्ता कामकाजी भैरहँदा जेष्ठ नागरिकलाई आनन्ददायी तरिकाले समय बिताउन सहयोग पुर्याउने उद्देश्यले जेष्ठ नागरिक मिलन केन्द्रको अवधारणा ल्याइएको हो । केन्द्रको शिलन्यास गर्दै नगर प्रमुख घिमिरेले जेष्ठ नागरिक मिलन केन्द्रलाई नमूना बनाइने बताए । जेष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि मिलन केन्द्र उपयोगी हुने उनको भनाइ छ ।

जेष्ठ नागरिकलाई आनन्दमय तरिकाले चिन्तन÷मनन गर्न सक्ने गरी केन्द्रमा संरचनाहरु निर्माण गरिने जानकारी उनले दिए। कार्यक्रममा समाजसेवी तथा पुर्वसांसद बाबुराम राना, वडाअध्यक्ष नारायण न्यौपाने, सम्झना परिवार क्लवका अध्यक्ष खेमेन्द्र रानालगायतले जेष्ठ नागरिक केन्द्र निर्माण र स्थानीयको भूमिकाको सन्दर्भमा प्रकाश पारेका थिए ।

मंगलापुरमा तिलोत्तमा नगरभित्रको दोस्रो जेष्ठ नागरिक मिलन केन्द्र निर्माण हुन थालेको हो । वडा नं. ४ डिङ्गरनगरमा पनि जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा रहेको छ । नेपालमा ज्येष्ठ नागरिकहरूका लागि विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक संविधानले प्रत्याभूत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ