arrow

प्राविधिकले लगाएको ताला तोडेर पुनः निर्माण कार्यालय सञ्चालन

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
tala.jpg

गोरखा । गोरखामा पुनःनिर्माणमा खटिएका प्राविधिकले जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयमा लगाइएको ताला फुटाएर कार्यालय सञ्चालन गरिएको छ । विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकले सोमबार कार्यालयमा तालाबन्दी गरेका थिए ।

गत दुई हप्तादेखि विभिन्न दबाबमूलक कार्यक्रमसहित आएका प्राविधिकले सरकारले माग सम्बोधन नगरेको भन्दै जिल्लामा पुनःनिर्माणको काममा अवरोध गर्दै आएका थिए । प्राविधिकले लगाएको ताला तोडी कार्यालय नियमित काम गर्ने वातावरण बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकले यसअघि दिँदै आएको सेवा सुविधा कटौती भएपछि पुनःउपलब्ध गराउनु पर्ने चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । आफ्ना माग सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिक हकहित संरक्षण समितिका जिल्ला संयोजक बलराम घिमिरेले बताए।

प्राविधिले भौगोलिक, प्रोत्साहन, यातायात महँगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनु पर्ने माग गरेका छन् । त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना बीमा, क्षमता अभिवृद्धि तालीमको पनि व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । प्राविधिकको आन्दोलनका कारण भूकम्प पीडितको किस्ता सिफारिस, घर नापजाँचलगायका काम रोकिएको छ । जसका कारण भूकम्प पीडितलाई अनुदान रकम प्राप्त गर्न ढिलाइ भएको छ ।

लाभग्राही भूकम्प पीडितले घर बनाउँदा प्राविधिक नापजाँचका लागि नआएपछि समस्या भएको बताएका छन् । यता प्राविधिकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण यही १५ गतेदेखि अन्तिम पटक गर्न लागेको पुनःसर्वेक्षणको काममा समेत आफूहरु नजाने बताएका छन् । उनीहरुले जिल्ला तथा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, जिल्ला समन्वय समिति तथा गोरखा जिल्लाभित्रका ११ वटै स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाएर कामकाज ठप्प पार्दै आएका थिए ।

गोरखा जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत १६ इञ्जिनीयर, ७४ सब इञ्जिनीयर र ७१ असिस्टेन्ट सब इञ्जिनीयर कार्यरत रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ