arrow

सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जान्छ : प्रकाशमान

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
Prakashman-Singh.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन् ।  सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिहरुलाई गाह्रो भएको गुनासो पनि उनले गरे ।

शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिंहले भने, 'केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ । किनभने मन्त्रीले, सचिवले कमिसन माग्दा रहेछन् ।'

उनले विकास निर्माणको काममा सरकारले बाधा पुर्‍याएको आरोप लगाए । सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासको काम गर्न नसकेको उनको भनाइ छ ।

'दुई तिहाई प्राप्त सरकारले के गरेको छ ? निर्वाचनभन्दा अगाडिको अवस्था भन्दा झन् गएगुज्रेको अवस्थामा पुगेको छ,' नेता सिंहले भने, 'आर्थिक रुपमा, सामाजिक रुपमा, हरेक दृष्टिमा यो सरकार असफल भइसकेको छ ।'  

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको तर काम नगरेको भन्दै उनले आक्रोश पोखे । 'काठमाडौंमा मास्कसास्क केही लगाउनु पर्दैन, मैले दुई महिनामै ठीक गर्छु भनेको खै के भयो ?' काठमाडौं क्षेत्र नम्बर १ का सांसदसमेत रहेका नेता सिंहले भने, 'वर्षा हुँदाखेरि हिलैहिलो, घाम लाग्दाखेरि धुलैधुलो । हामी काठमाडौंबाट प्रतिनिधित्व गर्नेहरुलाई मुस्किल हुन्छ मतदाताहरुको चित्त बुझाउन ।'

उनले अब नेपाली कांग्रेसको आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिए । विगतका गल्ती कमजोरीहरु सुधार्दै अगाडि बढ्नुपर्ने उनको जोड छ ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले भने, 'नेपाली कांग्रेसले पहिले आफ्नो घर व्यवस्थित गर्नुपर्यो त्यसपछि आउने च्यालेन्जेजहरुलाई व्यवस्थित तरिकाले टेकअफ गर्न सक्छौं ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ